नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गाको देम्बा डाँडामा सुविधा सम्पन्न रिसोर्ट, आउने हैन त देम्बा ?

ओखढुङ्गान्युज, कार्तिक १ ओखलढुङ्गा । ओखलढुङ्गाको उच्च पर्यटकिय स्थल देम्बाडाँडामा रिसोर्ट सञ्चालन हुने भएको छ । खिजिदेम्बा गाउँपालिकाको अधिकांश वडाको जोर्तीमा रहेको यो डाडाँ समुद्री सतहवाट ३ हजार ३ सय ५० मिटरको उचाईमा पर्दछ । नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गरेर देम्बामा रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको हो ।

नेपाल सरकारले केही समय अगाडी घोषणा गरेको देशको १ सय उत्कृष्ट गन्तब्यमा ओखलढुङ्गाको लिखु गाउँपालिकामा रहेको पोकली झरना सगै खिजीदेम्बा गाउँपालिकामा रहेको यो देम्बा डाडाँ पनि रहेको छ । पोकली झरना स्थलमा अधिकांश भौतिक पूर्वाधारको काम भएको भएपनि देम्बा डाडाँमा भने भर्खर मात्रै सुरुवात भएको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेद बहादुर रोकाले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षमा संघ सरकारले उपलब्ध गराएको बजेटले पालीकाको वडा नं. ५ तर्फवाट डाडाँमा जान खुड्कीलो निर्माण गरिएको छ । यस आर्थिक वर्षमा पनि देम्बाको पूर्वाधार विकासका लागि डिपिआर (Detail Project Report) निर्माणका लागि बजेट आएको गाउँपालिका अध्यक्ष रोकाले जानकारी दिनुभयो । डिपिआरका लागि बजेट विनियोजन भएको भएपनि हाल सम्म गाउँपालिकालाई बजेट खर्चको अख्तियारी नआएकोले काम सुरुवात हुन नसकेको अध्यक्ष रोकाको भनाई छ ।

अहिले देम्बाको विकासका लागि डाँडामा टावर निर्माण गर्न र पानी पुर्याउनका लागी काम भैरहेको छ । यस आर्थिक वर्षमा संघवाट प्राप्त भएको बजेट र गाउँपालिकाको बजेटलाई समेत प्रयोग गरि देम्बामा आउने पर्यटकहरुलाई सजिलै डाडाँसम्म पुग्न सजिलो होस भनेर वडा नं. ८ तथा ९ तर्फवाट समेत खुड्कीला बनाउने योजना रहेको पालिका अध्यक्ष रोकाको भनाई छ । पालिकाको आफ्नै पहलमा डाडाँमा खानेपानी पुर्याउनका लागि पाईपहरु समेत खरिद गरेर पुर्याई सकेको तर १ हजार ५ सय मिटर तलवाट माथि पानी तान्नु पर्ने र विजुलीको थ्रिफेज लाईन नहुदा तत्काल पानी भने पुर्याउन नसकिएको उहाँको भनाई छ । जिल्ला कै अग्लो डाडाँमा रिसोर्ट सञ्चालन हुन लागेको र यो सञ्चालन आए सगै यहाँ पर्यटकको आगमनमा बृद्धि हुनका साथै यसले पालिकाको आम्दानीमा समेत प्रत्यक्ष असर पार्ने हुदा देम्बामा टावर निर्माण र खानेपानी पुर्याउने कामलाई तिब्रता दिने पालिका प्रमुख रोकाले बताउनुभयो ।

दुर्गम क्षेत्रमा लाखौ लगानी गरी पर्यटकलाई सेवा सुबिधाको लागि दावा एग्रो कम्पनी द्वारा संचालन गर्न लागेको रिसोर्टको उद्घाटन आगामी कार्तिक ९ गते गर्ने तयारी गरिएको छ । रिसोर्ट सञ्चालन गर्ने कम्पनीका प्रवन्धक आङदावा शेर्पा रहेका छन् ।  रिसोर्टका लागि देम्बामा दुईवटा घरमा सुबिधा सम्पन्न २० कोठा रहनेछन् । सुबिधा सम्पन्न रिसोर्ट संचालन भए पछि देम्वा पुगेका पर्यटकहरुले बस्न कै लागि हत्तारिएर हिड्नुपर्ने छैन । रिसोर्टमा नै रहेर विहान र बेलुकीको समयमा डाडाँबाट देखिने मनोरम दृष्यको भरपुर आनन्द लिन सक्नेछन् ।

सरकारले निर्धारण गरेका सय गन्तब्यमा परेको ओखलढुङ्गाको दुईओटा स्थान मध्ये यस देम्वाडाँडामा पर्यटन प्रवर्द्धनका लागि हाल स्थानीय अग्रसर भएर लागि परेका  छन् । लिखुको पोकलीवाट पोकलीको चुलि, खिजिदेम्बा गाउँपालिकाको फलाटे बजार, देम्वा हुदै सोलुखुम्बु जिल्लाको पिके हिमाल सम्मको पदमार्ग निर्माणका लागि अहिले स्थानीयवासीहरु उत्साहित हुदै लागि परेका छन् । आ–आफ्नो क्षेत्रमा रहेको पर्यटकिय स्थलको पूर्वाधार विकास सगै प्रचारप्रसार गरिएमा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० तथा गाउँपालिकाको आम्दानीको श्रोतलाई बलियो बनाउन थप सहयोग पुग्नेछ ।