नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

विप्लव नेतृत्वका उपत्यका ईञ्चार्ज माईला लामा पक्राउ

ओखलढुङ्गान्युज, साउन ५ ओखलढुङ्गा । ने कपा विप्लब नेतृत्वका नेता माईला लामालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहका कार्यकर्ता रेशम लामाको बुबाको निधन भएपछि परिवारलाई भेट्न काठमाण्डौ पुगेका लामा फर्किएर काँडाघारीमा बसेकै मध्यराति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अनुसन्धान अधिकृतका अनुसार लामा काडाँघारीमा चिनेकै व्यक्तिको घरको माथिल्लो तलामा च्यानल गेट बन्द गरेर बसेका थिए । प्रहरीका अनुसार शनिबार साँझ लामा सार्वजनिक यातायात चढेर काठमाडौं छिरेका थिए । लामालाई मध्यराति पक्राउ गरेर टेकु पुर्याइएको छ ।

पक्राउ परेका लामाको साथबाट प्रहरीले ४ वटा मोबाइल पनि बरामद गरेको छ । जसको विश्लेषणमा अहिले प्रहरी अधिकृतहरु जुटेका छन् । बयानका क्रममा लामाले पार्टीको कामको सिलसिलामा आफू उपत्यकाको विभिन्न क्षेत्रमा बस्ने गरेको बताएका छन् । प्रहरीले उनलाई नख्खुमा भएको बम विष्फोटमा जोडेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गर्ने तयारीका साथ राज्यविरुद्धको कसूर अपराध अन्तर्गत कारबाही चलाउने तयारी थालेको छ ।

तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत रहेका लामाले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् । उनले संगीत दिएका धेरै गीतहरुमध्ये नेत्रविक्रम चन्द (विप्लव)को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित छ ।