नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

खुल्यो अवरुद्ध सिद्धिचरण राजमार्ग

ओखलढुङ्गान्युज, साउन २५ ओखलढुङ्गा । करिब एकमहिना अगाडीदेखि अवरुद्ध रहेको ओखलढुङ्गा- उदयपुर जोड्ने सिद्धिचरण राजमार्ग शनिबारदेखि सूचारु भएको छ । असार २५ गते बेलुका देखी परेको अविरल वर्षापछि गएको पहिरोले अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालय लहानले मर्मत कार्य गरि एक महिना मर्मत पछि सूचारु भएको हो ।

गत असार अन्तिम साता परेको अविरल वर्षाका कारण उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. १४ मा पर्ने ठाँटीमा गएको पहिरोले उक्त राजमार्गको कटारी–ओखलढुङ्गा खण्ड अवरुद्ध भएको थियो । अबरुद्ध सडक खण्डको ममत पश्चात शनिबार बिहानदेखि सडक सूचारु भएको सडक डिभिजन कार्यालय लहानका सुपरभाइजर कुमार प्याकुरेलले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुबाट प्रदेश राजधानी विराटनगर आवतजावत् गर्नमा समस्याका साथै उपभोग्य वस्तु ढुवानी रोकिएको थियो । ढुवानी रोकिँदा खाद्यान्न लगायत अन्य उपभोग्य वस्तु अभाव हुनका साथै मुल्य बृद्धि समेत सुरु भएको थियो । बाटो अबरुद्ध हुँदा ओखलढुङ्गामा खाद्य सामग्रीको मुल्य बृद्धि र सामाग्री अभाव हुन थालेपछि जिल्ला दैवीप्रकोप राहत उद्धार समितिको वैठक वसी वर्षातको समय अझै नसकिएको भन्दै पुन वर्षातले थप समस्या सृजना गर्न सक्ने भएकाले खाद्यान्न सामाग्रीलाई स्टक राख्न जिल्लाका व्यावसायीहरुलाई अनुरोध गर्ने समेत निर्णय गरेको थियो ।

सडक सुचारु भएसँगै ढुवानी तथा यात्रुवाहक सवारी पहाडी जिल्ला भित्रन थालेका छन् । यातायातका साधनहरु भित्रन थालेपछि यात्रुहरुलाई आवतजावत साथै उपभोग्य सामग्रीहरुमा सहजता सृजना हुनेछ ।