नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा प्रहरीको Tea with Community कार्यक्रम

ओखलढुङ्गान्युज, असार १७ ओखलढुङ्गा । ओखलढुङ्गा प्रहरीले समुदायसगै चिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सिद्धिचरण नगरपालिका वडा नं. ५ साविकको वर्णालु गाविसको सिस्नेखोला भन्ने स्थानमा कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको अवसर पारेर सिस्ने खोलामा हिउद–बर्षा, जाडो–गर्मी केही नभनी घरपरिवारको खर्च धान्नका लागि खोलाको किनारामा बसेर गिटि कुट्ने १० जना श्रमीकहरुलाई फलामे रिङ समेत सहयोग गरेको छ । रिङको हस्तान्तरणले उनीहरुलाई गिटी कुट्ने काममा सहयोग पुग्ने अपेक्षा लिईएको छ ।

पिछडा बर्ग, गरिब तथा समाजको कमजोर आर्थिक अवस्थामा रहेका नागरिकहरुले गर्ने कामको सम्मान गर्दै काम गरेर खाने उनीहरुको हातलाई जोगाउने उद्धेश्यका साथ रिङको सहयोग गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले बताउनुभयो । सामान हस्तान्तरण कार्यक्रम जिल्लाका अन्य भागमा नरहेको भएपनि कामगर्ने स्थान र मानिसहरुको संबेदनशीलतालाई हेरेर सामाग्री हस्तान्तरण गरेको पनि उहाँको भनाई छ ।

नेपाल सरकारको कार्यक्रम भएपनि यस्ता कार्यक्रमका लागि भनेर जिल्ला प्रहरी कार्यालयमा कुनै प्रकारका बजेट भने नआएको प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो । आफुहरुको आन्तरिक बजेट कटौती गरेर यस्ता खालका कार्यक्रमको आयोजना गर्ने गरिएको र यो नमुनाको रुपमा सुरुवाती भएको प्रहरी प्रमुख मल्लको भनाई छ । प्रहरीले गरेको यस्तो सानो सहयोग पश्चात जिल्लामा कृयाशिल विभिन्न सामाजिक संस्थाहरुको पनि ध्यान गएमा गिटी कुटेर परिवार चलाउनेहरुलाई राहत पुग्ने प्रहरी प्रमुख मल्लको विश्वास छ ।

सामान हस्तान्तर पश्चात कामगर्ने स्थलमा श्रमीकहरु माथि हुने लैङ्गिक हिंसाको अवस्था के छ भनेर छलफल समेत भएको थियो । छलफलमा श्रमीकहरुले आफुहरुले यहाँ काम गर्न थालेको दुई वर्ष वितिसकेको र हालसम्म त्यस्ता कुनै पनि हिंसाका घटना नभएको बताएका थिए । कुनै हिंसा जन्य वा अन्य कुनै अपाध जन्य घटना भएमा पनि प्रहरीको टोल फ्रि नम्बर १ सयमा खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

गिटि कुट्न पहिले पोलिथिन पाईपको रिङ बनाएर प्रयोग गर्दै गरेकोमा प्रहरीवाट फलामे रिङ पाएकोमा श्रमिकहरुले खुशी व्यक्त गरे । पहिले कुनै सानो गल्ती गर्दा होस वा गल्ती नगरे पनि प्रहरीलाई कसैले कुरा लाईदिएमा प्रहरीले कुट्छ मात्रै भनेर डर लाग्ने गरेको, तर अहिले प्रहरीले आफुले काम गर्ने गरेको ठाउँमा नै आएर सामान दिएकोमा अचम्म लागेको श्रमीक फुर्तेम्बा शेर्पाले बताए । उनी ६० वर्ष पुरा भैसकेका छन् ।

शेर्पाले भने, ‘पुलिस त मान्छे जस्तो हुदैन होला भन्ने लाग्थ्यो । पुलिसले समाते पछि कुट्छ मात्रै भन्ने लाग्थ्यो । तर हैन रहेछ । दिनभरी गिटी कुटेर आएको पैसाले जहान बच्चा पाल्नुपर्छ । कहिलेकाही गिटी कुट्दा हात किचिन्छ पनि । आज त प्रहरीले हात नकिचियोस भनेर रिङ पनि दियो । चिया र विष्कुट पनि यही आएर खुवायो ।’ शेर्पा खुशी हुदै भने, ‘पुलिसले त पहिलाको जस्तो कुट्ने रैनछ । काम गरेको ठाममा आएर सामान दिने र चिया खाजा पनि खुवाउदो रैछ ।’

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘समुदायसगै चिया’ कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । पछिल्ला दिनहरुमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले विभिन्न कार्यक्रम मार्फत समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई तिब्रता दिएको छ ।