नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

छात्रा विद्यार्थीको उपस्थिती बढाउन विद्यालयलाई सेनिटरी प्याड

ओखलढुङ्गान्युज, असार ६ मूलखर्क । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका मूलखर्क स्थित चौतारा माध्यमिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरिएको छ । सुनकोशी गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले चौतारा माविका छात्रालाई १ हजार थान प्याड वितरण गरेका हुन् । महिनावारी भएको समयमा छात्राहरु विद्यालय नआउने समस्यालाई मध्य नजर गर्दै सेनेटरी प्याड वितरण गरिएको हो ।

महिनावारी भएको समयमा विद्यालय नआउने छात्राहरुलाई विद्यालयमा नियमित आउने वातावरण बनाउन प्याड हस्तान्तरण गरेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो । सेनिटरी प्याडले छात्राको स्वास्थ्य अवस्था सुरक्षित र अध्ययनमा सहजता ल्याउने तामाङको भनाई छ । आगामी दिनमा पनि विद्यालयमा सेनिटरी प्याड अभाव हुन नदिने वडा अध्यक्ष तामाङले प्रतिवद्धता जनाउनुभएको छ ।

वडा कार्यालयको तर्फवाट उपलब्ध गराईएको प्याड माथिल्लो कक्षाका छात्रा र शिक्षिकाको व्यवस्थापनमा रहने छ । आवश्यक परेको खण्डमा छात्राहरुले मागेर प्रयोग गर्न सक्ने विद्यालय प्रशासनले जनाएको छ । विद्यालमा नै एक कार्यक्रमको आयोजना गरि महिनावारी भएको समयमा अपनाउनुपर्ने सरसफाई र उपायका बारेमा समेत विद्यार्थीहरुलाई जानकारी गराईएको छ ।

विद्यालयमै प्याडको व्यवस्था भएपछि चौतारा माद्यमिक विद्यालयका विद्यार्थी छात्राहरु खुसी भएका छन् । प्याड नहुने र शौचालय व्यवस्थित नहुँदा झन समस्या हुने भन्दै छात्राहरु रजश्वला हुँदा विद्यालय नगई घरैमा बस्ने गरेका थिए । भूकम्प पश्चातको विद्यालय पुननिर्माणको क्रममा विद्यालयमा छात्रा मैत्री शौचालय समेत निर्माण गरिएको छ ।