नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

रामेछापको साघुँटारमा आगलागी, करोडौको क्षति

विवेश श्रेष्ठ, साउन ९, साघुँटार । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. ३, साँघुटार बजारमा बिहीबार बिहान आगलागी हुदा करोडौंको क्षति भएको छ । विहिबार विहान करीब साढे सात बजे तिरवाट लागेको आगोलाई स्थानीयहरु पहलमा करीब साढे ३ घण्टा पश्चात नियन्त्रणमा लिईएको थियो । आगलागीमा ४ घर जलेर नष्ट भएका छन् ।

स्थानीय व्यापारी शिबराम खड्काले दिनुभएको जानकारी अनुसार रामेछाप–ओखलढुङ्गाको सिमानामा रहेको लिखु नदिको पक्की सडक पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट आगो निस्किएको थियो । पसलवाट निस्किएको आगोले सिंहदेवी निर्माण सेवा रहेको राजन सुवेदीको घर, अंकित श्रेष्ठको पक्की घर जलेर नष्ट भएको छ । छेउमा रहेको अनिष थापामगर, हरिमाया थापाको घर, पसल पनि आगलागीमा परि पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै हिरा श्रेष्ठको पसल पनि पूर्ण रुपमा नष्ट भएको छ भने स्थानीय व्यापारी शिवराम खड्काको मोटरसाईकल समेत जलेको छ ।

विहान देखी लागेको आगो स्थानीयको प्रयासमा बिहान ११ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । वजारमा आगलागी भएपछि बजार नजिकै रहेका छिमेकी वडाहरु ओखलढुङ्गाका सिंहदेवी र नर्मदेश्वरका नागरिकहरु समेत बजारमा पुगेका थिए । आगोलागि नियन्त्रण भन्दा बाहिर जान लागेको सूचना पाउनसाथ ईलाका प्रहरी कार्यालय धोवीवाट प्रहरी निरिक्षक मदन थापा र लिखु ४ हाईड्रोपावरको सुरक्षाका लागि खटिएको नेपाली सेनाको जम्दार ललित सिंह धामीको नेतृत्वमा नेपाली सेनाको टोली समेत घटनास्थलमा पुगेको थियो । धोवी र सिरीसेवाट आएको नेपाली सेना र प्रहरीको टोली भने आगलागी नियन्त्रण भईसकेपछि मात्रै आईपुगेका थिए ।

घटनास्थलमा रामेछाप र मन्थलीवाट हिडेको प्रहरी र नेपाली सेनाको टोली भने गएराती परेको वर्षातका कारण बाटो अबरुद्ध भएकोले बिच बाटो बाट नै फर्किएको थियो । घटनास्थल रामेछापको सदरमुकामवाट करीब ४० किलोमिटर पूर्व र धोवीवाट करीब ३० किलोमिटर दक्षिण तर्फ पर्दछ । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । गोदाममा ग्यास तथा पेट्रोल र डिजेलसमेत रहेकोले आगो केही बेरमै फैलिनुका साथै बढि क्षति भएको हो ।

साँघुटार बजार रामेछाप जिल्लाकै पुरानो बजार हो । रामेछापबाट ओखलढुङ्गा प्रवेश गर्ने मुख्य नाकाको रुपमा सो बजार रहेको छ । आगलागीमा परेको साघुँटार बजार ओखलढुङ्गाको गाम्नाङ्गटार, टारकेरावारी, यसम, नर्मदेश्वर, सिंहदेवी, रानीवन, पलापु तथा रामेछापको विजुलीकोट, गोठगाउँ, देउराली, हिमगंगाको मूख्य व्यापारिक केन्द्रको रुपमा रहदै आएको छ ।