नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गाको शिवालय माविमा आफ्नै मातृभाषामा पढाई

ओखलढुङ्गान्युज, जेठ ४ पात्ले । ओखलढुङ्गाको एक विद्यालयमा आफ्नै शेर्पा मातृभाषामा आधारभुत कक्षाको पढाई सुरु भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको शिवालय माद्यमिक विद्यालयले शेर्पा भाषाको शिक्षण शुरु गरेको छ । खिजिदेम्बा गाउँपालिकाको वडा नं. ९ स्थित शिवालय मावि छेर्मादिङ पात्लेमा स्थानीय विषय अन्तर्गत कक्षा १ र २ मा शेर्पा भाषामा पठनपाठन शुरु गरेको हो ।

विद्यालयले हिमाली शिशु उपहार नामक पाठ्यक्रम लागू गरेको छ । नयाँ पाठ्यक्रम लागू गरेपछि विद्यार्थीले शेर्पा भाषा र साम्भोटा लिपी अध्ययन गर्ने छन् । पाठ्यक्रम लागू गरेपछि विद्यार्थीले शेर्पा संस्कृति र बौद्ध संस्कार सिक्ने छन् । शेर्पा समुदायको बाहुल्यता रहेको विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा केही वर्षअघि पनि विद्यालये शेर्पा भाषा लागू गरेको थियो । तर त्यस समयमा शिक्षकलाई तलब दिने स्रोत नहुँदा पठनपाठन बन्द गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा जी शेर्पाले बताए ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शेर्पाका अनुसार विद्यालयमा कक्षा ५ सम्म शेर्पा भाषा पाठ्यक्रम लागू गराउने लक्ष्य लिईएको छ । शेर्पा भाषाको कक्षा शुरुभएसँगै विद्यार्थीलाई गुम्बा शिक्षाका लागि समेत सहज हुनेछ । उनीहरूले बौद्ध संस्कारअनुसार पूजापाठ गर्न, आफ्नो भाषामा पढ्न, संवाद गर्न सक्नेछन् ।

पठनपाठनका लागि विद्यालयले आफ्नै आन्तरिक स्रोतबाट पुस्तक खरिद गरी विद्यार्थीलाई निःशुल्क प्रदान गरी कक्षा शुरु गरेको विद्यालयका प्रधानाध्यापक भानुभक्त नेपालले जानकारी दिनुभयो। विद्यालयले आन्तरिक स्रोतबाटै भाषागत शिक्षकको व्यवस्था गरेको छ । नेपाल सरकारले स्थायी शिक्षकका लागि मात्रै पोषाकको भत्ता उपलब्ध गराएको भएपनि विद्यालयले भने सबै शिक्षक, कर्मचारी र विद्यार्थीलाई पोषकको अनिवार्य गरेको छ ।