नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा रात्रीबस दुर्घटना, ३ को मृत्यु, १७ घाईते

ओखलढुङ्गान्युज, असार २५ ओखलढुङ्गा । ओखलढुङ्गामा बुधवार बिहान बस दुर्घटनामा परेको छ । बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका वडा नं. ६ डढुवामा बुधबार विहान करीब ३ बजे बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि बसका चालक झापा जिल्ला पत्थरी ८ घर भएका कृष्ण बहादुर बस्नेत, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वठा नं. ५ की माया थापा र सिन्धुली जिल्ला कमलामाई नगरपालीकाका लाल बहादुर धामीको घटना स्थलमै मृत्यु भएको जिल्ल प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा परि १७ जना घाईते भएका छन् । घाईतेहरु मध्ये ५ जनाकोे अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउनसाथ घटनाका घाईतेहरुलाई उद्धार गरि गम्भीर अवस्थाका ५ जनालाई एम्बुलेन्स मार्फत काठमाण्डौ पठाईएको छ । दुर्घटनाका अन्य घाईतेहरुको उदयपुरको घुर्मी स्थित आस्था हस्पिटलमा उपचार भईरहेको छ ।

पूर्वबाट यात्रु लिएर सोलुखुम्बुको सल्लेरी तर्फ आउदै गरेको भाग्य रेखा यातयातको रात्री बस सडकबाट करिब २५ मिटर तल झरेको थियो । डडुवाको घुम्तिबाट झरेको बस तल सडकमा पछारिएर अड्कीएको छ । चालक नयाँ भएको वा चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।