नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

टेलिफोनको समस्या हल नभए कार्यालयमा तालाबन्दी गर्ने ओखलढुङ्गाका सेवाग्राहीको चेतावनी

विवेश श्रेष्ठ, बैशाख १९ ओखलढुङ्गा । ओखलढुङ्गामा करीब एकहप्ता देखी अबरुद्ध रहेका टेलिफोन तथा ईन्टरनेटको समस्या बैशाख २० गते सम्ममा समाधान गर्ने नेपाल टेलिकम ओखलढुङ्गा शाखाले प्रतिबद्धता जनाएको छ । आज (विहिवार) ओखलढुङ्गा उद्योग वाणिज्य संघ ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केको नेतृत्वमा नेपाल टेलिकम ओखलढुङ्गाको कार्यालयमा दुरसञ्चारको समस्याका बारेमा ध्यानाकर्षण गराउन पुगेका सहभागीहरुका बीच टेलिकमको तर्फवाट यस्तो प्रतिबद्धता जनाईएको हो ।

टेलिकमको ध्यानाकर्षण गराउनका लागि अध्यक्ष मास्केको नेतृत्वमा जिल्लाका स्थानीय पत्रकार तथा नागरिक समाजका प्रतिनिधीहरु समेत गरि करीब २ दर्जन टेलिकमको कार्यालयमा पुगेका थिए । कार्यालयमा पुगेको टोलीले टेलिफोन र ईन्टरनेटमा आएको समस्याको बारेमा जानकारी गराउन कार्यालयमा सम्पर्क गर्दा सेवाग्राहीलाई ठाडो भाषामा गाली गर्ने गरेको सेवाग्राहीहरुले आरोप लगाएका छन् । कहिले प्राविधिक छैन भन्ने र बल्लतल्ल समस्याको बारेमा भन्न पाईयो भने १४९८ मा फोन गरेर भन्नुस भनेर गैर जिम्मेवारी जवाफ दिने गरेको भन्दै सेवाग्राहीहरुको आरोप छ ।

आफुहरुले तिरेको करवाट तलब भत्ता खाएका टेलिकमका कर्मचारीहरुले टेलिफोन तथा ईन्टरनेटमा आएको समस्याका बारेमा जानकारी गराउदा ठाडो भाषा बोल्ने गरेको तथा आफ्नो काम तथा कर्तव्यको बारेमा जिम्मेवारी बहन नगरेको व्यावसायी निरज केसीले बताउनुभयो । ‘मासिक रुपमा हामीले नियमीत पैसा बुझाईरहेका छौं । दुईदिन ढिला हुदा जरिवाना तिरेका छौ । टेलिफोन र ईन्टरनेटको समस्याका कारण व्यबसायवाट लाखौको क्षति व्यहोर्नु परेको छ । हाम्रो क्षतिको क्षतिपूर्ति के टेलिकमले तिर्छ ?’ व्यावसायी केसीले भन्नुभयो, ‘भोली अर्थात २० गते सम्म समस्या समाधान नभएमा पुन हामी जम्मा भएर कार्यालयमा तालाबन्दी गर्छौं । आजको यो उपस्थितीलाई खेलाची झै नसम्झियोस ।’

पटक पटक कार्यालयमा कुरा राख्दा पनि समस्याको समाधान नभएको भन्दै सहभागीहरुले विहिवार नै कार्यालयमा तालाबन्दि गर्ने पनि बताएका थिए । तर उद्योग वाणिज्य संघका अध्यक्ष मास्केसग नेपाल टेलिकमका पूर्वाञ्चल क्षेत्रिय निर्देशक सग टलिफोन वार्ता हुदा आजै (विहिबार) बेलुकीसम्म वा आजै नभए भोली (शुक्रबार) सम्म जसरीपनि टेलिफोनको समस्या हल गर्ने प्रतिबद्धता जनाएपछि टेलिकम पुगेका सहभागीहरुले शुक्रबारसम्म समय थपेका हुन् ।

टेलिकम ओखलढुङ्गा शाखाका निमित्त कार्यालय प्रमुख प्रेम आचार्यले चित्रेमा रहेको टावरमा पाउर सप्लाईमा समस्या हुदा दुईओटा आईपिओ सर्ट भई जलेका कारण टेलिफोन तथा एडिएसएल ईन्टरनेटमा समस्या आएको बताउनुभयो । तिनओटा आईपिओ मध्ये दुईओटा जलेका कारण अहिले जिएसएम बाहेकका सबै सेवाहरु अबरुद्ध रहेको पनि आचार्यले बताउनुभयो । अहिले ओखलढुङ्गामा ल्याण्डलाईन, एडिएसएल तथा सिडिएमको सेवाहरुमा पूर्णतयाः जस्तै अबरुद्ध छन् । टेलिकमले सञ्चालनमा छ भनेको नमस्तेको सेवामा पनि फोन गर्दा फोन कटिरहने, आवाज नबुझिने समस्या रहेको छ ।

ओखलढुङ्गामा एकमात्रै प्राबिधीक, त्यो पनि कार्यालय प्रमुख नै रहेका छन् । समस्या आएको बखत सेवाग्राहीले जानकारी गराउदा कार्यालय प्रमुख फिल्ड सम्म नपुग्ने र अर्को प्राविधिक कार्यालयमा नहुदा समस्या भैरहेको छ । कार्यालयमा अर्को प्राबिधिक भएदेखी समस्यालाई तत्काल हल गर्न सकिने र गुनासो पनि नागरिकहरुको धेरै नआउने पनि निमित्त प्रमुख आचार्यले बताउनुभयो ।

टेलिकमको क्षेत्रिय निर्देशकले फोन मार्फत गरेको प्रतिबद्धतालाई लिपिबद्धगरि निमित्त प्रमुख आचार्यले उद्योग वाणिज्य संघका अध्यक्षलाई हस्तान्तरण गर्नुभएको छ । सोहीपत्रमा बैशाख २० सम्ममा टेलिफोनमा आएको सिस्टम समस्या समाधान नभएमा टेलिफोन कार्यालयमा तालाबन्दी गरिने कुरा अध्यक्ष मास्केले हस्ताक्षर गर्दै कार्यालयलाई बुझाईएको छ । यसपत्रलाई तुरुन्तै आफुले ईमेल गरि क्षेत्रिय कार्यालयलाई जानकारी गराउने पनि निमित्त प्रमुख आचार्यले बताउनुभयो ।

प्रतिबद्धता पत्र :