नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सिद्धिचरण नगरपालिकामा राष्ट्रपति कप रनिङ शिल्ड सुरु

ओखलढुङ्गान्युज, असार ६ ओखलढुङ्गा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा विहिवारवाट राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको प्रदेश सांसद अम्बिरबाबु गुरुङले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटनसत्रमा खेलमा सहभागी खेलाडी विद्यार्थीहरुले प्रमुख अतिथि सांसद गुरुङलाई मार्चपासका साथ सलामी दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गुरुङले जिल्लाको मात्रै नभएर प्रदेश कै खेल क्षेत्रको विकासका लागि प्रदेशको तर्फवाट सक्दो पहल भईरहेको बताउनुभयो । १ नम्बर प्रदेश सरकारले प्रदेशका सबै १४ वटै जिल्लामा खेलकुदको विकासका लागि बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटनलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख जयबहादुर श्रेष्ठले खेल स्वास्थ्यसँग जोडिएको सवाल भएकाले यसमा युवाको उत्साह अझ बढाउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले खेलकुद सहितका अतिरिक्त क्रियाकलापमा बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

त्यस्तै कार्यक्रम उद्घाटनसत्रलाई सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले खेल निष्पक्ष, सभ्य र भव्य बनाउन निर्देशन दिनुभयो । विद्यालय उमेर समुहका बालबालिकाको रुचि र आवश्यकतालाई ध्यान दिदै नगरपालिकाले विभिन्न खेलकुलका कार्यक्रमहरु सञ्चालन गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिता ३ दिन अर्थात शनिवार सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नगरपालिकाका १४ विद्यालयका विद्यार्थीहरु सहभागी रहेका छन् । खेलमा सहभागीता जनाउनका लागि आएको रुम्जाटार माद्यमिक विद्यालयको विद्यार्थी चढेको तिनपांग्रे अटो दुर्घटनामा पर्दा आफ्ना ४ जना खेलाडी गम्भिर घाईते भएपछि उक्त विद्यालयले भने प्रतियोगितामा सहभागिता नजनाईकन फर्किएको छ ।