नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गाको मनोरमस्थल सेप्ली झरना महोत्सब हुने

विवेश श्रेष्ठ, पुष ९, मोलुङ । नेपाल कै अग्लो झरनाहरु मध्ये पर्ने एक झरना ओखलढुङ्गाको सेप्ली झरनामा महोत्सब हुने भएको छ । गुमनाम रहेको झरनालाई प्रचार प्रसार गर्ने, यसको ऐतिहासिकतालाई रक्षा गर्दै पर्यटन प्रबर्धन गर्ने उद्देश्यका साथ गत शनिवार मोलुङ गाउँपालिकाको विस्तारित बैठक पनि झरना स्थलमा नै बसेको छ । मोलुङ गाउँ कार्यपालिकाको विस्तारित बैठकले आगामी २०७६ साल भित्रमा सेप्ली झरना स्थलमा महोत्सव गर्ने पनि निर्णय गरेको हो ।

यो सेप्ली झरना मोलुङ गाउँपालिकाको वडा नं. ७ पात्ले र ८ रागाँदिपको सिमानामा अवस्थित रहेको छ । ओखलढुङ्गामा पोकली र सेप्ली गरि दुई झरना रहेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले महोत्सवको उद्घाटन गरे पश्चात अहिले पोकली झरना चर्चित बन्न थालेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन सुरुवात भएको छ । भौतिक पूर्वाधार विकासका कामहरु पनि निर्माण हुन थालेका छन् । तर सेप्ली झरना भने प्रचार प्रसारको अभावमा गुमनाम रहेको छ ।

संघिय प्रतिनिधी सभाका माननिय सांसद यज्ञराज सुनुवारको विशेष पहलमा सेप्ली झरनाको महोत्सवका लागि तयारी थालिएको हो । महोत्सबको मिति तय गरेर आवश्यक भौतिक पूर्वाधारको विकासका लागि थालनी गर्न गाउँ कार्यपालिकाको बैठकमा संघिय प्रतिनिधी सभाका माननिय सांसद यज्ञराज सुनुवारले आग्रह गर्नुभयो । महोत्सव सञ्चालनका लागि गाउँ पालिकाको तर्फवाट के के गर्न सक्ने सूचि वनाएर कामको थालनी गर्न आग्रह गर्दै गाउँपालिकाको तर्फवाट नसकिने खालको पूर्वाधारको तयारीका लागि आफुले पहल गर्ने बताउनुभयो ।

सांसद सुनुवारले मोलुङ गाउँपालिकाको भूगोलका लागि लक्षित गरेर केन्द्र सरकारवाट १५ करोड विद्युत विस्तारका लागि विनियोजित भै सकेको बताउनुभयो । त्यस्तै गरि सेप्ली झरनामा महोत्सवको तयारीका लागि आवश्यक पूर्वाधारको विकास गर्न सडक सञ्जाल जोड्न, झरनास्थल अगाडी सेल्फी पुल बनाउन र सञ्चारको पहुँच विस्तारका लागि पनि आफुले तत्काल पहल थाल्ने बताउनुभयो ।

बैठकमा कुरा राख्दै सिद्धिचरण नगरपालिकाका नगर प्रमुख मोहन कुमार श्रेष्ठले सेप्ली झरनाको भौतिक पूर्वाधारको विकास गर्दै यसलाई नगरपालिकाको पर्यटकिय स्थलसग जोड्न अनुरोध गर्नुभयो । सिद्धिचरण नगरपालिकाले पनि आफ्नो भूगोलमा पर्यटकको आगमनलाई बढाउने उद्धेश्यका साथ लगलगेमा भ्यू टावर निर्माण सम्पन्न गरिसकेको छ । त्यस्तै सदरमुकाम बजार क्षेत्रको सहिद स्मृति पार्कमा सालिक राख्नेकाम अन्तिम चरणमा पुर्याएको छ । रुम्जाटार एयरपोर्ट नजिकै बौद्ध गुम्बा निर्माणाधिन अवस्थामा छ । नगरपालिकाको उच्च भाग चित्रेडाँडामा समेत भ्यू टावर निर्माण गर्ने योजनाका साथ काम गरिरहेको छ । 

