नेपाली समय Loading...२०७६ असार १० मंगलवार

“नेपाली जेल भित्रको डरमर्दो हाउगुजी” : निर्मल घिमिरे

ओखलढुङ्गान्युज, जेठ २०७६ । एकाविहानै झिसमिसेमा अपरिचित नम्वरबाट आएको फोन बेकारमा के उठाउनु भन्ने जस्तो लागेर उठाइएन । १ घण्टाको वीचमा चौथो पटक सम्म फोन तारन्तार बजेकोले रिसिभ गरेँ । “तपाई सामाजिक विकृतिका विरुद्ध कलम चलाउने फलानो पत्रकार होइन ?’’ भन्ने प्रश्न आयो । मैले कारण जान्न चाहेँ । उसले एकपटक भेट्ने इच्छा जाहेर ग¥यो । एक त अपरिचित, अनि फुर्सदपनि नभएकोले मैले उसको प्रस्ताव अस्विकार गरेँ । उसले साह्रै नै जिद्धिअनि अनुनय–विनय गरेकोले मैले भेट्ने प्रस्तावमा सहमत भई टुडिखेलमा भेट्न बोलाएँ । तोकेको समयमा भन्दा म १५ मिनेट अगाडी नै पुगिसकेको हुँदा हो सायद ।

पुगेर उसको नम्वरमा फोन गरेँ । म छेउ आई उसले हुलिया सोधेर आफु १ घण्टा अगाडि नै आएर मलाई पर्खिबसेको भनेर अभिवादन गरी । तपाई सामाजिक विकृति माथि कलम चलाउने मान्छे भएको मैले मेरो साथीबाट सुनेको र केही हाम्रो पनि दुःख सवै सामु पु¥याई यस समस्यालाई अवका दिनमा हटाउन सहयोग गर्न अनुरोध ग¥यो । मैले उसलाई सर्सती नियाले । कालो वर्णको । ख्याउटे अनुहार । त्यो पनि नियाउरो एवं मलिन । मुजैमुजा परेको पाइन्ट । पुरानो खुम्चिएको सर्ट । प्लाष्टिकको कालो चप्पल । जोगीका झै जुँगा दारी । क्रिकेट खेलाडी मालिङ्गको झै लट्ट परेर घुम्रिएको कपाल । नेपाली भाषा बोल्दा केही अड्केर तथा असहज गरी बोल्ने हुँदा लाग्थ्यो उसको मातृभाषा नेपाली थिएन ।

मैले के विषयमा लेख्नुपर्ने हो भनेर सोधे । उसले नेपालमा जेल (कारागार) भित्रको मौलाउदो अराजकता र दण्डहिनताको बारेमा भन्यो । यस्ता विषयमा मैले केहीगर्न नसक्ने बताए । त्यसका लागि गृह मन्त्रालय लगायतका तालुकदार निकायमा सम्पर्क गर्न सुझाव दिए । आफुले यस विषयमा लेख्न नसक्ने बताए र विदा मागे । उसले गहभरी आशु पारेर भन्यो, “तपाईसँग मात्र मेरो पहुँच पुगेको हुनाले ठुलो आशा भरोसाका साथ आएको थिएँ । माथि सम्म त हाम्रो कसरी पहुँच पुग्छ र ?”

यत्ति सुन्नासाथ मेरो मनमा टक्क छोयो । किनकी गृह मन्त्रालय सिहदरबार भित्र छ । जहाँ भित्रबाट फोन नआई गेटबाट भित्र छिर्नै पाइदैन । यि सबै कुरा अचानक मनमा आएको हुनाले मैले उसको कुरा सुन्ने मनसाय बनाएर पहिला उसका बारेमा जान्न चाहे । उसले मेरो भाका बुझी मुसुक्क मुस्कुरायो । हाँस्दा उसका पहेँला दाँतमा साग अडकिएको प्रष्टै देखिदा लाग्थ्यो उसको ब्रस गर्ने बानी थिएन । सर्वप्रथम उसले पहिला परिचय गरौ है भनेर हात अगाडि बढायो । हात मिलाउदा उसको हातका ठेला उप्केर घँघाराका लौरो झै काँडा काँडा बनेको रफ थिए । औलामा घाउका खतहरु स्पष्ट देख्न सकिन्थ्यो । उसले आफनो जिवन कथा कहँदै गयो । मैले टाउको हल्लाउदै गए । बडो अजिवर दुखान्त रहेछ उसको जिवनगाथा । उसको वास्तविक घर मकवानपुर जिल्लाको साविकको राईगाँउ गाविसमा रहेछ ।

