नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

विपद भनेको राहत भन्ने बुझाई छ, त्यसलाई अन्त्य गरौं ः कानून मन्त्री कार्की

ओखलढुङ्गान्युज, मंशिर ६ ओखलढुङ्गा । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विपद्वाट हुने क्षतिलाई कम गर्न तत्काल योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । प्रदेश नं. १ को स्थानीय तहमा बिपद सचेतना तथा अभिमुखिकरण सम्बन्धी दुई दिवसिय तालिमको उद्घाटन तथा जिल्लाको अनुगमनका लागि ओखलढुङ्गा आईपुग्नु भएका मन्त्री कार्कीले तालिमको विहीवार उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

प्रकोपका दृष्टिले नेपाल बहुजोखिमयुक्त क्षेत्र भएपनि अझ देशका पहाडी क्षेत्र झनै जोखिमयुक्त भएकोले सम्भाबित घटनाको बारेमा पुर्ब तयारी गरिनुपर्ने बताउनु भयो । मन्त्री कार्कीले जोखिम छ भनेर प्रत्येक बर्ष एकै ठाँउमा खर्च गरिरहनु भन्दा बस्ती नै बिस्थापित गर्नुपर्ने भएपनि त्यसतर्फ लाग्नु पर्ने बताउनु भयो ।

पुर्ब तयारी गरियो भने बिपद बाट हुने जोखिमलाई न्युनिकरण गर्न सकिने मन्त्री कार्कीको भनाई छ । उहाँले पछिल्लो समयमा सडक दुर्घटना पनि डर लाग्दो समस्याको रुपमा देखा परेको र यसले अरुले भन्दा बढी धनजनको क्षति गरेको बताउनुभयो । सडक दुर्घटनाबाट हुने क्षतिलाई न्यूनिकरण गर्नपनि सबैले लाग्नुपर्ने मन्त्री कार्कीले बताउनुभयो ।

“बिपद भनेको राहत भन्ने बुझाई छ, बिपद पछि राहत बाड्ने प्रबृति मात्रै छ, तर त्यसलाई अन्त्य गरिनु पर्छ ।” उहाँले भन्नु भयो, “हाम्रो बानी तत्काललाई सोच्ने मात्रै छ, भबिष्यलाई छैन, अब भविष्यको बारेमा पनि सोचेर योजना निर्माण र कार्यान्वयन गरिनुपर्छ ।”

पानी परे पछि मात्रै छाता ओड्ने भन्ने नेपाली उखान जस्तै हाम्रो चलन भएको बताउदै  मन्त्री कार्कीले भन्नुभयो, “बाढि पहिरो गए पछि र आगोलागि भएपछि मात्रै कसरी बच्ने भन्ने सोचाईको अन्त्य हुनुपर्छ ।”

एक फरक प्रशगंमा मन्त्री कार्कीले कर्मचारीलाई राजनीतिक संरक्षण गर्ने कार्य तुरुन्तै रोकिनु पर्ने बताउनुभयो । संघिय सरकारले पनि कर्मचारीलाई केन्द्रमा नै राख्ने र प्रदेश सरकारले चाही नयाँ नियुक्ति गर्दै जाने हो भने त्यसको आर्थिक व्ययभारलाई राज्यले धान्न नसक्ने बताउनुभयो । सत्ता र शक्तिमा रहने पार्टीलाई कर्मचारीहरुले आफ्नो स्वार्थ अनुकुल प्रलोभनमा पारेका कारण स्थानीय सरकारहरुको काममा बाधा आईपरेको भन्दै त्यस्ता कर्मचारीलाई राजनितिक संरक्षण गरिने कार्यको अन्त्य हुनुपर्ने बताउनु भएको हो ।

यो तालिम पश्चात विपद व्यबस्थापन सम्बन्धिको योजना तथा कार्यक्रम ओखलढुङ्गाबाट नै निर्माण गरि आगामी आर्थिक बर्ष देखी विपद व्यबस्थापन सम्बन्धी नयाँ योजना कार्यान्वयन ओखलढुङ्गाबाट नै सुरुवात गरिने पनि मन्त्री कार्कीले बताउनु भयो ।

यस्तै सांसद बुद्धिकुमार राजभण्डारीले बिपद नियन्त्रण र व्यवस्थापन गर्न सक्षम हुने कानुन बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले एक नम्बर प्रदेशलाई एक नम्बर नै बनाउन सबैमा आग्रह गर्दै अब प्रदेश सरकारले बनाउने कानुनमा विपदवाट हुने जोखिमलाई कम गर्न के कस्ता विषयहरु समेट्नुपर्छ भनेर सुझाव लिनका लागि पनि यो तालिमको आयोजना गरिएको बताउनुभयो ।

यस्तै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बिपदमा परेका हरेक नागरिकलाई पुर्नस्थापित देखी व्यवस्थापन सम्मको कार्यमा सरकार लाग्नु पर्दा खर्चमात्रै बढि रहेकोले विपदलाई कसरी कमगर्न सकिन्छ भनेर पुर्व तयारीको योजना हुनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले विपद् पूर्व तयारीमा सबैको जिम्मेवारी हुने बताउदै तालिममा सहभागी तिनै जिल्लाका सहभागीहरुले एउटा संयुक्त कार्ययोजना बनाई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । एक जिल्लामा विपद आईपर्दा तिनै जिल्लामा समेत असर गर्नसक्ने बताउदै तिनओटै जिल्ला एकआपसमा अन्तर सम्बन्धित जिल्ला भएकोले संयुक्त कार्ययोजना बनाई अघि बढ्नु पर्नेमा जोड दिनुभएको हो ।

उद्घाटन शत्र कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की मन्त्रालयका मुख्य सचिव गोपाल प्रसाद पराजुलि, प्रदेश सभाका सांसदहरु बुद्धिकुमार राजभण्डारी, बिमल कार्की, प्रदेश नं १ का मुख्य न्यायधिबक्ता चुडामणी अधिकारी, बरिष्ठ प्रहरी उपरिक्षक किशोर कुमार दाहाल लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

तालिममा ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, तिनोटै जिल्लाका नगरपालिका तथा गाउँपालिकाका मुख्य प्रशासकिय अधिकृत, योजना अधिकृतहरु, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधीहरु, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीका प्रतिनिधी गरि करीब ४५ जनाले दुइदिने तालिममा सहभागीता जनाई रहेका छन् ।