नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

हामी कहिले सम्म पालमुनी पढ्नुपर्ने ?

विवेश श्रेष्ठ, मंशिर २१ ओखलढुङ्गा । ओखलढुङ्गाको चिसंखुगढी गाउँपालीका ५ सेर्ना । मंशिर १८ गते सोच नेपालले ओखलढुङ्गामा सञ्चालन गरेको नागरिक समाज र पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत अनुगमन र साझेदारी मञ्च गठन कार्यक्रममा सहभागी हुदै थिए पत्रकारको टोली । गाउँपालिका प्रमुख निशान्त शर्मा, उपप्रमुख सुष्मिका राई र प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेल गाउँपालिकाको गाडीमा पछाडी हुनुहुन्थ्यो ।

गाडीमा जादै गर्दा नजिकै निर्माणाधिन एउटा ट्रष्ट देखियो, डिल माथिवाट । गोरखापत्रका ओखलढुङ्गा समाचारदाता मनोज भट्टराईले गाडी चालक हेम कटवाललाई गाडी रोक्न आग्रह गरे । यहाँ त अझै भवन निर्माण सम्पन्न भएको रहेनछ । हेरौ न भट्टराईले भने । कान्तिपुर दैनिकका उपसम्पादक कुम्भराज राई र भिजन एफएमका स्टेशन म्यानेजर रविन श्रेष्ठले पनि सहमती जनाए त्यहाँ जान । ट्रष्टको माथिल्लो भागमा सबैको आँखा पर्यो । सगै रहनुभएका नेपान भन्ने संस्थाका क्षमता विकास विज्ञ गोविन्दराज पौडेलले पनि त्यहाँ जान उत्सुकता जनाउनुभयो ।

सडकको किनारामा रहेका केही मानिसहरु आकस्मीक विद्यालय नजिकमा गाडी रोकिदा छक्क परे । सबैजना गाडीमा को को रहेछन् भन्दै हेर्न थाले । हामी गाडीवाट ओर्लियौं र लाग्यौ विद्यालय तर्फ । हामी सबैको हातहातमा रेकर्डर, क्यामेरा र नोटबुक थियो । आकस्मिक क्यामेरा र हातमा डायरी लिएर नयाँ मान्छे विद्यालयमा आउदा उपस्थित भएकाहरुलाई अचम्म लाग्नु अस्वभाविक थिएन । आ–आफ्नो धुनमा भएका शिक्षिकाहरु सबै शतर्क भए । बच्चाहरुलाई हेर्न थाले । बच्चाहरु चौरभरी थिए ।

यो थियो कुशमाण्ड आधारभुत बिद्यालय । त्यतीखेर हाम्रो घडीले विहानको ११ः४० बजेको संकेत गर्दै थियो । बिद्यार्थीहरु विद्यालयको खुला चौरमा छरपष्ट थिए । नजिकै रहेको शिक्षिकाहरुले ‘खै खै नानीहरु कक्षा कोठामा लाग त, बाहिर खेलेर बसीरहनु हुदैन, अब पढ्नुपर्छ’ भन्दै आदेश गर्दै थिए । नानीहरु हामी पटि फर्कदै ट्रष्ट मुनी राखिएका बेञ्चमा र पालमुनी छिर्दै थिए । बच्चाहरु दौडिएर बेञ्चतर्फ गएको देख्दा हामीलाई डर भयो । कतै बच्चाहरु अल्झिएर लडेर चोट त लाग्दैन ?

बच्चाहरु कोही ट्रष्टमनुी बसे । कोही बच्चाहरु पालमुनी पसे । पालमुनी बासको कप्टेराले तीनओटा आधाआधा भाग लगाईएको थियो । त्यहाँ तिनओटा कक्षा सञ्चालन गरिदो रहेछ । पाल भएको अगाडी तर्फ ६÷७ जना बच्चाहरुलाई भुईमा बस्न लगाएर एकजना शिक्षिका पढाउदै गरिएको भेटियो । हामीले सोध्यौ, किन यस्तो जाडोमा पनि खुला ठाउँमा पढाउनुभएको ? शिक्षिकाको जवाफ थियो, ‘भित्र बसेर पढाउन त कक्षा कोठा भए पो !’

भुकम्पले भत्किएको बिद्यालय भवन चार वर्ष लाग्दा सम्म पनि बन्न सकेको छैन । उक्त विद्यालयको ५ कोठे कच्ची भवनलाई भूकम्पले भत्काएको थियो । भवन भूकम्पले भत्काएपछि पुननिर्माण कार्यक्रम अन्तर्गत यस विद्यालयमा पनि भवन निर्माणको योजना भने नपरेको हैन । योजना परेपनि विद्यालयको भवन निर्माण कार्य समयमा नै सम्पन्न हुन नसक्दा बिद्यार्थीहरु जाडो याममा पनि खुल्ला आकास मुनी पढ्न बाध्य भएका हुन् ।

यस कुशमाण्ड आधारभुत विद्यालयमा बालविकास केन्द्र देखी कक्षा ५ सम्म अध्यापन गराईन्छ । यहाँ भुकम्प पछिको पुनःनिर्माणमा ढिलाईहुँदा बिद्यार्थीहरुको बिजोग भएको बिद्यालयकी प्रधानाध्यापक ईन्दिरा भट्टराईले बताउनु भयो । यस विद्यालयमा अहिले ३९ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा २ स्थायी, एकजना राहत, एकजना नीजि श्रोतका शिक्षक र एकजना बालशिक्षा सहयोगी कार्यकर्ता छन् ।

