नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

एभिसी सेन्ट्रल जोनको उपाधी किर्गिस्तानलाई

ओखलढुङ्गान्युज, भदौ ८ काठमाण्डौं । एभिसी सेन्ट्रल जोनको उपाधी किर्गिस्तानले हात पारेको छ । करीब एक हप्तादेखी काठमाडौंमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोनको उपाधि किर्गिस्तानले हात पारेको हो ।

शनिबार भएको फाइनल प्रतिष्पर्धामा उज्वेकिस्तानलाई प्रतिष्पर्धात्मक खेलमा ३–० को सोझो सेटमा हराउदै किर्गिस्तानले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो । लगनखेलमा रहेको नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा फाईनल खेल सम्पन्न भएको थियो । फाइनलमा किर्गीस्तानलाई उज्वेकिस्तानले सुरुवाती दुई सेटमा कडा चुनौती दिए पनि जित निकाल्न नसक्दा खेल सोझो सेटमा नै उपाधी गुमाउन उज्वेकिस्तान बाध्य भयो ।

किर्गिस्तानले २६–२४, २७–२५ र २५–१९ को कडा प्रतिष्पर्धात्मक सेटमा नतिजा निकाल्न सफल भयो । जारी च्याम्पियनसिपमा दुवै टोली आफ्नो सबै खेलमा अपराजित रहँदै फाइनल पुगेका थिए । सेमिफाइनलमा किर्गिस्तानले तुर्कमिनिस्तानलाई पराजित गरेको थियो भने उज्वेकिस्तानले माल्दिभ्सलाई पराजित गरेको थियो । पहिलो पटक नेपालमा आयोजना गरिएको यस प्रतियोगितामा ७ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा तुर्कमेनिस्तानले तेस्रो स्थान हासिल गरेको छ भन नेपालले पाँचौं स्थानमा नै चित्त बुझाउन बाध्य भएको छ ।