नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गाको लिखु गाउँपालिकामा एसबिआई बैंक

ओखलढुङ्गान्युज, असोज ६ ओखलढुङ्गा । ओखलढुङ्गामा एसविआई बैंकले शाखा विस्तार गरेको छ । जिल्लाको लिखु गाउँपालिकामा नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गरेको हो । बैंकले आफ्नो सेवा विस्तार गरेसगै स्थानीय तहमा जाने ओखलढुङ्गामा नेपा एसविआई तेश्रो बैंक बनेको छ ।

गाउँपालिकाको कार्यालय रहेको स्थान यसममा बैंकले आफ्नो सेवा विस्तार गरेको हो । लिखु गाउँपालिकामा सबै सरकारी कामकाजको समेत अख्तियारी पाएको बैंकको शाखा शनिबार ओखलढुङ्गाका संघीय सांसद यज्ञराज सुनुवारले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद यज्ञराज सुनुवारले जिल्लाको दुर्गम स्थानमा भएका कारण अबका दिनमा आर्थिक कारोबार गर्नका निम्ति ३ जिल्ला घुमेर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।

ग्रामीण क्षेत्रका ग्राहकहरूलाई सहज रूपमा बैंकिङ्ग सेवा पुर्या उने उद्देश्यले शाखा विस्तार गरिएको बैंकका शाखा म्यानेजर राम गुरुङले जानकारी दिनुभयो । बैंकको यसम शाखाबाट अबका दिनमा लिखु गाउँपालिकामा हुने सबै कारोबार नेपाल एसबिआई बैंक लिमिटेडबाटै हुने गाउँपालिकाले जनाएको छ ।

यसअघि मानेभञ्ज्याङ्ग गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक, मोलुङ गाउँपालिकामा सनराइज बैंक र खिजिदेम्वा गाउँपालिकामा मेगा बैंकले आफ्नो शाखा विस्तार गरिसकेका छन् । जिल्लाका चम्पादेवी, सुनकोशी र चिशंखुगढीमा भने अझैपनि बैँक पुग्न सकेका छैनन् । चम्पादेवी गाउँपालिकामा भने कृषि विकास बैंकको शाखा विस्तारका लागि तयारी भइसकेको गाउँपालिकाले जनाएको छ । बैंकको व्यबस्थापनका लागि सबै पूर्वाधार तयार भैसकेको र कारोबार मात्रै सञ्चालन गर्न बाकी रहेको चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शुरेश कुमार थापाले जानकारी दिनुभयो ।

स्थानीय तहको संरचना निर्माण भै सकेपछि पनि गाउँमा बैंक नजादा बैंक तथा वित्त सम्बन्धि सम्पुर्ण कारोवार गर्न दुईदिन लगाएर जिल्ला सदरमुकाम नै धाउनुपर्ने स्थानीयहरुको बाध्यता थियो । बैंकले शाखा विस्तार गरे सगै लिखु गाउँपालिकाका नागरिकहरुले त्यो समस्यावाट मुक्ति पाउने अपेक्षा गरेका छन् । गाउँमा नै बैकको स्थापना भएपछि स्थानीय नागरिकहरु खुशी भएका छन् ।