नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

आज बैशाख शुक्ल तृतिया अर्थात अक्षेय तृतिया

ओखलढुङ्गान्युज, बैशाख २४ ओखलढुङ्गा । आज बैशाख शुक्ल तृतिया अर्थात अक्षेय तृतिया । सनातन धर्मावलम्बीहरू वैशाख शुक्ल तृतीयामा अक्षय तृतीया मनाउँछन्। यो दिन जौको सातु–सर्वत दान गर्ने र आफू पनि खाने परम्परा छ। पौराणिक ग्रन्थहरूमा त्रेतायुगको आरम्भ यसै दिनबाट भएको भनिएको छ।

पौराणीक ग्रन्थहरुमा अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि भनिएको छ। यो दिन भगवान् विष्णुको छैटौं अवतार परशुरामको जन्म भएको भन्दै परशुराम जयन्ती मनाइन्छ। यो दिन  पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने परम्पार छ। ब्रह्मा, विष्णु र महेश्वरको आव्हान गरी घडा र जौको सातु लगायत शीतलता प्रदान गर्ने  वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणहरूमा उल्लेख छ।

चैत बैशाखको महिना गर्मी समय भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा समेत उल्लेख छ। यस्ता पदार्थ दान गर्दा अक्षय फल पाइने शास्त्रमा बताइएको छ। आजकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ।  त्यसैले यो दिन विवाह गर्न मुहूर्त हेरिरहनु पर्दैन भन्ने मान्यता छ। यो दिन अन्य शुभकर्म गर्न पनि साइत हेराइरहनु पर्दैन भन्ने चलन छ।

ऋतु अनुसारको जीवनचर्या अपनाउने र त्यसअनुसारको खानपान गर्ने गरे स्वास्थ्य रक्षा हुने र मानिसले चाहेअनुरूप पुरुषार्थ गर्न सक्ने बताइएको छ। एक ऋतु सकिएर अर्को लाग्दा पहिले गरिएका खानपान र दिनचर्या परिवर्तन गरी नयाँ शैली अपनाउनुपर्ने विधान आयुर्वेदमा छ।  कालगणनाका हिसाबले वैशाखलाई वसन्त ऋतु मानिए पनि अयन चलनले ऋतु अगाडि आउने कारण ग्रीष्म ऋतुका चाडपर्व वैशाखबाटै मान्ने भन्ने विभिन्न ग्रन्थमा बताइएको छ ।

ग्रीष्म ऋतुमा सूर्यको किरण कडा हुने र पृथ्वी वा मानिसमा रहेका रसको अवशोषण हुने भएकाले शीतल तथा रसवर्धक पदार्थ सेवन गर्नु उपयुक्त हुन्छ । आयुर्वेदअनुसार गर्मीयाममा मोही र सख्खरको सर्वत उपयुक्त बताइएको छ। शरद ऋतुको माघ महिनाभरि तिल र गुडको प्रयोग गरेजस्तै ग्रीष्म ऋतु वा वैशाख महिनामा जौबाट निर्मित पदार्थ खानुपर्ने निर्देश पाइन्छ।

हिजोआज महिनाभरि गर्न नसके पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन यो प्रक्रिया अपनाइएको पाइन्छ। यो दिन सर्वतमा विभिन्न पदार्थ मिसाई माटाको भाँडामा राखेर देवीदेवतालाई चढाउने, दान गर्ने र आफू पनि खाने परम्परा छ। गाउँघरमा कतिपयले दिनभरि बाटामा हिँड्ने बटुवालाई सर्वत र सातु खुवाउने चलन पनि छ ।