नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

जातिय र लिङ्गिय विभेद रहेसम्म मानबअधिकार रहन्न ः सचिव भट्टराई

ओखलढुङ्गान्युज, चैत २०, ओखलढुङ्गा । राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेद भट्टराईले जातिय र लिङ्गिय विभेद रहेसम्म त्यहाँ मानव अधिकार भन्ने कुरा हुन नसक्ने बताउनुभएको छ । आज ओखलढुङ्गामा ओखलढुङ्गाका मानव अधिकार रक्षकहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा सहभागीहरुले चारओटा टिममा टिम विभाजन गरेर ओखलढुङ्गामा मानव अधिकारको अवस्थाका बारेमा ग्रुप छलफल गरि निष्कर्ष निकालेका थिए । उक्त निष्कर्षलाई सामूहिक रुपमा प्रस्तुत समेत गरिएको थियो । ग्रुप छलफलवाट स्थानीय तहको निर्वाचन पश्चात ओखलढुङ्गामा मानव अधिकारको अवस्था झन् भयावह हुदै गएको निश्कर्ष आएको थियो । सहभागीहरुले पछिल्लो समयमा मानव अधिकार सग जोडिएका हरेक विषयमा पहुँचका कुरा जोडिएको कारण जिल्ला समस्याग्रस्त भएको बताएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सुन्तला परियारले मानव अधिकारको रुपमा रहेको स्थानीय तहमा दलित तथा महिला जनप्रतिनिधीहरु निर्वाचित हुनु खुशीको कुरा भएपनि आफुहरु निर्वाचित उपल्ला जनप्रतिनिधीहरुवाट नै विभेदमा पर्ने गरेको बताउनुभएको थियो । महिला, दलित तथा पिछडिएको वर्गलाई पदको अवसर मात्र भन्दापनि कामको अवसर पनि दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै जिल्ला समन्वय समितिका अर्का सदस्य होम बहादुर विकले कानूनले राज्यमा जातिय विभेदको अन्त्य गर्दै गर्दा दलितहरु सामाजिक वहिष्करणमा परेको भन्दै त्यो कुरा पछिल्लो समयमा चिन्ताको विषय बन्न लागेको बताउनुभएको थियो । विकले भन्नुभयो, ‘पहिले त छुन मात्रै दिदैन थे । अहिले त छिमेकमा काजभोज हुदा निम्ता गर्नै छाडे । जाउ निम्ता छैन, नजाउ दलित भएकै कारण निम्ता गरेनन भनेर साना बच्चाको दिमाखमा गलत असर पर्ने ।’ त्यसका लागि राष्ट्रिय मानव अधिकार आयोगको तर्फवाट समेत अध्ययन गरि समस्याको हलगर्ने तर्फ लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा अध्यक्ष एवम् प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेद प्रसाद भट्टराईले मानव अधिकार रक्षाको लागि अनुगमन विधी नै प्रभावकारी हुने बताउनुभयो । को कुन सानो या ठूलो संस्थामा लागेकोले भन्दा पनि हामी सबै आ–आफ्नो ठाउँवाट मानव अधिकारको पक्षमा लागि परेमा समस्याको हल हुने बताउनुभयो । जबसम्म जातिय र लिङ्गिय विभेद रहन्छ तबसम्म त्यहा मानबअधिकार भन्ने कुरा नहुने भन्दै जातिय र लिङ्गिय विभेदको अन्त्यका लागि सबैजना लागिपर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अभिमुखीकरण कार्यक्रममा ओखलढुङ्गा जिल्लामा रहेर मानव अधिकारको पक्षमा वकालत गरिरहेका विभिन्न नागरिक समाजका संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रममा ओखलढुङ्गामा कृयाशिल सञ्चार माध्यम तथा पत्रकार लगायतका तिन दर्जन बढिले सहभागीता जनाएका थिए । समग्र ओखलढुङ्गा जिल्लामा वर्तमान अवस्थामा रहेको मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराउने तथा मानव अधिकारलाई सुनिश्चितता गराउनका लागि सरोकारवालाहरुको क्षमता अभिवृद्धि गराउने उद्धेश्यका साथ अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको ईन्सेक प्रतिनिधी शिव ढुंगानाले बताउनुभयो ।