नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

जाउ है लगलगे

विवेश श्रेष्ठ, मंशिर १४ ओखलढुङ्गा ।

वादल लाग्यो लगलगेमा, थामडाडाँमा पानी

जान्छु मात्रै भन कान्छी, हामी सगै जानी

रुमाल फरररर……

लिला श्रेष्ठको स्वरमा रहेको यो गीत ओखलढुङ्गामा निकै चर्चीत छ अहिलेपनि । अब भने यो गीतका भाका भन्दा पनि शब्दहरु नयाँ चयन भएर गितहरु आउनेछन् कलाकारहरुको मुखवाट । साहित्यकारहरुको शब्द सृजना नयाँ हुनेछन् । कारण हो अब सिद्धिचरण नगरपालिका वडा नं. ८को लगलगेमा भ्यू टावर बनेको छ ।

लगलगेमा पानी मात्रै हैन, डाडाँमा गई भ्यू टावरमा चढेर जिल्लाका विभिन्न भूगोलहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । जिल्ला सदरमुकाम, छेवैमा रहेको रुम्जाटार । अनि रुम्जाटार र ओखलढुङ्गा सदरमुकाम माथि विश्वकै सर्बोच्च शिखर सगरमाथा लगायतका हिमशृंखलाहरुको मनोरम दृश्यावलोकन ।

ओखलढुङ्गा जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले आफु निर्वाचित भएको भोलिपल्ट नै उक्त भ्यु टावरको सिलान्यास गर्नुभएको थियो । सिलान्यास सगै उक्त भ्यू टावर एकवर्ष भित्र सम्पन्न गराईसक्ने प्रतिबद्धता पनि मेयर श्रेष्ठले गर्नुभएको थियो । नगरपालिकाका मेयर श्रेष्ठको बाचा करीब १८ महिनामा पुरा हुदैछ । निर्वाचित हुनासाथ गरेको सिलान्यास, अनि प्रतिबद्धता, नगरपालिकालाई समृद्ध बनाउने चाहना । केही ढिलाई भएपनि मेयरको पहिलो प्रतिबद्धता यो भ्यू टावर सम्पन्न भएसगै हुदैछन् ।

नगरपालिकालाई समृद्ध बनाउन अन्य विकास निर्माणको कार्यले मात्रै हुदैन । पर्यटन प्रबद्र्धन गर्न सकियो भने नगरपालिकामा मात्रै हैन जिल्लामा नै आम्दानीको अन्य श्रोतहरु पनि भित्राउन सकिन्छ । नगरपालिका क्षेत्रमा पर्यटकहरुलाई समेत भित्र्याउने उद्धेश्यका साथ यो भ्यू टावर निर्माण भएको हो ।

सिद्धिचरण नगरपालिका वडा नं. ८ मा समुद्री सतहवाट २ हजार ३ सय ७० मिटरको उचाईमा रहेको यस लगलगे डाडाँमा १० मिटर अग्लो भ्यू टावरको निर्माण भएको हो । यो टावर निर्माण कार्यको लागि नगरपालिकाले २३ लाख रुपैयाको बजेट बिनियोजन गरेको नगरपालिकाले जनाएको छ । हरियाली जंगलको बिचमा रहेको यो भ्युटावरबाट अत्यन्तै रमणीय स्थलहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

टावरवाट सगरमाथा, गौरीशंकर, नुम्बुर, ल्होत्से लगायतका दर्जनौ हिमालका टाकुराहरु तथा हिमशृंखला देख्न सकिन्छ । यहाँवाट पूर्वको भनेजपुर जिल्लाको ट्याम्केडाडा, साल्पा सिलिचुङ समेत देख्न सकिन्छ । त्यस्तै मौसम खुलेको समयमा दक्षिण तर्फ तराईका समथर जमिनहरको स्पष्ट रुपमा दृश्यावलोकन गर्न सकिन्छ ।

लगलगे डाडावाट देखिने रमणिय स्थानहरुसगै बशन्त ऋतुका समयमा जंगलमा फुलेको राताम्य लालिगुराँस र सेताम्यै चिमालीहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । वनैभरि चराचुरङ्गीहरुको सुमधुर आवाजहरुको सुन्न पाईन्छ । मुख्य सडक देखी करीब २५ मिजेट उकालो हिडेपछि नगरपालिकाले निर्माण गरेको प्रतिक्षालय सहितको उद्यान्नमा थकाई मार्दै फेरी करीब २५ मिनेटको उकालो चढेपछि मात्रै यहाँ पुग्न सकिन्छ ।

नगरपालिकाले लगलगेको भ्यू टावरवाट अझ टाढाटाढा सम्मको दृश्यलाई अबलोकन गर्नका लागि थप सहयोग पुगोस भनेर दुरविनको व्यबस्था गर्न लागेको नगर प्रमुख मोहन कुमार श्रेष्ठले बताउनुभयो । भ्यू टावरको निर्माण कार्य करिब सम्पन्न भै सकेकोले यही मंशिर महिना भित्र नै त्यसको औपचारिक उद्घाटन गर्ने मेयर श्रेष्ठले जानकारी दिनुभयो ।

भ्यू टावर रहेको स्थानमा गएर बनभोज, मनोरञ्जन गर्न जाने उपयुक्त स्थान हो यो । यहाँ जादा पिउने पानीको भने आपै ब्यबस्थापन गरेर जानुपर्छ । भ्यू टावर निर्माण भए सगै यस आसपासका नागरिकहरुले होम स्टेको लागि पहल थालेका छन् । यो डाँडामा बाह«ै महिना हावा चलिरहन्छ । गर्मी सिजनमा चिसोका लागि पनि यहाँ गएर आनन्द लिन सकिन्छ ।