नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

समाजमा हुने विकृतीलाई नियन्त्रण गर्न शिक्षा क्षेत्रमा सुधार गर्नुपर्छ ः नगरपालिका उपप्रमुख गुरुङ

ओखलढुङ्गान्युज, बैशाख २४ ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले विद्यालयको शिक्षा सिकाईमा सुधार गर्नुपर्ने बताउनुभएको छ । समाजमा बढ्दै गएको बिकृती तथा विसंगतीलाई नियन्त्रणको लागि विद्यालय तहवाट नै चेतनामूलक शिक्षामा सुधार गर्नुपर्ने बताउनु भएको हो । सिद्धिचरण नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको एकदिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख गुरुङले यस्तो बताउनुभएको हो ।

समाजमा पछिल्लो चरणमा बढ्दै गएको विकृती र विसंगतीको नियन्त्रणका लागि विद्यालय तहवाट विद्यार्थीलाई सचेत गराएमा समाजमा हुने विकृती माथि कमहुने बताउनुभयो । समाजमा हुने विकृतको नियन्त्रण र शिक्षामा गुणस्तरीयता कायम गर्न शिक्षकहरुले आफ्नो कर्तब्यलाई ईमान्दारी पूर्वक सक्रियता बढाउनु पर्ने पनि उपप्रमुख गुरुङले बताउनुभयो ।

सम्बोधनका क्रममा उपप्रमुख गुरुङले शिक्षा सिकाईमा गुणस्तरियता कायम राख्न र नगरपालिका क्षेत्रको शैक्षिक गुणस्तरलाई बृद्धि गराउनका लागि नगरपालिकाले कुनै कसर बाकी नराख्ने पनि बताउनुभयो । त्यसका लािग आगामी दिनहरुमा नगरपालिकाले शिक्षा व्यबस्थापन सूचना प्रणालीलाई आत्मसात गर्दै अगाडी बढ्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नईन्द्रराज राईले संघियताको मर्म र भावना अनुरुप संबिधान, स्थानीय सरकार सञ्चालन ऐन तथा शिक्षा क्षेत्रमा नगरपालिकाले लागू गरेको शिक्षा ऐन र नियमावलीलाई कार्यान्वयन गराउनका लागि सहज होस भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा स्थानीय सरकार ऐन, २०७४ को दफा १२० ले गरेको व्यवस्था समेतलाई मध्यनजर गरी उल्लेखित ऐन, नियमहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने कार्यमा सहयोग गरिदिन पनि सम्वन्धित सबैमा अनुरोध गरिएको थियो ।

कार्यक्रममा सहभागी रहेका विद्यालयका प्रधानाध्यापकहरुले अभिमुखीकरणमा जानकारी गराईए अनुसार सिस्टममा काम गर्नका लागि सबै विद्यालयमा ईन्टरनेट र कम्प्युटर नभएकोले समस्या हुने बताए । त्यसका लागि विद्यालयमा कम्तीमा एकथान कम्प्युटर, ईन्टरनेट र क्षमता विकासको लागि तालिमको ब्यबस्था पनि नगरपालिकाले गरिदिनुपर्ने सहभागीहरुले माग राखेका थिए ।

सिद्धिचरण नगरपालिका अन्तर्गत रहेको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा सिद्धिचरण नगरपालिका क्षेत्र भित्रका १२ ओटा वडाका ५२ वटा सामुदायिक र ११ संस्थागत विद्यालय गरि ६३ वटा विद्यालयका प्रधानाध्यापक तथा सामुदायिक र संस्थागत माद्यमिक विद्यालयका कम्प्युटर कर्मचारीहरु सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।