नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन, प्रदेश १ मा सार्वजनिक विदा

ओखलढुङ्गान्युज, साउन ३० ओखलढुङ्गा । आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन । हिन्दु परम्परा अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै छ । यो पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरुले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर शुद्ध बनि गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहि आएको छ । गुरु पुरोहितहरुले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यता रहि आएको छ । यहि परम्पराका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न आज बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुर स्थित अशोकविनायक लगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ । त्यस्तै ओखलढुङ्गाको पनि प्रसिद्ध तिर्थस्थलहरु सोलु ओखलढुङ्गाको सिमाना चाङ्गेस्थान, वर्णालुको गणेशकुण्ड नर्मदेश्वरको नर्मदेश्वर महादेव मन्दिर लगायतका मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ ।

नेवारी परम्परा अनुसार आजको दिन क्वाँटी खाने प्रचलन पनि छ । जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता रहि आएको छ ।

रक्षा बन्धनको दिन प्रदेश १ मा सार्वजनिक विदा

रक्षा बन्धनको दिन प्रदेश नं. कार्यालय विराटनगरले आफ्नो प्रदेश क्षेत्र भित्र सार्वजनिक विदा गरेको छ । बुधवार एक सूचना जारी गर्दै २०७६ श्रावण ३० गते विहीवारका दिन रक्षाबन्धन जनैपूर्णिमाको अवसरमा सार्वजनिक विदा हुने जनाएको छ । सूचनामा भनिएको छ न रक्षाबन्धन जनैपूर्णिमाको अवसरमा सार्वजनिक विदा हुने सम्बन्धमा २०७५ चैत्र २७ मा निर्णय भई प्रदेश राजपत्रमा समेत सूचना प्रकाशित भैसकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।