नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

बलात्कार प्रयासको आरोपमा वडा सचिव बिरुद्ध मुद्दा दर्ता

ओखलढुङ्गान्युज, भदौ ८ ओखलढुङ्गा । ओखलढुङ्गामा एकजना वडा सचिव विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ७ का वडा सचिव वर्ष ४५ का जितबहादुर कटवाल विरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । सचिव कटुवाल सुनकोशी गाउँपालिकाका स्थानीय बासिन्दा हुन् ।

गत भदौ १ गते स्थानीय २१ बर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको उजुरी जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा परेको थियो । उजुरीका आधारमा वडा सचिव कटवाल विरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

पिडितको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएपछि आरोपित कटवाल फरार रहेका छन् । फरार कटवालको बिरुद्धमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आरोपित वडा सचिव कटवाल फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

ओखलढुङ्गामा पछिल्ला दिनमा बलात्कार तथा बलात्कार प्रयासका घटनामा बृद्धि भएको छ । पछिल्ला दुई महिनामा मात्रै ओखलढुङ्गामा यस्ता चार घटनामा मुद्दा दर्ता भएको छ ।