नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

खिजीदेम्वाको समृद्ध अभियान, बेरोजगार युवाहरुलाई स्वरोजगार तालिम

ओखलढुङ्गान्युज, पौष ३ ओखलढुङ्गा । खिजिदेम्बा गाउँपालिकाले आफ्नो गाउँपालिकालाई समृद्ध बनाउने अभियान थालेको छ । ओखलढुङ्गा जिल्लाको विकट क्षेत्रको रुपमा रहेको खिजिदेम्बा गाउँपालिकाले आफ्नो गाउँपालिकालाई समृद्ध बनाउने अभियान अन्तर्गत क्षमता अभिबृद्धिका तालिम तथा कार्यक्रमहरुको सुरुवात गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट तथा कार्यक्रममा नै बजेट विनियोजन गरेर युवाहरुलाई स्वरोजगार बनाउने तालिम सञ्चालन गरिएको हो । गाउँपालिकालाई समृद्ध बनाउने अभियान अन्तर्गत केही दिन अगाडीवाट ४० जनालाई हलुका सवारी चालक तथा २० जना युवालाई ईलेक्ट्रिसीयन अर्थात हाउस वायरिङ सम्बन्धि तालिम सुरु गरेको गाउँपालिकाका अध्यक्ष बेद बहादुर रोकाले जानकारी दिनुभयो । पालिकामा रहेका बेरोजगार अदक्ष युवा जनशक्तिलाई दक्ष जनशक्ति बनाई उनीहरुको आयआर्जनमा टेवा पु¥याउने उद्धेश्यले तालिम सञ्चालन गरिएको अध्यक्ष रोकाको भनाई छ । 

तालिमका लागि गाउँपालिकाको प्रत्येक वडावाट युवाहरुको रुचिका आधारमा हलुका सवारी चालक तालिमका लागि ४ जना र हाउस वायरिङका लागि २/२ जनाका दरले प्रशिक्षार्थीको छनौट गरिएको थियो । तालिमका महिलाहरुलाई समेत लक्षित गरेको भएपनि यी दुवै तालिममा महिलाहरुको सहभागीता भने नभएको पालिका अध्यक्ष रोकाको भनाई छ । हाल सञ्चालनमा रहेको तालिम एक महिनाको रहेको छ ।