नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा सवारी साधन ठप्प

विवेश श्रेष्ठ, असोज ३ ओखलढुङ्गा । सवारी चालकहरुको आन्दोलनको कारण ओखलढुङ्गामा सवारी आवत जावत ठप्प भएको छ । चालकहरुको आन्दोलनको कारण सोलुखुम्बु तथा ओखलढुंगावाट राजधानी जाने तथा आउने साना ठुला सबै सवारी साधन ठप्प भएको छ । सवारी साधन लाई बन्द गरि सवारी चालकहरु सडकमा बसेका छन् । जिल्लाका मिलनचोक ट्राफिक प्रहरी विटवाट ५० मिटर नजिकै सवारीसाधन राखी आन्दोलनकारी सवारी चालकहरु सडकमा बसेका छन् ।

चालकहरुको पुर्व घोषित कार्यक्रम अनुसार नै बन्द गरिएको आन्दोलनकारी चालक रमेश श्रेष्ठले बताए । करिब तीन दर्जनको संख्यामा रहेका आन्दोलनकारीहरुले सडकमै खाजाको व्यवस्था गरेका छन् । विरामी बोकेका सवारी साधन तथा एम्बुलेन्स र पर्यटकको गाडीलाई भने आवत जावत गर्न दिईएको छ । आन्दोलनको विपक्षमा रहेका कतिपय सवारीसाधनहरुलाई वाटैमा रोकिएको छ भने केही सवारी चालकहरुले आन्दोलनका क्रममा गाडी बन्द नै गर्ने कुरा थाहा नपाएको बताएका छन् । आन्दोलनको बारेमा जानकारी भएर पनि टिकट कटाई गाडीमा पठाएर आफुहरुलाई बिच बाटोमा नै बिचल्लीमा पारेको यात्रीहरुले आरोप लगाएका छन् ।

आन्दोलनमा रहेका सवारी चालकहरूले विहानै देखि बन्द भनेपनि विहान ओखलढुङ्गावाट काठमाडौंका लागि सवारी साधन छुटेका थिए । विहान करिब ११ बजेतिर विवाद भएपछि भने यो समाचार तयार गर्दा सम्म एम्बुलेन्स र मोटरसाइकल बाहेक सबै सवारीसाधन आवागमनमा ठप्प पारेका छन् । केही सवारी साधनलाई नेपाल प्रहरी र शशस्त्र प्रहरीको टोलीले स्कटिङ गरेर सवारीसाधन पास गरेपनि अहिले भने स्कटिङमा पनि सवारी चलाउन दिईएको छैन । त्यसपछी दुवै प्रहरी टोली फर्किएर मिलनचोक प्रहरी विटमा रहेको थियो ।

आफुहरुको माग पूरा नभए सम्म आन्दोलन जारी राख्ने आन्दोलनरत सवारी चालकहरुले बताएका छन् । आन्दोलनको कारण ओखलढुङ्गावाट काठमाडौं तर्फ तरकारी बोकेर गएको गाडी पनि सडकमा नै अलपत्र परेको छ । तरकारी बोकेका सवारी चालकहरुले भने ओखलढुङ्गा प्रशासन चुप बसेकामा अचम्म माने । “तरकारी बोकेका गाडीहरु अरु बन्दमा चलाउन पाईन्थ्यो तर आज त पाईएन, काठमाडौं लैजाने भनेर विगुटार, जन्तरखानीवाट लोड गरेको तरकारी विग्रिने भयो ।” तरकारीको ढुवानी गरेका ठेकेदार रामेछापका कृष्ण कार्कीले भने, “नेपालमा नै त केही गरेर पनि खान नसकिने भैयो ।”

भदौ १ देखि लागू भएको मुलुकी संहिता एेनको परिच्छेद ५ को दफा ६३ मा रहेको परिचालक अनुमतीपत्र, परिच्छेद १० को सजाय सम्बन्धि व्यवस्थामा रहेको दफा १६१ र १६२ नम्बरमा रहेको सवारी चालकलाई हुने सजाय सम्बन्धि ब्यबस्था तथा परिच्छेद १० कै दफा १६४ को (ञ) मा सवारी चालकलाई हुने कार्वाही सम्बन्धि बुदाको संसोधनको माग गर्दै मुलुकी संहिता लागू भएदेखि नै सवारी चालकहरु आन्दोलन गर्दै आएका छन् ।