नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सूचनाको हक कार्यान्वयन गराउन वडा अध्यक्षलाई अनुरोधपत्र

ओखलढुङ्गान्युज, चैत १९ ओखलढुङ्गा । गैरीगाउँ साझाबोली रेडियो श्रोता समूहका सदस्यहरुले आफ्नो वडाका वडा अध्यक्षको ध्यानाकर्षण गराउदै शोमबार अनुरोधपत्र बुझाएका छन् । आफ्नो वडामा भैरहेका विकास निर्माणका कार्यक्रमहरुको बारेमा सबै नागरिकहरुले जानकारी पाउनुपर्ने र सेवा प्रदायक तथा सेवाग्राही दुवै एकआपसमा जवाफदेही बन्नुपर्ने भन्दै गैरीगाउँ साझाबोली रेडियो श्रोता समूहका तर्फवाट अनुरोधपत्र बुझाएका हुन् ।

नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सिद्धिचरण नगरपालिका वडा नं. ११ को गैरीगाउँमा विगत केही समय अगाडीदेखी सोच नेपालको सहयोगमा गैरीगाउँ साझाबोली रेडियो श्रोता समूहको गठन भएको छ । बैठकमा छलफलका क्रममा सिनपा वडा नं. ११ मा रहेको जाल्पा माद्यमिक विद्यालयमा भवन निर्माण हुदै गरेको तर के कति बजेटमा कसले बनाएको र कहिले सम्म सम्पन्न भै सक्ने हो भन्ने बारेमा केही पनि थाहा नभएको समूहका सदस्यहरुले बताएका थिए ।

बैठकमा समूहका सदस्यहरुको त्यस जिज्ञासालाई मेटाउनका लागि वडा अध्यक्षलाई भेटि अनुरोधपत्र बुझाउने निर्णय समेत भएकोले त्यही निर्णय अनुसार आफुहरुले अनुरोधपत्र बुझाएको समूहका अध्यक्ष सन्ध्या खत्रीले बताउनुभयो । अनुरोधपत्रमा निर्माणाधिन जाल्पा मावि लगायत अन्य योजनामा समेत सबै नागरिकहरुले देख्ने गरि योजनाको बारेमा सबै कुराहरु उल्लेख भएको नागरिक सूचना पाटी राख्नका लागि पहल गरिदिन अनुरोध गरिएको छ । त्यस्तै आगामी आर्थिक वर्षका लागि नागरपालिकावाट विनियोजन हुने बजेटमा पनि लक्षित वर्गका लागि पनि सम्बोधन हुने गरि बजेट छुट्याउन पहल गरिदिनका लागि अनुरोध गरिएको छ ।

अनुरोधपत्र बुझ्दै वडा अध्यक्ष विनोद कुमार केसीले युवाहरुको जुझारुपनलाई राम्रो काम भएको बताउनुभएको थियो । वडा अध्यक्ष केसीले नगरपालिकाको कार्यपालिकाको बैठकवाट समेत पाँचलाख भन्दा माथिको बजेटवाट सञ्चालन हुने हरेक योजनामा सूचनापाटी राख्ने निर्णय भएपनि जाल्पामा माविमा चाहि राख्न छुटेकोले त्यसकालागि आवश्यक निर्देशन दिने बताउनुभयो । साथै गत आर्थिक वर्षमा पनि वडा नं. ११ मा लक्षित वर्गको बजेट प्रशस्तै मात्रामा विनियोजन गरिएको बताउदै लक्षित वर्गको कार्यक्रमहरु सञ्चालन भैरहेको पनि बताउनुभयो । आगामी वजेटमा पनि लक्षित वर्गको बजेट विनियोजनका लागि कुनै कन्जुस्याई नगर्ने पनि उहाँले बताउनुभयो ।

जिल्लाका विभिन्न विकास निर्माणका कार्यक्रमहरुमा योजनाको बारेमा पूर्ण जानकारी हुने होडिङ बोर्डको व्यबस्थालाई अनिवार्य गरिएको छ । तरपनि अधिकांस योजनाहरुको होडिङ बोर्ड योजनाको फरफारक कार्यका लागि कम्प्युटर मार्फत एकप्रति फोटोको रुपमा मात्रै प्रयोग गरि फरफारक गरिदै आएको छ ।