नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

ओखलढुङ्गाको सिद्धिचरण ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका’ घोषणा

ओखलढुङ्गान्युज, असार ४ ओखलढुङ्गा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । सिद्धिचरण नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका विच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले नजिकैको स्वास्थ्य सस्थाको सेवा सदुपयोग गर्दै सम्बन्धित स्वास्थ्यचौकी वाट नै गुणस्तरीय सेवा प्रदान गर्न सक्षम बनाउने काममा लागि पर्ने बताउनुभएको छ ।

गाउँमा रहेको स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय र पर्याप्त सेवा पाउन नसक्दा नागरिकहरु अस्पतालमा जान बाध्य भैरहेको समेत प्रमुख श्रेष्ठले बताउनुभयो । अस्पतालको जस्तै सेवा सुबिधा नभएपनि बर्थिङ सेन्टरमा नै सेवा सुबिधा उपलब्ध गराउने प्रयासको थालनीका लागि योजना निर्माण गर्न पनि नगरपालिकाको स्वास्थ्य शाखालाई निर्देशन दिनुभएको छ ।

बच्चा कहाँ कसरी जन्मियो भन्दा पनि जन्मिए पश्चात उसको स्वस्थ्य शरिर बनाउदै वाच्न पाउने अधिकारको सुनिश्चितता गर्दै स्वस्थ्य ब्यक्ति भयो भने मात्रै पछि पनि स्वस्थ्य समाज निर्माण हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । गाउँमा वर्थिङ सेन्टर भएपनि त्यहाँबाट प्रभावकारी सेवा प्रवाह हुन नसक्दा गर्भवती, सुत्केरी तथा अन्य रोगका विमारीहरु ठूलो खर्च गरेर अस्पताल धाउन बाध्य भै रहेको बताउनुभयो ।

ईमान्दारी रुपमा काम नगर्ने कर्मचारीलाई आवश्यक नैसियतका लागि पहिले सचेत गराउन वडा अध्यक्षलाई अनुरोध गर्दै यदी त्यसो गर्दा पनि समस्या समाधान नभए नगरपालिकामा सिफारिस गर्न र नगरपालिकाले आवश्यक प्रकृया अघि बढाउने समेत चेतावनी दिनुभयो । घोषणा गर्नु मात्रै ठूलो नभएको भन्दै त्यसलाई सबैले आ–आफ्नो क्षेत्रवाट जिम्मेवारी बोध गर्दै निरन्तरता दिन समेत प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो ।

नगरपालिकाको स्वास्थ्य शाखाले प्रत्येक वडामा खोप लगाउने उमेर समुहका बालबालिकाको तथ्यांक संङ्कलन गरेको थियो । तथ्यांक संकलन गर्दा प्रत्येक वडाका खोप लगाउने उमेर समुहका बालबलिकाले खोप लगाएको पाईएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो ।

डाटा संङ्कलनलाई प्रत्येक वडाले आ—आफ्नो वडामा रहेका  बालवालिका खोप लगाउनवाट नछुटेको प्रमाणित गरेको थिए । सबै वडाको जन्म देखि १५ महिना उमेर समुहका ४ सय ७७ जना बालबालिका रहेको नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांकमा उल्लेख छ । ति बालबालिकाहरुले उमेर अनुसारको नियमित खोप पाईरहेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा कार्यक्रमको आयोजना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख आईत बहादुर राईले जानकारी दिनुभयो ।

त्यस्तै स्वास्थ्य शाखाको तथ्यांक अनुसार सिद्धिचरण नगरपालिका क्षेत्र भित्र १६ देखि २३ महिना उमेर समुहका जम्मा ३ सय ८ जना बालबालिकाहरु रहेका छन् । ती सबै बालबालिकाहरुले १५ महिना उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार पुर्ण खोप पाइसकेको पनि स्वास्थ्य शाखाको रिपोर्टमा उल्लेख छ । घोषणा कार्यक्रममा नगरप्रमुख मोहन कुमार श्रेष्ठ, नगर उपप्रमुख ईच्छा कुमारी गुरुङ, वडा अध्यक्षहरु दान बहादुर वानिया, जिल्ला स्वास्थ्य कार्यालय प्रमुअ मोहन कुमार सुवेदी लगायतले सम्बोधन गर्नुभएको थियो ।