दनुवार थरका उनी २०६७ सालमा ट्रक चलाउने क्रममा साहूले थाहा नदिई पराल लोड गरेको ट्रकमा गाँजा लोड गराई जनकपुर लैजाने क्रममा बाटोमा चेक जाँच हुदा उनी पक्राउ परेछन् । विवेक, पहूँच र पैसाको तागतमा उनको साहु ‘पानी माथीको ओभानो’ सावित भई आफ्नो गाडी र आफू छुटाएछन् ।  चालक (उनी) चाही ठूलो मात्रामा लागूपदार्थ ओसार–पासार र बिक्रि वितरण गरेको आरोपमा पक्राउ परेछन् । अदालतबाट आदेश आई उनलाई मुख्य लागु औषध कारोबारको मुद्दामा जेल चलान ।

जेल चलानको अबधिमा उनले मलंगवा (सर्लाही) तानसेन (पाल्पा), झुम्का (सुनसरी) एवं नख्खु (काठमाण्डौ) लगायतका जेलमा १४ वर्ष बिताएका रहेछन् । दिन र रात गरी सात वर्षमा एक दिन मात्र पहिले उनी सम्पूर्ण सजाय भुक्तान गरी छुटेका रहेछन् र छुट्ना साथ साथीको सहयोगमा मेरो सम्पर्कमा आएका रहेछन् । उनका अनुसार उनी पक्राउ परेको ३ महिना भित्र मै दुई जना लालावालालाई घरमै छोडी पोइला गएकी र अहिले कहाँ छिन उनी बेखबर भएको बताउछन् ।

गाँउको घरबारी साहुकोमा बन्धक राखी २ लाख ८५ हजार रुपैया ऋण लिई घरको सुन, नगद लगायतका सम्पत्ति कुम्ल्याएर साना–साना नानीहरुलाई मध्य रातमा एक्लै छोडी पल्लो गाँउको चिनेकै मान्छेसंग पोइला हिडेकी थिई रे । गाँउमा फोन गर्दा उसका बालबालिका हाल ११ वर्ष र ७ वर्षका छोरा छोरी एक जना साहुको घरमा गोठालो बसेको र अर्को चाहि चिया पसलमा गिलास माझ्ने काम गर्दै गरेको थाहा पाएको उसले बतायो ।

श्रीमतीले त्यस्ता दुई र चार वर्षका दुधे बालबालिकालाई बिजोग बनाई छोडेर गएकोमा अत्यन्तै आक्रोशित देखिन्छन । उनलाई दुईजना लालावाला छोराछोरीको धेरै याद आएको र आजै रात्री बसमा गाउँ जाने टिकट लिई सकेको बताए । जानेर वा नजानेर भए पनि अपराधिक कर्ममा सहभागी भएको प्रतिफल आफूले भोगेको र त्यसले आफ्नो मात्र नभई त्यस्तो खुसी र सारा गाउभरी कै उदाहरणिय परिवार भताभूङ्ग भएको र अब आफ्नो उर्जावान समय वर्वाद भएको हुँदा त्यसको पूर्ताल गर्न साहै« गाह«ो पर्ने बताए ।

एक सानो लापरबाहीले जिवनमा धेरै गुमाएको र जिन्दगीको यात्रामा निकै पछाडी परेको हुँदा अब त्यसको सोधभर्ना गर्न धैरे नै हाड छाला घोटाएर मेहनत गर्ने प्रतिबद्धता जनाउदै थिए उनी । मैले मुख्य विषयवस्तु अर्थात कारागारको कुरा गर्न उसको घरायसी प्रसङ्गलाई विषयान्तर गर्दै बताउन आग्रह गरेँ । उसका अनुसार जब उ पक्राउ प¥यो भनसुन र दबाब दिने मान्छे नभएपछि आरोप कै भरमा उ ६ महिना पुर्पक्षका लागि जेल चलान भयो । त्यतिञ्जेल न्यायलयबाट अपराधी किटान नभइसकेको हुनाले आरोपकै भरमा उ ६ महिना भित्रै थुनिएर बस्यो रे । पहुँच र शक्तिका भरमा मुख्य आरोपी अर्थात उसको साहु र सवारी साधन सुन पानीले छर्किएर चोखिएको र उसलाई चाहि मुख्य आरोपी किटान गरियो ।

