नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

१५ जना छात्रालाई खिजिदेम्बाले दियो बुहारी छात्रबृत्ति

विएन श्रेष्ठ, साउन ३२ ओखलढुङ्गा । खिजिदेम्बा गाउँपालिकाले आफ्नो गाउँपालिका १५ जना छात्रालाई बुहारी छात्रबृत्ती प्रदान गरेको छ । पालिका क्षेत्र भित्र रहेका सामुदायीक विद्यालयमा अध्ययन गर्ने बुहारी छात्राहरुलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले बुहारी छात्रबृत्ति उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।

पहाडी मुलमा अझैपनि पुरातनवादी सोचका कारण बुहारी भएपछि उच्च शिक्षा अध्ययन गर्ने हुदैन भन्ने चलन रहेको र त्यसलाई निरुत्साहित गरी बुहारीहरुले पनि उच्च शिक्षा अध्ययन गर्न हुन्छ भन्ने चेतनाको विकासका लागि बुहारी छात्रबृत्ति प्रदान गरिएको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेद बहादुर रोकाले जानकारी दिनुभयो । कक्षा ११ र १२ मा अध्ययन गर्दै गरेका बुहारी छात्राहरुलाई प्रोत्साहन स्वरुप मासिक रु ५ सयका दरले एकमुष्ठ प्रतिव्यक्ति रु ६ हजार का दरले छात्रबृत्ति प्रदान गरिएको पनि गाउँपालिका प्रमुख रोकाले बताउनुभयो ।

बुहारी छात्रबृत्ति पाउने छात्राहरु सबैभन्दा बढि चण्डेश्वरी माद्यमिक विद्यालय रगनीका छात्राहरु रहेका छन् । चण्डेश्वरी माविमा अध्ययन गर्ने ८ जना बुहारी छात्राले छात्रबृत्ति पाएका हुन । त्यस्तै हिमगंगा माद्यमिक विद्यालयका ५ जना र फुलमति माद्यमिक विद्यालय खिजिफलाटेका २ जना बुहारी छात्राहरु रहेका छन् । गत विहिवार रक्षाबन्धनको अवसर पारेर गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि छात्रबृत्ति वितरण गरेको हो ।

खिजिदेम्बा गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिएको कार्यक्रम अनुसार नै बुहारी छात्रबृत्ति प्रदान गरिएको खिजिदेम्बा गाउँ शिक्षा समितिका सदस्य कमल प्रसाद न्यौपानेले जानकारी दिनुभयो । विवाह पश्चात पनि उच्च शिक्षा अध्ययन गर्न ईच्छा रहेको तर विविध कारणले अध्ययन गर्न नपाएका बुहारी छात्राहरुलाई लक्षित गरेर छात्रबृत्ति प्रदानको व्यबस्था गरिएको पनि न्यौपानेले बताउनुभयो । गत शैक्षिक सत्रमा पनि गाउँपालिकाले ४ जनालाई बुहारी छात्रबृत्ति प्रदान गरेको थियो ।

एसइइमा उत्कृष्ट नतिजा ल्याउने माविलाई नगद सहित सम्मान

कार्यक्रमको अबसरमा शैक्षिक सत्र २०७५ मा एसइइ परीक्षामा सामेल भई सबैभन्दा बढि विद्यार्थी उत्तिर्ण सफल पार्ने तिन माद्यमिक विद्यालयलाई गाउँपालिकाले नगद र प्रमाणपत्रले सम्मान गरेको छ । एसइइमा उत्कृष्ट भई विद्यार्थी उत्तिर्ण प्रतिशत उच्च बनाई गाउँपालिकाको माद्यमिक विद्यालय मध्येवाट चण्डेश्वरी माद्यमिक विद्यालय रगनीले प्रथम स्थान ओगट्न सफल भएको छ ।

प्रथम स्थान ओगटे सगै गाउँपालिकाले चण्डेश्वरी मावि रगनीलाई नगद रु १ लाख सहित प्रमाणपत्रले सम्मान गरेको छ । त्यस्तै विद्यार्थी उत्तिर्ण प्रतिशत उच्च राख्दै गाउँपालिकाको माद्यमिक विद्यालयहरु मध्ये दोश्रो स्थानमा फुलमती माद्यमिक विद्यालय खिजिफलाटे र तेश्रोमा चण्डेश्वरी माद्यमिक विद्यालय खिजीचण्डेश्वरी पर्न सफल भएको छ । दोश्रो भएको फुलमति माविलाई नगद रु ७५ हजार नगद र तेश्रो हुने चण्डेश्वरी माविलाई नगद रु ५० हजार र प्रमाणपत्र सहित सम्मान गरिएको छ । 

आधारभुत तहमा उत्कृष्ट नतिजा ल्याउनेलाई पनि नगद सहित सम्मान

गाउँपालिकाले कार्यक्रमको अवसर पारेर आधारभूत कक्षाको वार्षिक परीक्षामा सहभागी भई उत्कृट नतिजा ल्याउने विद्यालयलाई समेत नगद र प्रमाणपत्रले सम्मान गरेको छ । आधारभूत तह कक्षाको वार्षिक परीक्षामा उत्कृष्ट भई प्रथम स्थान प्राप्त गर्न सफल नर्मदेश्वर माद्यमिक विद्यालय चप्लेटीलाई नगद रु ६० हजार सहित प्रमाणपत्र प्रदान गर्दै  गाउँपालिकाले सम्मान गरेको छ । त्यस्तै दोश्रो स्थान कुण्डली मावि खिजिकाती र तेश्रो स्थान भने जनज्योती आधारभूत विद्यालय निभारे बन्न सफल भएको छ ।

दोश्रो स्थान प्राप्त गर्ने कुण्डली माविलाई नगद रु ४० हजार र तेश्रो स्थान प्राप्त गर्ने जनज्योती आविलाई नगद रु २० हजार सहित प्रमाणपत्र प्रदान गर्दै गाउँपालिकाले सम्मान गरेको हो । गाउँपालिकाले आधारभूत विद्यालय तहको कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भई उत्कृष्ट १० स्थान प्राप्त गर्ने छात्रा–छात्रलाई नगद पुरस्कार पनि गाउँपालिकाले प्रदान गरेको छ ।

आधारभूत तहको वार्षिक परीक्षामा प्रथम हुने नर्मदेश्वर मावि चप्लेटीका समिर श्रेष्ठलाई नगद रु ६ हजार प्रदान गरिएको छ । त्यस्तै दोश्रो हुने जनज्योती आवि निभारेका पविता सुनुवार र तेश्रो हुने कुण्डली मावि खिजिकातीका लमु तामाङलाई नगद रु ५/५ हजार प्रदान गरिएको छ । त्यसैगरि परीक्षामा चौथो स्थान प्राप्त गर्ने बुद्ध आवि रगनीका प्रिया तामाङलाई नगद रु ४ हजार ५ सय, पाचौं हुने चण्डेश्वरी मावि रगनीका प्रेममाया सुनुवारलाई नगद रु ४ हजार सहित प्रमाणपत्र प्रदान गरेको छ । बाकी पाँचजनालाई भने प्रतिव्यक्ति नगद रु ३ हजार ५ सयका दरले प्रदान गरिएको पनि खिजिदेम्बा गाँउपालिका शिक्षा विकास समितिका सदस्य कमल प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।