नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

मुक्तिनाथ बैंकको ऋण मिनाहा

ओखलढुङ्गान्युज, फागुन २० ओखलढुङ्गा । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय ओखलढुङ्गाले ऋणीको मृत्यु भएपछि मृतकका परिवारलाई ऋण मिनाहा गरिदिएको छ । बैंकले सिद्धिचरण नगरपालिका वडा नं ४ रुम्जाटारकी ऋणी शशीदेवी राई र महोत्तरी जिल्ला जलेश्वर ४ की दिपादेवी महतोले लिएको ऋण मिनाहा गरिदिएको हो । बैंकका दुवै ऋणीको मृत्यु भएपछि परिवारलाई किरियाखर्च सहित ऋण मिनाहा गरिदिएको हो ।

व्यवसाय गर्न लिएको ऋण तिर्न नपाउँदै राई र महतोको मृत्यु भएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत राईले लिएको १ लाख ५० हजार र महतोले लिएको १ लाख ५० हजार रुपैँया सहित साँवाब्याज  मिनाहा गरिएको बैंकका साना तथा लघु बैंकिङ डेक्स प्रमुख विकल्प भट्टराईले बताउनुभयो ।

मृतक महतोले तिरेको २९ हजार १७ रुपैयाँ सावाँब्याज र ५ हजार किरियाखर्च तथा मृतक राईले तिरेको १ लाख ५ हजार ४ सय ९  रुपैँया र पाँच हजार किरिया खर्च सहीत मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय ओखलढुङ्गाका शाखा प्रमुख ध्रुव गुरुङ्गले मृतकका आफन्त चन्द्र कुमार राई र श्यामबाबु महतोलाई हस्तान्तरण गर्दै फिर्ता गर्नुभएको थियो ।

मृतकहरुले बैंकबाट विनाधितो तर्फको कर्जा लिएका थिए । ऋण मिनाहा भएपछि मृतकका परिवारले मुक्तिनाथ विकास बैंकले पीडामा मल्हम लगाइदिएको प्रतिक्रिया दिए । बैंकको ऋण लिएर ऋण तिर्न नपाउँदै आफन्तको मृत्यु भएपछि पारिवार शोकमा भएपनि बैंकले ऋण मिनाह गर्दा आफुहरुलाई ठुलो राहत मिलेको उनीहरुको भनाई छ ।