नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

प्रहरीसँग हाम्रो सम्बन्ध जेरीको जस्तो हुनुपर्छ ः जिसस प्रमुख श्रेष्ठ

ओखलढुङ्गान्युज, कार्तिक ११ ओखलढुङ्गा । जिल्ला समन्वय समितिका ओखलढुङ्गा प्रमुख जयवहादुर श्रेष्ठले नागरिकहरुले प्रहरी सग हातेमालो गरेर अगाडी बढे समाज अपराध मुक्त हुने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयोजनमा र प्रहरी प्रधान कार्यालय काठमाण्डौको आयोजनामा आज जिल्ला समन्वय समितिको सभाहल ओखलढुङ्गामा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा ‘हर प्रहर, गाउँ र नगर, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमको आज ओखलढुङ्गामा उद्घाटन गरिएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रेष्ठले एकले अर्कालाई, अर्काले अर्कालाई समातेको गुलियो खानेकुरा जेरीको उदाहरण दिदै समाजमा नागरिक, नागरिक समाज, प्रहरी र सबै क्षेत्रका व्यक्तित्वहरुको सम्बन्ध त्यस्तै हुनुपर्ने बताउनुभएको थियो ।

शिक्षित समाज भए र प्रहरीले गर्ने ब्यबहार तथा नागरिकहरुले आफ्नो कर्तव्यको बारेमा आत्मबोध गरे त्यसैपनि समाजमा अपराध जन्य घटनमा ५० प्रतिशतले कमी आउने बताउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख श्रेष्ठले नागरिकहरुले प्रहरीसग समन्वय र सहकार्य गरि समाजलाइृ अपराध मुक्त समाज निर्माण गर्न सबै लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।

त्यस्तै निर्वाचित जनप्रतिनिधीहरुको तर्फबाट प्रहरीको उक्त कार्यक्रम प्रति सिद्धिचरण नगरपालिकाका उप प्रमुख ईच्छा कुमारी गुरुङले ऐक्यबद्धता जनाउनु भएको थियो । सम्बोधनका क्रममा ऐक्यवद्धता जनाउदै नगरपालिकाका उपप्रमुख गुरुङले विगतका दिनरुमा काम पर्दा नागरिकहले खोजी खोजी प्रहरीलाइृ चिन्नु पर्ने बाध्यता रहेकोमा अव प्रहरीले नागरिक चिन्ने कार्यक्रमको सुरुवात भएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । उपप्रमुख गुरुङले कार्यक्रममा प्रहरी नायव उपरिक्षकले प्रस्तुत गर्नुभएको कार्यक्रमको योजनाहरु सफलता पूर्वक लागू भएमा स्थानीय स्तरमा रहेका अपराधी मानसिकता भएका मानिसको मनोवल कमजोर हुने भन्दै कार्यक्रम अपराध नियन्त्रणका लागि प्रभावकारी हुने समेत बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले प्रहरी, स्थानीय तह र नागरिकहरु बीचको समन्वयको आवश्यकता र औचित्य माथि प्रकाश पार्दै ओखलढुङ्गा र देशभर नै आपराधिक कृयाकलापमा संलग्नहरुको उमेर समूह, संलग्नहरुको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । प्रहरी नायव उपरिक्षक शर्माले ती अपराधिक गतिविधीमा संलग्न हुन सक्ने अवस्था तथा उमेरका मानिसहरुलाई कसरी कमगर्न सकिन्छ र समाजलाई अपाध मुक्त समाज निर्माण गर्न सकिन्छ भन्ने बारेमा पनि प्रश्ट पार्नुभएको थियो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले विगतका दिनहरुमा पनि जिल्लामा रहेका नागरिक समाज, राजनितिक दल, पत्रकारहरुले जिल्लामा सुरक्षा व्यबस्थालाई चुस्त बनाई राख्न महत्वपूर्ण भुमिका खेलेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । विगतका दिनहरुको सहकार्य र सहयोगका लागि सबैलाई धन्यवाद दिदै प्रजिअ न्यौपानेले आगामी दिनहरुमा पनि यस्तै समन्वय र सहकार्यको अपेक्षा लिएको बताउनुभएको थियो ।

समुदायमा प्रहरी कार्यक्रम आजबाटै देशैभर लागू हुनेछ । कार्यक्रम कार्यान्वयनको क्रममा देशभर विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संघसंस्थाहरु, नागरिक समाज, शिक्षक, विद्यार्थी, निर्वाचित जनप्रतिनिधीहरु सहभागी हुनेछन् । कार्यक्रम कार्यान्वयनको लागि राष्ट्रिय स्तरको सञ्जाल देखी नगर तथा गाउँपालिकाका प्रत्येक वडाका वडा सदस्यहरुको संयोजकत्वमा समेत विभिन्न समूहहरुको निर्माण गरिने कार्ययोजनामा उल्लेख छ ।

कार्यक्रमको हलमा तयार गरिएको गमलामा पानी हालेर जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठले कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रहरी र स्थानीय तह बीचमा मिलेर सहकार्यमा के के कार्यक्रम सञ्चालन गर्ने भन्नेबारेमा ओखलढुङ्गाका ६ ओटा स्थानीय तहका प्रमुखहरुसँग सम्झौता समेत भएको छ । सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ अन्तरदेशिय यात्राको क्रममा र चम्पादेवी गाउँपालिकाका प्रमुख नवराज केसीको पारिवारीक कामका सन्दर्भमा जिल्ला बाहिर रहनुभएकाले दुई स्थानीय तहबिच चाही सम्झौता पत्रमा हस्ताक्षर हुन सकेको छैन ।

कार्यक्रममा जिल्लाका तिनओटै सुरक्षा निकाय, आठओटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधीहरु, सञ्चारकर्मीहरु, महिला सञ्जालका प्रतिनिधीहरु, शिक्षक तथा विद्यार्थीहरुको समेत उल्लेख्यमात्रामा उपस्थिती रहेको थियो । कार्यक्रम दिउसो ३ बजेवाट हुने भनिएपनि कार्यक्रम जुधेका कारण ढिला गरि जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।