नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ऋणीको मृत्यु भएपछि बैंकको ऋण मिनाहा

ओखलढुङ्गान्युज, पुष २० ओखलढुङ्गा । व्यावसायीक प्रयोजनका लागि ऋण लिएका ओखलढुङ्गाका एक ऋणीको नै मृत्यु भएपश्चात बैंकले उनको परिवारलाई ऋण मिनाहा गरिदिएको छ । अर्थात ऋणीको नै मृत्यु भएकाले उनको परिवारले बैंकवाट ऋण लिएको रकम तिर्न नपर्ने भएको हो । ऋण मिनाहा सगै मृतकका परिवारलाई किरीया खर्च वापतको रकम समेत उपलब्ध गराईएको छ ।

जिल्लामा रहेको मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय ओखलढुङ्गाले मृतकका परिवारलाई ऋण मिनाहा गरिदिएको हो । बैंकले सिद्धिचरण नगरपालिका वडा नं ४ रुम्जाटारकी ऋणी कमला श्रेष्ठको मृत्यु भएपछि उनका परिवारलाई ऋण मिनाहा गरिदिएको हो ।

व्यवसाय गर्न लिएको ऋण तिर्न नपाउँदै केही समय अगाडी श्रेष्ठको मृत्यु भएको थियो । ऋणीको मृत्यु भएपछि बैंकका सामाजिक उत्तरदायित्व अन्तर्गत उनले लिएको १ लाख ५० हजार रुपैयाँ ऋण मिनाहा गरेको हो । बैंकको समाजिक उत्तरदायीत्व अन्तर्गतको कार्यक्रम भएकोले साँवाब्याज  मिनाहा गरिएको बैंकका साना तथा लघु बैंकिङ डेक्स प्रमुख विकल्प भट्टराईले बताए ।

ऋण लिएपछि मृतक श्रेष्ठले तिरेको ९० हजार ३ सय ३६ रुपैयाँ सावाँब्याज र ५ हजार क्रियाखर्च मृतकका श्रीमान् भीमबहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । उक्त रकमलाई नेपाल पत्रकार महासंघ ओखलढुङ्गाका कार्यबाहक अध्यक्ष शिव ढुंगाना र डेक्स प्रमुख भट्टराईले मृतकका श्रीमानलाई हस्तान्तरण गर्दै फिर्ता गरेका थिए । मृतक श्रेष्ठले बैंकबाट विनाधितो तर्फको कर्जा लिएकी थिइन् ।

यस्तै सोही ठाउँकी अर्की ऋणी कृष्णकुमारी विकका श्रीमान देवकुमार विकको मृत्यु भएपछि बैंकले क्रियाखर्च उपलब्ध गराएको छ । बैंकले क्रियाखर्चवापत ५ हजार रुपैयाँ उपलब्ध गराएको हो । सो रकम पनि पत्रकार महासंघका कार्यबाहक अध्यक्ष ढुंगाना र बैंकका डेक्स प्रमुख भट्टराईले हस्तान्तरण गरेका थिए ।