नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

विव्यसको अध्यक्षलाई कुट्ने शिक्षिकाले बुझाईन अध्यक्षलाई क्षतिपुर्ति

ओखलढुङ्गान्युज, कात्तिक ११ ओखलढुङ्गा । ओखलढुङ्गाको एक बिद्यालयमा शिक्षिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गरेवापत क्षतिपुर्ति बापतको रकम तिर्नु परेको छ । आफ्नै विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्षलाई विना कारण कुटपिट गरेका कारण क्षतिपूर्ति तिर्नुपरेको हो ।

जिल्लाको सुनकोसी गाउँपालिका वडा नं. ३, साविकको सिस्नेरी गाविसमा रहेको कालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका देवकुमारी कट्वाल खड्काले आफ्नै स्कूलका विव्यास अध्यक्ष नवराज खड्कालाई कुटपीट गरेका थिए । शारीरिक रुपले अपांगता रहेका खड्का शिक्षिकाको कुटाईबाट घाईते भएका थिए । बिहिबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेको कार्यकक्षमा भएको छलफलमा शिक्षिकाले उपचार खर्च बापतको बिलभरपाई तिर्ने सहमती भएको जनाईएको छ ।

शिक्षिका देवकुमारीले क्षतिपूर्ति वापत् ४ हजार २ सय रुपैया दिने सहमति भएको पीडित खड्काले बताए । साथै बिद्यालयका प्रधानाध्यापकलाई पदबाट राजिनामा गराउन प्रकृया अगाडी बढाउने समेतको सहमती भएको छ ।

शिक्षिका खड्काले विद्यालयमा पर्व विदा लगायतका विषयमा निर्णय गर्न बैठक बोलाउन माग गर्दा विद्यालयका प्रधानाध्यापक शिव दाहालले विद्यालयमा सहायक प्रधानाध्यापक भए पनि कट्वाललाई निमित्त दिएर हिडेपछि विवाद शुरु भएको थियो । प्रअ दाहाल हिडेपछि निमित्त पाएकी कट्वालले समेत बैठकको निर्णय पुस्तिका व्यबस्थापन समितिका अध्यक्षलाई नै नदिदा विवाद भएको थियो । त्यही विवादमा १५ दिन पहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खड्कामाथि कुटपीट गरेका थिए ।

घटनापछि दुवै पक्षले प्रहरी कार्यालयमा उजुरी गरेपछि छलफल हुँदा समेत सहमति भएन । प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेको उपस्थितिमा भएको छलफलमा भने शिक्षिकाले उपचार खर्च व्यहोर्ने, हालको प्रअ हटाएर नयाँ प्रअ चयन गर्ने बिषयमा सहमति भएको छ । दुवै पक्ष छलफल पछि सहमत भएको प्रजिअ न्यौपानेले बताउनुभयो ।