नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

युवती बलात्कार आरोपी श्रेष्ठलाई पुर्पक्षका लागि कारगारमा पठाईयो

ओखलढुङ्गान्युज, जेठ २६ ओखलढुङ्गा । आफ्नै इटाभट्टामा काम गर्ने एक युवतीलाई बलात्कार गरेको आरोप लागेका लिखु गाउँपालिकाका एक जनप्रतिनिधिलाई जेल चलान गरिएको छ । जिल्लाको लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरका वडा सदस्य विष्णु श्रेष्ठलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

जिल्ला अदालत ओखलढुङ्गाको शुक्रवारको आदेशसँगै वडा सदस्य श्रेष्ठलाई कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । वडा सदस्य श्रेष्ठ विरुद्ध परेको मुद्दाको विषयमा आफुहरुले अनुसन्धान सकेर अदालतमा बुझाएको र अदालतले पूर्पक्षका लागि जेल पठाउने आदेश गरेसगै जेल चलान गरिएको प्रहरी निरिक्षक श्रेष्ठको भनाई छ । प्रहरीको सबै अनुसन्धान सकिएको र अदालतको तर्फवाट पनि अध्ययन अनुसन्धान सकिएपछि उनलाई के कति सजाय दिने भन्नेबारे फैसला गर्नेछ ।

वडा सदस्य श्रेष्ठ आफैले नर्मदेश्वरमा सञ्चालन गरेको इटाभट्टामा कामगर्ने एक कामदार युवतीलाई कारखाना मै चैत ७ गते बलात्कार गरेको भन्दै चैत ९ गते उजुरी परेको थियो । पीडित युवती आफैंले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा पुगेर उजुरी दिएकि थिइन् ।

बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ चैत ७ गते देखी नै आफुले प्रयोग गर्ने फोन बन्द गरेर सम्पर्क बिहिन भएका थिए । त्यसको २ महिनापछि प्रहरीले हर्कपुरबाट उनलाई पक्राउ गरेको थियो । एक आफ्ना सहयोगीसग मोटरसाईकलमा ओखलढुङ्गा तर्फ आउदै गर्दा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठ तत्कालीन एक प्राथमिक विद्यालयका प्रधानाध्यापक तथा स्थानीय निर्वाचनमा नेकपाबाट उमेद्वार बनेर निर्वाचित भएका वडा सदस्य हुन् ।