उसको कथन थियो,  सुरुमा आरोप त अस्विकार नै गरे । तर जबजब पेशीको दिन आँउछ, एक अलगग्गै कोठा, जसलाई प्रहरी प्रशासनको भाषामा के.का.शा. अर्थात “केरकार शाखा”मा लिएर गइन्थ्यो । अनि भने अनुसारको बयान नदिए गोडा–दोएक लौरो भाचिन्थ्यो । के.का.शा.चाहि कैदीहरुको लागि एक “डरलाग्दो हाउँगुजी घर” नै हो । केकाशामा छिरेको मान्छे गर्दै नगरेको गल्ति पनि कबुल गर्ने गर्दछ ।

मैले यसो सम्झिए ओखलढुङ्गा जिल्लाको पलापुको ज्यान मारेको घटना र कञ्चनपुर जिल्लाको हालैका घटना, कानुनले पछि निर्दोष सावित गरिएका व्यक्तिहरुले पनि आफैले गल्ति गरेको भनि अपराध कबुल गरेको घटना । अनि उसलाई पुन अरु भन्न अनुरोध गरेँ । उसले थप भन्दै गयो । कारागार भित्र राम्रो शक्ति सम्बन्ध र आर्थिक चलखेलको भरमा एक जना नाइके र उसले आवश्यकता अनुसार भाइ नाइकेको संरचना खडा हुन्छ । हो कारागार भित्रको मुख्य समस्याको जड भनेको त्यो नाइके भनाउदा नै हो । जेलमा हुँदा एकाध जेल बाहेक अन्यमा चरम मानव अधिकार हनन, अराजकता एवं दण्डहिनताले पाटो नाघिसकेको कुरा उल्लेख गर्दै प्रत्येक नाइकेहरुले त्यहाँका जेलरहरु संग राम्रो सम्बन्ध स्थापित गरी भित्र निजि मेश र पसल सञ्चालन गरेको हुन्छन् ।

सरकारबाट बकस भएको सिदा अर्थात राशनको प्रतिव्यक्तिको प्रतिछाक मूल्य प्रचलित बजार भाउ भन्दा अत्यन्तै कम हुने रहेछ । सिदाको कुरा गर्ने हो भने म्याद गुजे्रर बसेका र सबैभन्दा कमसल खालको अनाज नाइकेले उपलब्ध गुराउने र जहाँ बियाँ र ढुङ्गाको प्रतिशत औंलामा गन्न सकिने कुरा बतायो ।३/४ सय जनालाई थोरै सामानमा पु¥याउनु पर्ने बाध्यतामक अवस्थाले गर्दा बोरा बाटै चामल डेक्चीमा खन्याइने, अक्कल–झुक्कल दालको छोक्रा भेटेमा संयोग मात्र हुने अन्यथा तुर्लङ्ग नुनपानी रुपी दाल खानु पर्ने । कारागारका अधिकांश कैदीले खाने खाना न त केलाइन्छ न त पखालिन्छ, उनी सुनाउथे ।

सिदाको रकम कम भएकोले बजारमा थोरै पैसामा जे पाइन्छ त्यसैको तरकारी साता दश दिन सम्मै निरन्तर खानुपर्ने । चिया खाजामा पनि माथि उल्लेख भएमा ऐजन–ऐजन समस्या रहेको । सुत्ने ठाँउ १८ इन्च चौडाई भएको डसनामा एउटै फराकिलो कोठामा १ सय ८० जना भन्दा बढी । एकको खुट्टा मुनी अरुएक, अनि त्यसको मुनि अर्को । अर्कोको मुनी अर्को गरी चार पाँच लाइन सम्म सुत्नुपर्ने । जम्मा १८ इन्च चौडा डसना । अनि उसले अर्कोलाई छोए मात्रै भने पनि कोर्रा बर्सने परिपाटी । दुर्गन्धित शौचालय । सरसफाईको सामाग्रीहरु नहुनु । धेरै जसो ले भित्र नाइकेहरुले सञ्चालन गरेको प्राइभेट मेसमा खाना खाने । नाइकेहरु त्यस भित्रका राजा झै व्यवहार गर्ने । त्यहाँ उपलब्ध हुने सामाग्रीहरुको मूल्य कारागार प्रशासनको मिलोमतोमा आफैले निर्धारण गर्ने । जुन बजार मूल्य भन्दा न्यूनतम पनि सय प्रतिशत बढी पर्ने हुँदा सर्वसाधारणहरुले त्यहा खरिद गर्न अत्यन्तै गाह्रो हुने गरेको उसले बतायो ।

