नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

विकास निर्माणमा ओखलढुङ्गालाई पछाडी पारेको भन्दै कांग्रेसले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ओखलढुङ्गान्युज, बैशाख २८ ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुङ्गाले शुक्रबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा मार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बहुदलिय व्यबस्था हुनुभन्दा अगाडी नै खोटाङ  सोलुखुम्बु जिल्लाको समेत केन्द्रविन्दु रहेको ओखलढुङ्गाको विभिन्न सरकारी कार्यालयहरुलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको तथा विकास निर्माणको क्रममा पनि पछाडी पारिएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

युगकवि सिद्धिचरण श्रेष्ठ तथा राष्ट्रिय गानका रचयीता व्याकुल माईलाको समेत जन्मथलो रहेको ओखलढुङ्गालाई संघिय गणतन्त्रात्मक संबिधान लागू भैसकेको अवस्थामा ओखलढुङ्गालाई ओझेलमा पारेको भन्दै यस विषय प्रति ओखलढुङ्गा कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख छ । त्यस्तै ‘७५ जिल्लाको संरचना बन्नुभन्दा पहिले नै ओखलढुङ्गामा रहेको संघ स्तरको डिभिजन खानेपानी कार्यालय, डिभिजन सिंचाई कार्यालय खोटाङमा, जलउत्पन्न कार्यालय उदयपुरमा, डिभिजन शहरी विकास कार्यालय विराटनगरमा लैजाने निर्णयको ओखलढुङ्गा काग्रेस निन्दा र भत्र्सना गर्दै ती कार्यालय तत्काल ओखलढुङ्गामा फिर्ता सरकार समक्ष जोडदार माग गरिन्छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

स्थानीय तहमा कर्मचारी नहुँदा नागरिकहरुले दुःख पाएको भन्दै स्थानीय तहमा आफैले कर्मचारीको नियुक्ति गर्न पाउने अधिकार प्रदान गर्न ज्ञापनपत्रमा माग गरिएको छ । त्यसै गरि ज्ञापनपत्रमा जिल्लामा भारतिय राजदुतावासको सहयोगमा लामो समयदेखी निर्माणाधिन अवस्थामा रहेर पनि निर्माण सम्पन्न हुन नसकेको चण्डेश्वरी मावि रगनी र निशंखेको उमाकटवाल क्याम्पसको भवन निर्माण कार्य यथा सिघ्र सकाउका लागि पहल गर्न, जिल्लामा सञ्चालनमा रहेको विभिन्न मोटरवाटो, हाईड्रो पावर तथा पक्की पुलको निर्माणमा ढिलाई भै रहेकोमा त्यसको यथासिघ्र निर्माण गराउन ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराईएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापती प्रदिप कुमार सुनुवारको नेतृत्वमा जिल्ला पार्टीका विभिन्न नेताहरु सहित ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । ५ बुदे ज्ञापनपत्रलाई सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराई मार्फत शुक्रबार नै प्रधानमन्त्रीलाई पठाईएको छ ।