नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

नेपाल टेलिकमको नाफा घट्यो

ओखलढुङ्गान्युज, भदौ ८ काठमाण्डौं । नेपाल सरकारको स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा टेलिकमको नाफा अस्वाभाविक रूपमा घटेको हो । नेपाल टेलिकमले गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै २०७५/०७६ को वित्तीय विवरणअनुसार टेलिकमको नाफा २०७४/०७५ को तुलनामा ७ अर्ब २७ करोड २७ लाख रुपैयाँले घटेको जानकारी गराएको हो ।

सर्वाधिक बजार पुँजीकरण भएको र सरकारी स्वामित्वको ९२ प्रतिशत सेयर रहेको यो कम्पनीको नाफा अगाडकिा वर्षहरुमा भन्दा पछिल्ला केही वर्षदेखि निरन्तर घटिरहेको छ । टेलिकमले आर्थिक वर्ष २०७५/०७६ मा वार्षिक रूपमा कमाएको नाफा १० अर्ब देखिए पनि अघिल्लो वर्षको तुलनामा यसको नाफा ४१ दशमलव ६१ प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ ।

टेलिकमले २०७५/०७६ को एक वर्षको अबधिमा १० अर्ब २० करोड ८१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यस्तो नाफा २०७४/०७५ मा १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ रहेको टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ भने सञ्चित कोषमा ८६ अर्ब ७३ करोड १७ लाख रुपैयाँ राखिएको छ । टेलिकमले एक वर्षमा सेवा बिक्रीबाट ३६ अर्ब ७८ करोड ४८ लाख रुपैयाँ कमाएको जनाएको छ । यस्तो कमाई टेलिकमको अघिल्लो वर्षको तुलनामा २ अर्ब २४ करोड रुपैयाँले घटेको छ ।

अघिल्लो वर्ष टेलिकमको यस्तो आम्दानी ३९ अर्ब दुई करोड ३२ लाख थियो । टेलिकमले उपभोक्ताबाट सेवा प्रयोग गरेबापत लिएको शुल्कबाट मात्रै पछिल्लो तीन महिनामा नौ अर्ब २७ करोड ८७ लाख रुपैयाँ र अन्य स्रोतबाट भएको एक अर्ब ७२ करोड ७४ लाख गरी कुल आम्दानी ११ अर्ब ६२ लाख रुपैयाँ छ । टेलिकमका अनुसार एडीएसएलबाट ४८ करोड र पीएसटीएनबाट मात्रै ३५ करोड रुपैयाँले नाफा घटेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले साउनमा सार्वजनिक गरेको २०७६ जेठ महिना सम्मको तथ्यांकअनुसार टेलिकम प्रयोगकर्ता दुई करोड २४ लाख ६४ हजार ४ सय ६५ रहेका छन् । यसमा सबैभन्दा बढी हिस्सा मोबाइल प्रयोगकर्ताको छ । टेलिकमका मोबाइल प्रयोगकर्ता जीएसमएम (पोस्टपेड/प्रिपेड) र सीडीएमए मात्रै दुई करोड १६ लाख छन् ।  यसमा दुई करोड १० हजार पोस्टपेड तथा प्रिपेड र १६ लाख ५५ हजार सीडीएमएका प्रयोगकर्ता रहेका छन् ।

त्यस्तै पछिल्लो समय टेलिकमको इन्टरनेट तथा मोबाइल डाटासहितको ब्रोडब्यान्ड सुविधा लिनेको संख्या ९१ लाख ५६ हजार पुगेको छ । यसमा सबैभन्दा बढी इन्टरनेटको प्रयोग मोबाइल डाटाबाटै हुन्छ । टेलिकमको मोबाइलबाट डाटा प्रयोग गर्नेमा थ्रीजीका ग्राहक ७० लाख ९२ हजार, फोरजीको सात लाख ८१ हजार र ईभिडिओका एक लाख ३६ हजार प्रयोगकर्ता रहेको पनि टेलिकमले जनाएको छ । टेलिकमको सेवा प्रयोग गरेर तारसहितको इन्टरनेटको एडीएसएल प्रयोगकर्ता १० लाख ३७ हजार, केबल तथा एफटीटीएच १८ हजार र ताररहित सेवाअन्तर्गत वाइम्याक्सको प्रयोगकर्ता ८८ हजार रहेको टेलिकमको तथ्यांकमा उल्लेख छ ।