नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

चम्पादेवीका वडा अध्यक्ष लुइटेल पक्राउ

ओखलढुङ्गान्युज, भदौ २४ ओखलढुङ्गा । एक वडा अध्यक्षलाई प्रहरीले पक्राऊ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चम्पादेवी गाउँ पालिका वडा नं ८ का वडा अध्यक्ष अजय लुइटेल रहेका छन् । वडा अध्यक्ष लुइटेलले चम्पादेवी गाउँ पालिका कै छिमेकी एक वडा अध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राऊ गरेको हो ।

लुइटेलले चम्पादेवी गाउँपालिकाको कार्यालयमा सोही गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुरेश थापालाई २०७६ असार ३० गते कुटपिट गरेकाे आरोप लागेको छ । थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर आएका लुइटेलले निहुँ खोज्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा गत साउन १ गते उजुरी दिएका थिए ।

वडा अध्यक्ष थापाको उजुरीपछि वडा अध्यक्ष लुइटेल गाउँमा थिएनन् । प्रहरीले पटक पटक प्रयास गर्दा पनि सम्पर्कमा नरहेको भनिएका लुईटेललाई आइबार साँझ भने ओखलढुङ्गा जिल्ला सदरमुकामबाटै प्रहरीले पक्राउ गरेको हो । पटक–पटक छलफलका लागि आउन ताकेता गरे पनि अटेर गरेपछि पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरिक्षक (डीएसपी) पुष्पराज मल्लले जानकारी दिनुभयो । लुइटेल विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ ।

आफुलाई पटक–पटक धम्की आएको र पछिल्लो पटक २०७६ असार ३० गते आफुमाथि कार्यालयमै आक्रमण भएपछि बाध्य भएर सहकर्मी विरुद्ध उजुरी गरेको पीडित थापाले बताए । तर कुटपिटको आरोप लागेका वडा अध्यक्ष लुइटेलले भने सहकर्मी वडा अध्यक्ष थापालाई आफुले नकुटेको बताउँदै आएका थिए । स्थाानीयले भने अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेर्कड प्रहरीमा बुझाएका थिए ।

लुइटेल कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् । भने नेकपाबाट निर्वाचित वडा अध्यक्ष थापा नेकपाका जिल्ला सदस्य पनि हुन् । गाउँपालिकाका स्थानीयले पनि जनप्रतिनिधि वडा अध्यक्षद्वय थापा र लुइटेल बिच भएको विवादले विकास प्रभावित भएको भन्दै आपत्ति जनाएका छन् । चम्पादेवी गाउँ पालिका वडा नं ९ विलन्दुमा शनिबार भएको सार्वजनिक सुनुवाईका क्रममा पनि अधिकांश सहभागीले जनप्रतिनिधि बिचको विवादले आफुहरुको शिर झुकेको भन्दै खबरदारी गरेका छन् ।