नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

प्राप्चाका नागरिकले गरे स्वास्थ्य चौकीको मूल्यांकन

ओखलढुङ्गान्युज, चैत्र २७ प्राप्चा । ओखलढुङ्गाको मोलुङ्ग गाउँपालिकामा सामुदायीक अंकपत्र कार्यक्रम सम्पन्न भएको छ । मोलुङ गाउँपालिका वडा नं. ३ प्राप्चामा रहेको स्वास्थ्य चौकीले प्रवाह गरेको सेवा तथा सुबिधाका बारेमा सेवा प्रदायक निकाय तथा सेवाग्राहीको तर्फवाट कार्यक्रममा सामुदायीक अंकपत्र मार्फत अनुगमन एवम् मूल्यांकन गरिएको हो ।

सामुदायीक अंकपत्र सेवाग्राही नागरिकहरुको तर्फवाट गरिने प्रभावकारी अनुगमनको विधि समेत हो । कार्यक्रममा स्वास्थ्य चौकी प्राप्चाका कर्मचारीहरुको तर्फवाट कार्यलयमा उपलब्ध हुने सामाग्रीहरुको बारेमा श्रोत आकलन तथा आफुले प्रवाह गरेका सेवा तथा सुबिधाका बारेमा स्वमूल्यांकन गरेका थिए ।

त्यस्तैगरि कार्यक्रममा सेवाग्राही नागरिकका तर्फवाट आफुहरुले सेवा प्रदायक निकाय स्वास्थ्य चौकीको तर्फवाट प्राप्त गरेको सेवा तथा सुबिधाको बारेमा मूल्यांकन समेत भएको थियो । दुवै तर्फको मूल्यांकन पश्चात सेवाग्राही र सेवाप्रदायक निकायलाई संयुक्त रुपमा राखी आमने सामने बैठक समेत भएको भएको थियो ।

आमने सामने वैठक पश्चात स्वास्थ्य सस्थाको तर्फवाट प्रशस्तै सेवा तथा सुविधाहरु प्रवाह भै रहेको भएपनि अझै सेवा प्रवाहका सम्वन्धमा समस्या रहेको स्वयम् कर्मचारी तथा स्थानीय नागरिकहरुले बताएका थिए । कतिपय आन्तरिक रुपमा व्यबस्थापन पक्षमा चासो नदिदा समस्या भएको भन्दै सेवा प्रदायक निकाय र सेवाग्राहीको तर्फवाट गुनासो आएपछि ति गुनासालाई क्रमागत रुपमा आजैका मितिदेखी छ महिना भित्रमा सम्बोधन तथा समाधान गराईसक्ने स्वास्थ्य व्यबस्थापन समितिका तर्फवाट सदस्य विष्णु अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य व्यबस्थापन समितिका तर्फवाट गरिएको प्रतिवद्धतालाई कार्यान्वयन गराउनका लागि वनाईएको योजना अनुसार काम सम्पन्न भयो वा भएन भनेर अनुगमनका लागि छलफल वैठकबाट जीवन फुयलको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति समेत बनाईएको छ । समितिका अन्य सदस्यहरुमा लिलामाया फुयाल, गंगामाया सुनुवार, देव कुमारी काफ्ले र रमा फुयाल रहनुभएको छ ।

पारस्पारिक जवाफदेहिता स्थानीय अभियान परियोजना अन्तर्गत युएसएआईडी र एफएचआई ३६० को सहयोगमा सोच नेपालको तर्फवाट कार्यक्रमको सहजीकरण गरिएको थियो । कार्यक्रमको सहजीकरण सोच नेपालका सचिव अर्जुन रत्न र सोच नेपालका परियोजना निर्देशक अप्सरा कार्कीले गर्नुभएको थियो । कार्यक्रम स्वास्थ्य चौकी प्राप्चामा सम्पन्न भएको हो ।