कैदीका आफन्तले बाहिरबाट ल्याएको कोशेली सर्वप्रथम नाइकेहरुको हातमा पर्ने हुँदा त्यहाँ पुन शुल्क बुझाए पछि मात्र सम्बन्धित कैदीको हातमा पुग्ने । खुरापाति प्रबृत्ति । दाह्री कपाल काट्न त्यहि भित्रका कैदी मध्ये कै एकजना हजामलाई नाइकेले मासिक ४/५ हजार दिने गरी नियुक्ति गर्ने । त्यहाँ उपलब्ध ३/४ सय कैदीहरुको दाह्रि काटेको ३५ र कपाल काटेको ७० रुपैँया पर्ने । त्यो पैसा सबै नाइकेहरुले नै माथि देखि सेटिङ्ग मिलाएर खाने । देखावटीको लागि गुनासो पेटिका स्थापना गरिएता पनि त्यहाँ संकलन भएका राम्रा सुझावको मतलब नहुने । सुधार गर्नुपर्ने कुराहरु राख्यो भने त्यो उल्लेख गर्ने मान्छे पत्ता लगाई उसलाई पुनः केकाशामा लगी गोडा दोयक लौरो नाइकेहरुबाट भाचिन्ने गरेको उसले भोगाई सुनायो ।

देखावटीको लागि प्रत्येक साता जेलरहरु आई “केटाहरु सेवा सुविधा र खानामा केहि असुविधा छ भने भन” भनेर भन्ने गर्थे । त्यहाँ कसैले चित्त नबुझेको बताउन साथ “तपाईसँग थोरै छलफल गर्नु छ त्यसैले एकछिन माथि केकाशामा आउनुत” भनेर साँझ पख ढाड भाच्चिने गरी रामधुलाई गर्थे । कुनैदिन मानव अधिकारकर्मी आउने खबर पाउना साथ नाइकेहरुले अघिल्लो दिन नै सारा कैदीहरुलाई रुलिङ गर्थे । यदि छिसिक्क कसैले नराम्रो कुरा भन्यो भने त्यो मानव अधिकारकर्मी जानासाथ केकाशामा हाजिर हुनुपर्ने ।

सबैलाई रेडिमेट रुपमा तयार हुनुपर्ने । अधिकारकर्मी आएर सोध्ना साथ सबै कैदीहरु डरले “हामीले पाइरहेको सेवा सुविधा प्रति हामी पूर्ण सन्तुष्ट छौँ” भनेर मुटु माथि ढुंङ्गा राखी बताउनु पथ्र्यो । उसले आखाँभरी आशु पार्दै भन्यो । कैदी बन्दीहरुले कारागार भित्र उत्पादन गरेका सामाग्रीहरुको ठेक्का पनि नाइकेहरुले नै लिने । बाँसको एक मुडा बनाएको कैदीहरुले १२५ रुपैँया पाउँदा नाइकेले ३०० रुपैँयामा बजारमा बेच्ने गर्थे ।

कैदी बन्दीहरुले घरपरिवारसँग सम्पर्क गर्न फोन गर्नु प¥यो भने नेपाल टेलिकमले प्रति मिनेट १ रुपैँया ४२ पैसा तोकेकोमा थ्यहाँ प्रति मिनेट ६ रुपैँया शुल्क तिर्नुपर्ने । कारागार भित्र आवश्यक पर्ने टेलिभिजन, खेलका सामाग्रीहरु लगायतका सामानहरु सबै कैदीहरुले आपसमा मिलेर व्यवस्थापन गर्नुपर्ने । कारागार प्रशासनबाट नाइकेहरुले बाहिर गई घुमेर आउन सक्ने नियम । नाइकेहरु प्रहरीसँग अपवित्र साँठगाँठ गरी कैदीहरुलाई जति सक्दो दबाव दिने । जाडो भत्ता लगायतका सरकारद्धारा निर्धारण गरेर विनियोजित बजेट मनोरञ्जन लगायतका नाममा नाइकेहरुले विभिन्न राष्ट्रिय कलाकारहरुलाई कारागार भित्रै बोलाई साँस्कृतिक कार्यक्रम आयोजना गर्ने र त्यहाँ प्रति कैदी न्यूनतम १ हजार खर्च शिर्षकमा असुल्ने गर्थे । पत्रकार र मानव अधिकारकर्मीहरु आउने सुँइको पाउना साथ नाइकेहरुले कैदीहरुलाई पुर्ववत रुपमै तयार गर्ने गर्थे । त्यहाँको नकारात्मक पाटो उकेलेमा बेलुका चाल पाउलास् भनेर धम्क्याउने गर्थे ।  नाइकेको दादागिरी र प्रशासनको मुकदर्शकपना, कैदीहरुको आत्मसम्मानपूर्ण बाँच्न पाउने र नैसर्गिक हकहरु हनन् टुलुटुलु हेर्नुपर्ने बाध्यता । ऊ एकछिन टोलायो ।

