नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

झुटा विवरण पेश गरेर भुकम्प अनुदान लिने बढे ः नगरप्रमुख श्रेष्ठ

ओखलढुङ्गान्युज, बैशाख २६ ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले पछिल्ला दिनमा झुटा विवरण पेश गरेर भुकम्पको अनुदान लिनेहरुको संख्या बढेको बताउनुभएको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल  ओखलढुङ्गाले विहिवार आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा यस्तो बताउनुभएको हो । भूकम्प पछिको पूननिर्माणमा सदाचार कार्यक्रम अन्तर्गत ओखलढुङ्गामा एकवर्षको अबधीमा सञ्चालन गरिएका गतिबिधिको बारेमा टि.आई. नेपालले समिक्षा गरेको हो ।

सिद्धिचरण नगरपालिकाको कार्यालय ओखलढुङ्गामा विहिवार आयोजित समिक्षा कार्यक्रममा ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल ओखलढुङ्गाका जिल्ला कार्यक्रम अधिकृत भलामान विकले जिल्लामा सञ्चालन भएका कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो । जानकारी पश्चात भएको छलफलमा सिद्धिचरण नगरपालिकाका वडा अध्यक्षहरुले भूकम्प पश्चात नेपाल सरकारको तर्फवाट उपलब्ध हुने राहतका लागि पटक पटक गरि गुनासो संकलनको कार्य भै रहेकोले आफ्नो वडामा जनसंख्या भन्दा बढि घरधुरी देखिन थालेको बताएका थिए ।

छलफलका क्रममा सिद्धिचरण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दान बहादुर वानियाले भुकम्पको अनुदान वितरण पश्चात भएको पहिलो छुट तथा गुनासो संकलनमा २८ जनाले मात्रै गुनासो दर्ता गरेको जानकारी दिनुभयो । तर पटक पटक अन्तिम पटक गुनासो गर्ने म्याद भन्दै समय थपिदा हाल आफ्नो वडामा १ सय २८ जनाले गुनासो दर्ता गराएको बताउनुभयो । यसै गरि पटक पटक म्याद थप गर्दै रहने हो भने जनसंख्या भन्दा बढि घरधुरी संख्या देखिन सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

वास्तविक पिडितको बारेमा चाही आफुहरुको स्वयम् उपस्थितीमा भएको निर्णयमा समेत प्राधिकरणले सुनुवाई नगरेको, पूर्ण क्षति भएका व्यक्तिहरुको घरलाई चाही आंशिक भनेर आएको अनि घर नै नभएका र नछुटिएका व्यक्तिहरुको चाही पूर्ण क्षभितमा परेर आउदा आफुहरुलाई समस्या परेको बताउनुभयो । आगामी दिनहरुमा पनि त्स्तै दोहोरिने भएमा पून सर्बेक्षणका लागि आफ्नो वडामा ईञ्जिनियरलाई नपठाउन नगरपालिकालाई अध्यक्ष बानियाले आग्रह गर्नुभयो ।

त्यस्तै समिक्षा कार्यक्रममा सोच नेपालका जिल्ला कार्यक्रम अधिकृत विएन श्रेष्ठले घर नै नभएका व्यक्तिहरुको सिफारिस जनप्रतिनिधीहरुले नै गरिदिदा घर नै नभएका र भूकम्प पछि पनि लामो समयसम्म सगोलमा बसेकाहरुको चाही भुकम्प अनुदान लाभग्राहीको सूचिमा आएकोले जनप्रतिनिधीहरुले त्यस्तो गलत सिफारिस नगरिदिन आग्रह गरेका थिए ।

त्यस्तै सिद्धिचरण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हेम बहादुर तामाङले भूकम्प पश्चात प्रवलिकरणमा परेका व्यक्तिहरुले पहिलो किस्ता रकम लिएर आफ्नै तरिकाले लिपापोत गरि टाल्ने गरेको बताउनुभयो । प्राबिधिक ईञ्जिनियरहरुको कुनै सल्लाह विना नै यस्ता काम गर्न सुरु गरेकाले पछिल्ला दिनहरुमा यसले समस्या गर्न सक्ने भन्दै यस तर्फ कसरी अगाडी बढ्न सकिन्छ भनेर आवश्यक पहल कदमी लिन नगरपालिकालाई अनुरोध गर्नुभयो । साथै आवश्यक सुझाव संकलन गरि केन्द्रवाट पहल गर्न पनि ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल ओखलढुङ्गाका जिल्ला कार्यक्रम अधिकृत विकलाई अनुरोध गर्नुभयो ।

सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले नीतिगत अस्पष्टताकै कारणले भूकम्प पछिको पूननिर्माणको कार्य अघि बढ्न केही समस्या भएको बताउनुभयो । लाभग्राहीले पछिल्ला दिनहरुमा झुटा विवरण दिएर अनुदानको रकम लिनेक्रम बढेको भन्दै लाभग्राहीलाई ईमान्दार बन्न र भूकम्प लाभग्राहीहरुको सूचिमा परेकाहरुलाई सिफारिस गराउदा जनप्रतिनिधीहरु सजग बन्न समेत नगरपालिका प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो । समस्या बढ्दै गरेको अबस्थामा चुनौती मोलेर भएपनि अनावश्यक सिफारिस गर्नवाट जनप्रतिनिधीहरु सजग हुनुपर्ने पनि नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

समिक्षा कार्यक्रममा उठेका विषय तथा सुझाबहरुलाई आफुले ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको केन्द्रिय कार्यालय सम्म पु¥याउने तथा आफुले गरेर हुने खालका विषयमा समन्वय गर्ने समेत जिल्ला अधिकृत विकले प्रतिबद्धता जनाउनुभयो ।