नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

शुशासन नीति निर्माण गरि कार्यान्वयनको माग गर्दै गाउँपालिकालाई अनुरोधपत्र

ओखलढुङ्गान्युज, फागुन ८ ओखलढुङ्गा । चिशंखुगढी गाउँपालिकामा शुशासन नीति निर्माण गरि कार्यान्वयनको माग गर्दै गाउँपालिकामा अनुरोधपत्र बुझाईएको छ । स्थानीय नागरिक समाजका संस्थाहरुको तर्फवाट अगुवाई गर्दै भदौरेमा रहेको साझासभाको तर्फवाट भदौरेका वडा अध्यक्ष कृष्ण बहादुर क्याप्छाकी मगर मार्फत चिशंखुगढी गाउँपालिका प्रमुखलाई अनुरोधपत्र बुझाईएको हो ।

गाउँपालिका आफैले नयाँ शुशासन नीति पनि नवनाएको र पुरानोको पनि कार्यान्वयन नहुदा चिशंखुगढी गाउँपालिकाका स्थानीय तहहरुमा भएका विकास निर्माणमा पारदर्शीता नभएको नागरिकहरुको गुनासो रहदै आएको छ । विकास निर्माणका सन्दर्भमा नागरिकहरुप्रति पारदर्शी र जवाफदेही नवन्दा अधिकांश विकास निर्माणका कामहरु समयमा नै सम्पन्न हुन सकेका छैनन् ।

भूकम्प पश्चात पुननिर्माणका क्रममा रहेका कतिपय विद्यालयहरु आ.व. २०७४/०७५ अन्तर्गत २०७५ को साउन महिनामा नै सम्पन्न गरिसक्नु पर्ने भएपनि हालसम्म सम्पन्न हुन सकेका छैनन् । जसको कारण जान लागेको जाडो मौसममा पनि विद्यार्थीहरु च्यातिएको त्रिपालले ओडाईएको वासको टहरामा पढ्न बाध्य रहेका छन् । निर्माणाधिन अवस्थामा रहेका विद्यालयको पुननिर्माणको अवस्थाले पनि सुस्तता छाएको छ ।

शुशासन नीति नयाँ नहुदा र पुरानोको पनि कार्यान्वयन नहुदा भदौरेमा पनि कुनैपनि योजनाहरुको सार्वजनिक सुनुवाई नभएको, विद्यालयहरुले गर्नुपर्ने सामाजिक परीक्षण नभएको, योजना निर्माणका कामहरुमा सूचनापाटि नराखेको स्थानीय कृष्ण मगरले बताउनुभयो । विकास निर्माणका सरोकारवालाहरु र सेवा प्रदायक निकायका मानिसहरु नागरिक प्रति जवाफदेही नवन्दा विकास निर्माण लगायतका काममा अनियमितता बढ्न सक्ने भन्दै आफुहरुले चिशंखुगढी गाउँपालिकालाई अनुरोधपत्र बुझाएको साझा सभाका अध्यक्ष लाल कुमार आलेमगरले जानकारी दिनुभयो ।

पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत सोच नेपालको सहयोगमा चिशंखुगढी गाउँपालिकाको वडा नं. ६ भदौरेमा साझासभाको गठन गरिएको यो साझासभा साविकको भदौरे गाविस भरि रहेका नागरिक समाजका संस्थाहरुको साझा र प्रतिनिधी सस्ंस्था रहेको पनि अध्यक्ष मगरले बताउनुभयो । शुशासन नीति निर्माण गरि कार्यान्वयन गर्न, महिलाहरुको आङखस्ने समस्या भएकाहरुको संख्या धेरै भएकाले उनीहरुका लागि गाउँमा नै स्वास्थ्य शिविर राख्ने व्यबस्था गर्न अनुरोधपत्र मार्फत गाउँपालिकासँग अनुरोध गरिएको छ ।

त्यस्तै विद्यालयको शैक्षिक गुणस्तर विकास र सामुदायीक विद्यालयमा विद्यार्थीलाई टिकाई राख्नका लागि गाउँपालिका भरि रहेका सामुदायीक विद्यालयको नियमित अनुगमन गर्ने व्यबस्था गर्नका लागि समेत अनुरोध पत्रमा उल्लेख गरिएको साझा सभाका अध्यक्ष मगरले जानकारी दिनुभयो ।