नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

लैंगिक हिंसा विरुद्धको अभियानको पहिलो दिन ओखलढुङ्गामा हस्ताक्षर संकलन

ओखलढुङ्गान्युज, मंशिर १० ओखलढुङ्गा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन ओखलढुङ्गामा हस्ताक्षर कार्यक्रमको आयोजना गरिएको छ । अभियानको पहिलो दिन देशै भर प्रभातफेरी, र्याली, दिप प्रज्वलन तथा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक तथा सांस्कृतिक कार्यक्रम भैरहदा सरोकारवालाहरुको सहभागीतामा ओखलढुङ्गामा भने कार्ययोजना तयार गरि हस्ताक्षर अभियान सञ्चालन गरिएको हो ।

शोमबार सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा भएको छलफलले १६ दिन सम्म के–के कार्यक्रम र कहाँ कहाँ, क–कसको साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने भनि कार्ययोजना समेत निर्माण गरेको छ । निर्माण गरिएको कार्ययोजना अनुसार पहिलो दिन सिद्धिचरण नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको पाँच बुदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको छ । हस्ताक्षर अभियानको सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले सूरुवात गर्नुभएको थियो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको यस वर्षको नारा ‘समानताको पुस्ता ः बलात्कारविरुद्ध ऐक्यबद्धता’ रहेको छ । अभियानको क्रममा सिद्धिचरण नगरपालिका महिला तथा बालबालिका कार्यालयको नेतृत्वमा जिल्लामा कृयाशिल विभिन्न नागरिक समाजका संस्थाहरुको सहकार्यमा १६ दिन सम्म नै विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

अभियानका क्रममा लैंगिक हिंसा न्युनिकरणका लागि महिला सशक्तिकरण अन्तर्गत नगरपालिकामा दुना टपरी बनाउने तालिम तथा अल्लोवाट उत्पादन हुने सामाग्री बनाउने तालिम सञ्चालन हुनेछन् । त्यस्तैगरि विश्व एच.आई.भि.एड्स दिवसको दिन सचेतनामुलक कार्यक्रम गर्नुका साथै अभियानको अबधिमा विद्यालयहरुमा अनुशिक्षण कार्यक्रम समेत सञ्चालन गरिनेछ ।

त्यस्तै यस अभियानको अबधिमा लैङ्गिकमैत्री नगर बनाउन कार्यपालिका सदस्यहरुलाई लैङ्गिक सुचक तयारी सम्बन्धी तालिम दिने, किशोरकिशोरीहरुबाट सन्देश मूलक सडक नाटक, बालविवाह विरुद्धको अभियान, विद्यालयमा कानुनी शिक्षा जस्ता विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने नगपालिकाको महिला तथा बालबालिका शाखाका शाखा अधिकृत सरिता तामाङले जानकारी दिनुभयो ।