फेरी भन्न थाल्यो, आगामी दिनमा कारणवस जेल परेको कैदीहरुले आफ्ना पालाको जस्तो समस्या भोग्नु नपरोस् भनि यस कुरालाई शासन सत्तामा पुगेका र नियमक निकायहरु माझ पु¥याइदिन अनुरोध गर्दै उनी विदाई भए । मैले उसले भनेका कुराहरु सकेसम्म पुरै टिपोट गरेँ । उसको कुरामा केहि विश्वास लाग्यो र केहि शंका पनि । त्यसपछि मैले नेपालका सात वटा सानाठूला कारागार भ्रमण गरेँ । केहिमा राम्रै जानकारी पाएँ भने केहिमा पाउन सकिएन । मात्रात्मक रुपमा कम–बेसी होलान् तर अधिकांशमा माझी दाईले उल्लेखि गरिए अनुसारका ऐजन् ऐजन समस्याहरु यद्यपी रहेको पाएँ । कारागार भित्र पुग्नासाथ नाइके मात्र अघि सरेर बोल्ने गर्थे । कैदीहरुले केहि भन्न खोजेको जस्तो अमौखिक भाषाले पिडा देखाए पनि मौखिक रुपमा “‘हामीलाई सबै राम्रो छ” भनेर बोलेको पाइयो ।

मेरो भ्रमण र अध्ययनमा कारागार सुधार गर्न देहाय अनुसारका प्रयाशहरु गर्न सकेमा नेपालका जेल भित्र रहेको सबै कैदिहरुले आफुलाई विधिको शासन भएको राष्ट्र«का नागरिक भएको प्रत्याभूति गर्न सक्दथे । जेलमा नाइकेहरुको एकल सिण्डिकेट अन्त्य गर्न सकिन्थ्यो । सुझाबको रुपमा २७ बुदाँ उल्लेख पनि गरिएको छ ।

१. आरोप प्रमाणित नभई उनीहरुलाई निगरानीमा मात्र राख्ने, पक्राउ गरी पू्र्पक्षको लागि थुनामा नराख्ने ।

२. केरकार तथा बयान लिने पद्धति परिवर्तन गरी आरोपीको वकिलको रोहबारमा मात्र बयान लिने । केरकार गर्दा वा बयान लिँदा यदि कसैले यातना दिएको थाहा पाइएमा उसलाई मानव अधिकार हनन् को मुद्दा चलाइने र कानुन अनुसार कारबाही गर्ने

३. कारागारमा मानव अधिकारको न्यूनतम प्रत्याभूति दिलाउन उजुरी÷गुनासो पेटिका कारागार प्रशासन हेर्ने तालुकदार निकायको मुख्य प्रतिनिधि, कानुन व्यवसायी र मानव अधिकारकर्मीको रोहबरमा मासिक रुपमा खोल्ने र त्यहाँ उल्लेख भएको मूख्य र तार्किक सुझावलाई आत्मसाथ गर्ने,

४. जिर्ण संरचनाको पूननिर्माण गर्ने, अपर्याप्त र जोखिम स्थानमा कैदी नराख्ने,

५. खाना, खाजा, चिया, नास्ता बनाउदा गुणस्तरिय अन्न, स्वच्छ पानी, उचित सरसफाई र समय तालिका अनसुार दुध, दही, माछा, मासुको व्यवस्था गर्ने, सिजन अनुसारका हरिया तरकारीको व्यवस्थापन गर्ने,

६. बजार मूल्यको आधारमा कैदीवन्दीहरुलाई सिदाको व्यवस्था गर्ने,

७. कारागार भित्र निजि मेस (किचन) सञ्चालन गर्न नदिने

८. बजार मूल्य भन्दा बढीमा सामाग्रीहरु विक्रि वितरण गर्न नपाउने नियम बनाउने,

९. नाइके र भाई नाइके छनौट गर्दा कैदी बन्दीहरुबाटै प्रजातान्त्रिक परिपाटीबाट छनौट गर्ने र नाइकेहरुको कार्यकाल बढीमा ६ महिना भन्दा बढी नगर्ने,

