नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

विभेद मुक्त समाज निर्माणका लागि आफैवाट सुरु गर्नुपर्नेमा सरकोकारवालाको जोड

ओखलढुङ्गान्युज, साउन 28 ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा लैङ्गिक विभेद न्युनिकरणका लागि युवाहरुको भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता शोमवार सम्पन्न भएको छ । शिक्षामा रुपान्तरण उद्यमशिलता र नवप्रबर्धन भन्ने मूल नाराका साथ २० औं अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर नगरपालिका स्तरिय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।

बक्तृत्वकला प्रतियोगितामा ९ जना युवाहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागी भएका प्रतियोगीहरु मध्ये टुकदेवी दाहाल प्रथम, पूजा विक द्वितिय, रुपक थापा तृतिय र देवकी थापाले सान्त्वना स्थान प्राप्त गरेका छन् । विजयी प्रतियोगीहरुलाई क्रमश नगद रु ३ हजार, २ हजार, १ हजार ५ सय र १ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा सहभागीहरुले विभेद गर्नु हुन्न भन्ने कुराको ज्ञान समाजमा नभएकोले लैङ्गिक विभेद भएको भन्दै जनचेतना मूलक कार्यक्रम सञ्चालनका लागि जोड दिएका थिए । लैङ्गिक हिंसा तथा विभेद घरवाट नै सुरुवात हुने हुदा त्यसको अन्त्यका लागि सबै नागरिकहरुले आफ्नै घरवाट सुरुवात गरेमा लैङ्गिक हिंसा र विभेद न्युनिकरण हुने बताएका थिए । समाजमा रहेको विभेदलाई अन्त्य गराउनका लागि युवाहरुलाई विभिन्न माध्यमवाट प्रयोग र परिचालन गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले युवाहरुको भोलिको नेतृत्वको विकास र समाजमा रहेको विभेदको अन्त्यका लागि समेत सहभागीतामा बृद्धि होस भन्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । वर्तमान अवस्थामा आजको प्रतियोगिताको शीर्षक नै सान्दर्भिक रहेको प्रमुख श्रेष्ठको भनाई थियो । कार्यक्रमका सबै प्रतियोगी बक्ताहरुको प्रस्तुतीवाट परिवर्तन भनेको आफैवाट सुरुवात भएमात्रै सम्भव छ भन्ने कुराको निष्कर्ष निकालेको अनुभूति भएको भन्दै त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमलाई सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, उच्च सरकारी अदालत विराटनगर, अस्थायी ईजलास ओखलढुङ्गाका निमित्त न्यायधिवक्ता सृजना घिमिरे, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा ओखलढुङ्गाका सभापती सुमन राजभण्डारी लगायतले सम्बोधन गर्दै विभेद न्युनिकरणका लागि युवाहरुको सक्रिय भूमिकाका बारेमा भनाई राख्नुभएको थियो ।  प्रतियोगिता सिद्धिचरण नगरपालिकाको आयोजना तथा सिद्धिचरण नगर वाल सञ्जालको समन्वयमा सम्पन्न भएको हो ।