नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कमिटी १ सय ३५ सदस्यीय

ओखलढुङ्गान्युज, जेठ १४ ओखलढुङ्गा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता पछि बनेको जिल्ला कमिटिका सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । आईतवार सपथ ग्रहण कार्यक्रम सम्पन्न गर्नुका साथै तत्काल नै जिल्ला कमिटिको बैठक पनि सम्पन्न भएको मंगलबार पत्रकार सम्मेलन मार्फत नेकपा ओखलढुङ्गाले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रदेश नं. १ का अर्थ समितिका सभापति एवम् नेकपा ओखलढुङ्गाका अध्यक्ष मोहन कुमार श्रेष्ठले ओखलढुङ्गामा हाल अध्यक्ष र सचिव बाहेक ५ जना पछि थप गर्नेगरि १ सय ३५ जनाको जिल्ला कमिटि र त्यसको एक तिहाई हुन आउने ४५ जनाको जिल्ला सचिवालय समितिको निर्माण गरिएको जानकारी दिनुभयो ।

नेपाल सरकरको १५ औं योजनाको नारा सुखी नेपाली समृद्ध नेपालको नारालाई यस पार्टी एकता र एकता प्रकृयाले थप टेवा पुर्याउने विश्वास लिएको पनि अध्यक्ष खड्काले जानकारी दिनुभयो । देशका विभिन्न जिल्लाहरुमा नेतृत्व र पार्टीको गाउँ तथा नगरपालिका र जिल्ला कमिटिमा विवाद रहि रहेको अवस्थामा ओखलढुङ्गामा भने त्यस्तो विवाद नरहेको पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

पूर्व एमाले र पूर्व माओवादीको एकता पछिको जिल्ला समितिमा प्रतिशतमा भागवण्डा भन्दा पनि क्रियाशिलताको आधारमा लागिएको र थप गर्न बाकी रहेको जिल्ला सचिवालय तथा जिल्ला कमिटिमा पनि क्रियाशिलताका आधारमा सदस्यहरु थपिने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपाका जिल्ला सचिव मोहन कुमार श्रेष्ठले एकताको मूलभावमा रहि जनताको अभिमतलाई सम्मान गर्ने उद्देश्यका साथ जिल्ला कमिटिको निर्माण गरिएको र आगामी दिनहरुमा नेकपाको जिल्ला पार्टीलाई चलायमान बनाउन जिम्मेवारी दिएर पठाईने बताउनुभयो । जिल्ला कमिटि भागवण्डाको प्रतिशतका आधारमा भन्दा पनि आवश्यकता र चलायमानको आधारमा निर्माण गरिएको पनि सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपा ओखलढुङ्गाको सपथ ग्रहण कार्यक्रममा नेकपाका प्रदेश ईञ्चार्ज हिम आचार्य, सहईञ्चार्ज सावित्री कुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे, सचिव शुरेश राई तथा केन्द्रिय सदस्यहरुको समेत उपस्थिती रहेको पनि नेकपा ओखलढुङ्गाले जनाएको छ । नेकपाको जिल्ला कमिटिका सदस्यहरु सगै पालिकाका तोकिएका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिवहरुलाई समेत सपथ ग्रहण गराईएको थियो । नगर तथा गाउँपालिकाको बारेमा भने एकहप्ता भित्र टुङ्गोमा पुर्याउनका साथै जिल्ला कमिटिले अनुमोदन गरेपछि उनीहरुलाई पनि सपथ ग्रहण गराईने नेकपा ओखलढुङ्गाले जनाएको छ ।