नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

 मन्त्री अधिकारीको निधनप्रती नेकपा ओखलढुङ्गाको श्रद्धाञ्जली अर्पण

ओखलढुङ्गान्युज, फागुन १६ ओखलढुङ्गा । नेकपा ओखलढुङ्गाले आज ओखलढुङ्गामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । बुधवार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका नेकपाका चर्चित नेता तथा संस्कृति पर्यटन तथा नगारिक उड्यन मन्त्री रवीन्द्र अधिकारी एवम् अन्य सबै मृतकहरुप्रति श्रद्धासुमन व्यक्त गरिएको छ । नेकपाको जिल्ला कार्यालयमा बिहीबार शोक पुस्तिका राखेर तस्वीरमा माल्यार्पण गरेर शोक व्यक्ति गरिएको हो ।

संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार, सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ, नेकपाका नेता नेत्र भट्टराई, विनोद सुनुवार लगायतका नेता तथा कार्यकर्ताले स्व. मन्त्री अधिकारीको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली अपर्ण गरेका थिए । नेकपाले आफ्नो पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाएको छ ।

युवा विद्यार्थीका माझमा लोकप्रिय नेताका रुपमा स्थापित अधिकारी विद्यार्थी संगठन अखिलको अध्यक्ष हुँदा विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट दिलाउने आन्दोलनको नेतृत्व गरेर सफल भएका थिए । त्यस्तै गायक प्रविण गुरुङको हत्याको विरुद्धमा हत्यारा दरबारमा होइन, जेलमा बस्छन्, भन्ने अभियान चलाएर एक लाख बढी विद्यार्थीहरुको हस्ताक्षर तत्कालीन राजा विरेन्द्रलाई बुझाउँदा विद्यार्थी आन्दोलनको आइकन समेत बनेका थिए ।

उनी संविधान सभाको दुई ओटा निर्वाचन र ०७४ को संसदीय निर्वाचनमा कास्की ३ बाट तीन पटक निर्वाचित भएका थिए । संसदको विकास समितिको सभापति हुँदा अधिकारीले राष्ट्रिय गौरवका योजनामा गति दिन र पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बनाउन नेतृत्व लिएका थिए ।

चैत्र २२ गते ओखलढुङ्गाको उच्च भूगोल थोलेदेम्बा महोत्सवमा आउने स्वर्गीय मन्त्री अधिकारीको तयारी थियो । थोलेदेम्बालाई पर्यटकिय हिसावले व्यबस्थित गर्नका लागि भन्दै उनैले नगद रु ५० लाख समेत विनियोजन गरिदिएका थिए । श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनुभएका संघिय प्रतिनिधी सभाका सांसद एवम् नेकपाका केन्द्रिय सदस्य यज्ञराज सुनुवारले भावुक हुदै मन्त्री अधिकारीको निधनले राष्ट्रले एउटा महान् व्यक्तित्वको क्षति व्यहोर्नु परेको भन्दै यो घटनाले अझ बढी ओखलढुङ्गालाई क्षति भएको बताउनुभयो ।