नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सेयर बजारमा ओखलढुङ्गाका नागरिकहरुको सहभागिता बृद्धि गराउन जोड

ओखलढुङ्गान्युज, बैशाख २० ओखलढुङ्गा । राज्य सञ्चालनको एक अंगको रुपमा रहेको पूँजी बजारमा ओखलढुङ्गाका नागरिकहरुलाई पनि थप सहभागिता गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विहिवार ओखलढुङ्गामा सम्पन्न पूँजी बजार तथा वस्तु विनियम बजार सम्बन्धी जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागी बक्ताहरुले यस्तो वताएका हुन् ।

कार्यक्रमको समापनसत्रमा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले धितोपत्र उपत्यका बाहिर ओखलढुंगामा पनि पहिलो पटक आएकोमा धन्यवाद दिनुभयो । ओखलढुंगामा धेरै बैंकहरु भएपनि जिल्लाको गामिण भेगका नागरिकहरुले अझैं पनि ढुङग्रोमा पैसा राख्ने गरेको भन्दै उनीहरुसम्म चेतना पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । त्यस्ता नागरिकहरु माझसम्म चेतना पुर्याउन सकेमा धितोपत्र बजारमा नागरिकहरुको सहभागितालाई बढाउन सकिने प्रजिअ आचार्यले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख जयबहादुर श्रेष्ठले लगानी डुवाउनका लागि नभई कमाउनका लागि गरिने भन्दै कसरी सुरक्षित लागानी गर्न सकिन्छ भन्ने तर्फ सम्बन्धितको ध्यान पुग्नुपर्ने कुरामा जोड दिनुभएको थियो । त्यस्तै, ओखलढुङ्गा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले जिल्लाको ५ प्रतिशत जनसंख्याबाट सेयरमा वृद्धि गराउन विशेष पहल गर्नुपर्ने बताउनुभयो । त्यस्तै सेयर धनीको मृत्यु पश्चात हकवालाले सेयर सकार गर्ने जस्ता धेरै समस्या धितोपत्र वोर्डमा भएकोले यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्ड जावलाखेल, ललितपुरका निर्देशक रुपेश केसीले पूँजी बजार के हो ? कसरी सञ्चालन हुन्छ र यसका मुल आधारभूत पक्षहरु के हुन तथा सर्वसाधारण नागरिकहरु समेत यसमा कसरी सहभागी हुने भन्ने बारेमा प्रस्तुती गर्नुभएको थियो । प्रस्तुतीका क्रममा २०६८ सालको जनगणना अनुसारको जनसंख्याको आधारमा हेर्दा ओखलढुङ्गाका करीब ५ प्रतिशत नागरिकहरु धितोपत्र बजारमा सहभागी भएको तथ्यांक समेत पेश गर्नुभएको थियो ।

प्रस्तुत गरिएको तथ्यांकलाई हेर्दा प्रदेश नं. १ का १४ जिल्लाहरु मध्ये ओखलढुङ्गा पाचौ जिल्लामा पर्दछ । तथ्यांकका अनुसार ओखलढुङ्गामा अहिले ७ हजार २ सय ३२ जनाले हितग्राही खाता सञ्चालनमा ल्याएका छन् (नेपाल धितोपत्र बोर्ड, २०७५ माघ) । जसमा पुरुष ५ हजार ६ जना र महिला २ हजार २ सय २६ जना रहेका छन् । विहिवारको प्रशिक्षण पश्चात आगामी दिनहरुमा हितग्राही खाता सञ्चालन गर्नेको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर रेवत बहादुर कार्कीले आफ्नो पुख्र्यौली घर अर्थात जन्मथलो समेत ओखलढुङ्गामा रहेको भन्दै धितोपत्र बोर्डका तर्फवाट ओखलढुङ्गामा कार्यक्रम सञ्चालन गर्ने अवसर प्रदान गरेको ओखलढुङ्गा उद्योग वाणिज्य संघलाई धन्यवाद दिनुभयो । आफ्नो कार्यकाल भित्रै धितोपत्र बजारमा ओखलढुङ्गाका नागरिकहरुको सहभागितालाई बृद्धि गराउनका लागि ओखलढुङ्गामा आगामी दिनमा पनि कार्यक्रम सञ्चालन गर्न तयारी रहेको बताउनुभयो ।

छलफलका क्रममा सहभागीहरुले राखेका जिज्ञासाको समाधान नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर रेवत बहादुर कार्की र बोर्डका निर्देशक रुपेश केसीले गर्नुुभएको थियो । कार्यक्रममा ओखलढुङ्गा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केको सभापतित्व तथा जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । ओखलढुङ्गा उद्योग वाणिज्य संघ ओखलढुङ्गाको सभाहलमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको ओखलढुङ्गा उद्योग वाणिज्य संघको समन्वय तथा नेपाल धितोपत्र बोर्ड जावलाखेल ललितपुरको आयोजनामा सम्पन्न भएको हो ।