नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गाका स्थानीय सडक सहित सिद्धिचरण र मध्यपहाडी लोकमार्ग अवरुद्ध

ओखलढुङ्गान्युज, असोज १ ओखलढुङ्गा । अविरल वर्षातका कारण ओखलढुङ्गाका अधिकांश स्थानीय सडकहरु अबरुद्ध भएका छन् । बर्षातका कारण अव्यबस्थित रुपमा खनिएको जिल्लाको अधिकांश सडकहरुमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । बाटो अबरुद्ध हुदा जिल्लाका विभिन्न स्थानवाट सदरमुकाम सम्म आउनजान तथा ओखलढुङ्गा देखी काठमाण्डौ जान र आउन समस्या भएको छ ।

बाटो अबरुद्ध हुदा लामो तथा छोटो दुरीका यात्रागर्ने यात्रुहरुको बाटामा नै बिचल्ली भएको छ । जिल्ला सदरमुकाम देखी मोलुङको रामपुर, प्राप्चा, सुनकोशीको च्यानम, मूलखर्क, चम्पादेवीको फेदिगुठ, घोराखोरी तथा चिशंखुगढी गाउँपालिकाको भदौरे, रबुवा तथा खानिभञ्ज्याङ्ग तर्फका प्राय सडकहरु अबरुद्ध बनेका छन् । भल तथा पहिरोको कारण सडकहरु अबरुद्ध हुदा पनि सवारी चालकहरुले जोखिमपूर्ण यात्रा गराई रहेका छन् । 

सिद्धिचरण र मध्यपहाडी लोकमार्ग सगै अरनिको राजमार्गको ओखलढुङ्गा तर्फको सडक समेत अबरुद्ध भएको छ । तीन दिन देखिको लगातारको वर्षाका कारण विभिन्न ठाँउमा गएको पहिरोका कारण ओखलढुङ्गा तर्फ प्रबेश गर्ने र ओखलढुङ्गावाट बाहिरी जिल्ला जाने सडक अवरुद्ध भएका हुन् । धेरै ठाउँहरुमा सडक भत्किएको र बुधबार बिहानै देखि खोलाहरुमा बाढी आएकाले सवारी आवगमन ठप्प भएको हो ।

ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ्गबाट काठमाण्डौका लागि छुटेका र काठमाण्डौ बाट माथिल्लो सगरमाथामा पर्ने यी तीन जिल्लावाट काठमाण्डौ जादै गरेका तथा काठमाण्डौवाट यी जिल्ला तर्फ आउँदैगरेका सवारी बिच बाटोमा अलपत्र परेका छन् । यात्रामा रहेका यात्रुहरुले पनि सामाजिक सञ्जालहरु मार्फत तत्काल केही दिनका लागि ईमजेन्सी बाहेक सडकको अबस्था अत्यन्तै नाजुक रहेकोले यात्रा नगर्न सचेत गराएका छन् ।  त्यस्तैगरि काठमाण्डौवाट ओखलढुङ्गाका रानिवन, फुलवारी, फेदिगुठ, यसम , गाम्नाङ्गटार, रगनी तर्फ आउदै गरेको तथा ओखलढुङ्गावाट काठमाण्डौं जादै गरेको अरनिको यातायातको गाडी बाटैमा अलपत्र परेको छ भने यात्रुहरुलाई सास्ती भएको छ ।

मानेभञ्ज्याङ्ग गाउँपालिका–६ ओखलढुङ्गाको भडारे खोला, उदयपुरको बादुरा खोला र सिन्धुलीको सोखु खोलामा आएको बाढीका कारण सवारी आवागमन अवरुद्ध छन् । उदयपुरको घुर्मी बजारवाट ओखलढुङ्गा तर्फ आउने सडक भासिएपछि सवारी आवतजावत हुन सकेको छैन । सिद्धिचरण लोकमार्गको घुर्मी–कटारी र मध्यपहाडी मार्गको घुर्मी–खुर्कोट सडकमा सवारी ठप्प छन् । सडक अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका छन् । मध्यपहाडी लोकमार्ग तथा सिद्धिचरण लोकमार्गको अबरोध हटाउने प्रयास भैरहेको सडक ठिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाले जनाएको छ ।