वि.सं. २०६५ सालमा स्थापना भएको बिद्यालयको ५ कोठे भवन २०७२ को भुकम्पमा पुर्णरुपमा भत्कियो । यो विद्यालयवाट गाउँपालिका कार्यालय पुग्न करीब आधाघण्टाको पैदल यात्रा गर्दा पुगिन्छ । पालिका कार्यालयवाट नजिकैको दुरीमा रहेको विद्यालयमा रहेको विद्यार्थीहरुको अवस्थाको बारेमा भने गाउँपालिका अनविज्ञ जस्तै छ ।

शेर्नाको पाखेमा अबस्थित यस कुशमाण्ड आधारभुत बिद्यालयका बालबालीका चार वर्षदेखी त्रिपाल र चौरमा अध्ययन गर्न बाध्य छन् । राष्ट्रिय पुनःनिर्माण प्रधिकरण, जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा ओखलढुङ्गा अन्तर्गत ३० लाख ५७ हजारको बजेट भवन निर्माणका लागि विनियोजित छ । तर उपभोक्ता समितीले गत असारमै भवन निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि हाल सम्म बिद्यालयको ट्रष्टमात्रै हालीएको छ ।

ट्रष्ट ल्याउनका लागी असारमा उदयपुरको लप्सेडाडामा सडक बिग्रेर एक महिना सडक बन्द हुदा ढिलाई भएको प्रधानाध्यापक भट्टराईको भनाई छ । अवको केही महिनामै जस्ता आईपुग्ने र भवन सम्पन्न हुने उहाँको भनाई छ । तर भवन निर्माणमा ढिलाई हुँदा यो साल पनि वालवालीकालाई खुल्ला चौरमा नै पढाउनु पर्ने बाध्यता विद्यालयको छ । बहुकक्षा शिक्षण गर्दा कहिलेकाही ठिकै भएपनि साना कक्षाका विद्यार्थीलाई सिकाउन कठिन हुने गरेको प्रअ भट्टराईको दुखेसो छ ।

विद्यालयको पूननिर्माण समयमा नै हुन नसक्दा ओखलढुङ्गाको दुर्गम गाउँका विद्यालयहरुमा बहुकक्षा शिक्षण गर्नुपर्ने बाध्यता रहेको छ । समस्याका बाबजुद पनि जिल्लाका अधिकाँश बिद्यालयले कुनै समय विद्यालयको चौरमा त कुनै समय बहुकक्षा शिक्षण गराई रहेका छन् । हिउँदमा जाडो र वर्षामा पानीले भिज्नेगरेको हुँदा आफुहरुलाई पढ्न समेत असहज भएको बिद्यार्थीहरुले गुनासो गरे । पत्रकारहरुसग प्रधानाध्यापकले कुरा गरिरहदा एकजना विद्यार्थी दौडदै आएर थरथर काप्दै भने, ‘तपाईहरुले त फोटो खिचेर लानुभयो । अब हामीले कहिलेदेखी नयाँ स्कूलमा पढ्न पाउछौं ?’ सायद उनी चिसोले गर्दा काँपीरहेका थिए । पत्रकार चुपचाप ।

तत्कालीन जिल्ला शिक्षा कार्यालय ओखलढुङ्गाका अनुसार जिल्लाका विभिन्न २ सय ६० विद्यालयको १ हजार ६ सय ९३ कक्षाकोठामा भूकम्पका कारण क्षति पुगेको छ । क्षति भएका विद्यालयहरु मध्ये अहिले सम्म ७० ओटा विद्यालयको २ सय ४३ कक्षा कोठा सम्पन्न भएका छन् भने विभिन्न विद्यालयको ८ सय ४५ कक्षाकोठा निर्माणको चरणमा रहेका छन् ।

निर्माणाधिन विद्यालयको पनि विभिन्न कारण देखाउदै राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्वयन ईकाई शिक्षा ओखलढुङ्गाले गत असार देखी नै बजेट रोक्का गरेको छ । निर्माणाधिन विद्यालयको बजेट रोकिदा समयमा निर्माण कार्य सम्पन्न गर्न समस्या भएको छ । बजेट फुकुवा गरि काम सुचारु गराउन पहल गरिदिनका लागि गत भदौ महिनामा चिशंखुगढी ६ भदौरेमा रहेको साझा सभाका सदस्यहरुले वडा अध्यक्ष मार्फत गाउँपालिकालाई ज्ञापनपत्र समेत बुझाएका थिए । तर त्यसको केही जवाफ आएन ।

त्यस्तै खिजिदेम्बा गाउँपालिका ८ पात्लेका स्थानीयवासीहरुले कार्यक्रम कार्यान्वयन ईकाई शिक्षामा निवेदन दिदा समेत आफुहरुको कारण बजेट नरोकिएकोले त्यसका लागि केही गर्न नसक्ने उत्तर दिएको नेपाल पत्रकार महासंघ ओखलढुङ्गा शाखाका सचिव लाक्पा ग्याल्जे शेर्पाले बताउनुभयो । क्षति भएका विद्यालयको पूननिर्माण हुने पालो कहिले आउने हो टुङ्गो हुन सकेको छैन र यहाँका बाँकी बिद्यालयहरुको पुनःनिर्माण कार्य थालनी नहुँदा अवका कति वर्षसम्म वासको टाट्नो, चित्रा, त्रिपाल र जस्ताको टहरामा बिद्यार्थीले अध्ययन गनुपर्ने हो टुंगो छैन ।