यी निर्माणकार्य सम्पन्न भैसकेका र निर्माणाधीन अवस्थामा रहेका सबै भौतिक पूर्वाधारहरु नगरपालिकामा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन गर्ने लक्ष्यका साथ नै निर्माण गरिएका भौतिक पूर्वाधारहरु हुन् । सेप्ली झरनाको पनि भौतिक पूर्वाधारको विकास गरि प्रचार–प्रसारका साथ नगरपालिकावाट यो नजिकै छ भन्ने अनुभूत गराउदै नगरपालिकाको पर्यटकिय स्थलसग जोड्न सकिएमा यसको भविष्य राम्रो रहेको नगरपालिका प्रमुख श्रेष्ठले बताउनुभयो । मोलुङ गाउँपालिकाको पर्यटकिय क्षेत्रलाई विकास गर्दै छिमेकीहरु सिद्धिचरण नगरपालिका र चम्पादेवी गाउँपालिकासँग जोड्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

यस झरना स्थलमा बनझाक्रीका गुफाहरुको अवलोकन गर्न सकिन्छ । लेकाली वन्यजन्तु तथा चराचुरुङ्गीहरुको आवाज सगै झरनास्थलमा मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ । ठुला ठुला पहाडको बिचमा रहेको यस झरना स्थलमा पुग्न बाटो नभएको भएपनि अहिले भने गाउँपालिकाले मानिस हिड्न सक्नेगरि झरनास्थल सम्म बाटो पुर्याएको छ । यो झरना नजिक भिरमौरीहरुको प्रशस्तै गुडहरु रहेका छन् । झरना स्थल नजिकै रहेर सुनिरहदा झरनावाट बग्ने पानीले फरक फरक खालको आवाज निकाल्ने मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताउनुभयो ।

यस झरनाको पोखरीको भित्तामा एउटा पुर्णिमाको दिनमा मात्रै खुल्ने ढुङ्गाको ढोका रहेको स्थानीय प्रत्यक्षदर्शीहरु बताउछन् । यो ढोका वाट अझैपनि बनझाक्रीहरु भित्र बाहिर गर्ने गरिरहेको उनीहरुको विश्वास छ । छागाको पोखरीमा एउटा ठूलो अजिंगरले सुनजस्तै देखिने पहेलो वस्तुलाई बेरेर बसीरहेको मोलुङ ८का वडा अध्यक्ष हेम बहादुर सुनुवार बताउछन् । त्यो थाहा हुनासाथ पोखरीको अवलोकनका लागि दुई पटक हेलीकप्टर लिएर विदेशीहरु आएको र पोखरीमा परिक्षण गर्ने प्रयास गर्दा आफुहरुले रोकेको अध्यक्ष सुनुवारले बताए ।

हाल सडक पुगेको स्थानवाट झरना स्थल सम्म पुग्न करीब दुई घण्टाको मात्रै पैदल यात्रा गरे पुग्दछ । तर रागादिप माविको केही अगाडी देखी नै खनिएको सडकमा पहिरो खसेर अबरुद्ध हुदा र सडकका ठेकेदारहरुले बेवास्ता गर्दा झरनास्थल सम्म पुग्न केही थोरै कठिन पैदलयात्रा गर्नुपर्दछ । यस स्थानमा कहिलेकाही नेपाल टेलिकमको सिडिएमए टेलिफोन बाहेक कुनैपनि टेलिफोन सञ्चार सम्पर्क हुन्न । खोलामा रहेको काठको जिर्ण पुल प्रयोग गर्नुपर्दछ । सडकको अवलोकन पैदलयात्रा पश्चात सांसद सुनुवारले अबरुद्ध सडकको सञ्चालन र निर्माण कार्यलाई तिब्रता दिनका लागि सडक डिभिजन कार्यालयसँग तत्काल छलफल चलाई काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

महोत्सव कहिले कुन मितिमा सम्पन्न गर्ने भन्ने बारेमा भन्ने महिना र गते नै तय नभएपनि २०७६ साल भित्र महोत्सव आयोजना गर्ने निर्णय भने भएको छ । महोत्सब गर्ने महिना र गते नै भने गाउँ कार्यपालिकाको अर्को बैठकले गर्नेछ । यहाँको प्रचारप्रसार गर्नसके आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनमा तिब्रता आउने कुरामा दुईमत छैन । तर त्यसका लागि यसठाँउसम्म सञ्चार, यातायात र विद्युतको पहुँच विस्तार तत्काल गर्न आवश्यक छ ।