१०. नाइके/भाइ नाइकेलाई २४ घण्टे बाहिर निस्कन पाउने पासको व्यवस्था खारेज गर्ने,

११. सबैले सबैलाई सम्मानित रुपमा व्यवहार गर्ने,

१२. कैदीहरुले उत्पादन/सिर्जना गरेको सामाग्रीहरुलाई न्यूनतम बजार मूल्य अनुसार विक्रि वितरण गर्न एक व्यापार समितिबनाई सोहीबाट डाक बढावढमा मूल्य तोक्ने,

१३. प्रत्येक साता आवश्यक संख्यामा अधिकारकर्मी र मनोविमर्शकर्ता संग छुट्टै स्थानमा छलफल गर्न पाउने व्यवस्था गर्ने,

१४. घर परिवार, आफन्त नातागोता संग टेलिफोन गर्दा सहुलियत दरमा गर्न पाउने व्यवस्थागर्ने र कैदीको गोपनियताको अधिकार प्रति सचेत हुने,

१५. कारागार भित्र कैदीले प्रयोग गर्ने सामाग्रीहरु जस्तै पानी, साबुन, सर्फ, टेलिभिजन, रेडियो ,खेलकुदका प्रशस्त सामाग्रीहरु कपाल, दाह«ी काट्ने सुविधा राज्यले नै व्यवस्था गर्न,

१६. कैदीहरुका आफन्त संग, कानुन व्यवसायीहरुसंग, अधिकारकर्मी संग सञ्चारकर्मी संग र मनोविर्मशकर्ताहरु संग आवश्यकता अनुसार भेटघाट गर्न दिने,

१७. दूधे बालबालिका सँगै रहेका महिलाहरुलाई लैङ्गिक संवेदनशिलता ख्याल गरी मैत्री व्यवहार गर्ने,

१८. अध्ययन गर्न चाहने र रुचि भएकाहरुलाई अध्ययन गर्ने उचित वातावारण बनाइदिने,

१९. कारागार भित्र भिआइपी वा सामान्य सबै कैदीहरु विभेदिकृत व्यवहार नगर्ने,

२०. कैदीहरुलाई मतदानको अधिकार सुरक्षित गर्ने,

२१. प्रशस्त मनोरजनात्मक, सूचनामूलक, ज्ञानवर्धक सामाग्रीहरुको व्यवस्थागर्ने,

२२. आवश्यकता अनुसार प्राथमिक उपचारको व्यवस्था, खोप, स्वास्थ्य परिक्षण तालिका बनाएर व्यवस्था गर्ने,

२३. सबै कैदीहरुलाई परिचय पत्र वा नम्बरको, ड्रेसको व्यवस्था गर्ने ।

२४. अभिभावक दुबै जना कारागारमा भएका बालबालिकाहरुको शिक्षाको अधिकार सुनिश्चित गर्ने ।

२५. कारागारलाई एक सुधार गृहको रुपमा विकास गर्न प्रत्येक विहान योगा शिविर, आदर्श वाणीहरु, जिवन उपयोगी सीपको विकास, ध्यान शिविर, रुचि अनुसारको व्यवसायिक तालिम, जिम क्लब, नृत्य प्रशिक्षण केन्द्र लगायतका संरचना राज्यले व्यवस्था गर्ने र उनीहरुमा सकारात्मक सोच विकाश गराउने ता कि पूनः उनीहरु दुष्कर्ममा नफसुन् ।

उल्लेखित २५ बुँदे सुझावको कार्यान्वयन गर्न सकेको खण्डमा नेपाली कारागार विश्वकै उत्कृष्ट मानव अधिकारको प्रत्याभूति भएको कारागार हुनेछ । जसलाई कैदीहरुले आफुलाई सुधार गृह भित्र आएको भान गर्नेछन् । हाम्रो राष्ट्र लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरिसकेको अवस्थामा पूर्व जिवनमा भूल गरेकाहरुले कारागार भित्र रहदा बिधिको शाशनको प्रत्याभूति गर्न पाउने वातावरण सिर्जना गर्न सकेमा नेपाल सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको स्लोगनले एक महत्वपूर्ण इण्डिकेटर पास गरेको प्रमाणित हुनेछ । सम्बन्धित तालुकदार निकायहरुलाई बेलैमा चेतना भया ।

 

हरिवन नगरपालिका १० सर्लाही 

हाल जापान