नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सिद्धिचरण नगरपालिका पनि अनिवार्य आधारभूत शिक्षा सुनिश्चित नगरपालिका

ओखलढुङ्गान्युज, असोज १ ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकालाई पनि अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । आईतवार नगरपालिकाको सभाहलमा भएको एक औपचारिक कार्यक्रमका बिच नगरपालिकालाई पनि अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

सिद्धिचरण नगरपालिकाभित्र ५ वर्ष देखी १२ वर्ष उमेर समूहसम्मका सबै बालबालिका विद्यालयमा भर्ना भएपछि अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता नगरपालिका घोषणा गरिएको नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिका क्षेत्रमा अब विद्यालय बाहिर कुनै बालबालिका नरहेपनि उनीहरुलाई विद्यालयमा टिकाइ राख्न चाँही चुनौति भएको पनि नगरप्रमुख श्रेष्ठले बताउनुभयो । विद्यालयमा भर्ना गरिएका सबै बालबालिकालाई विद्यालयमा टिकाएर सिकाउन सबैले सहयोग गर्न आग्रह गर्दै शिक्षकहरु सुध्रिने र परिवर्तिन परिवेश अनुसार अध्यावधिक भएर शिक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

नगर क्षेत्रभित्रका ५–१२ उमेर समुहका ४ हजार ५ सय ९९ बालबालिका विद्यालयमा भर्ना भएको नगरपालिकाको शिक्षा ईकाईको तथ्यांकमा छ । तथ्यांक सार्बजनिक गर्दै अब नगरपालिकाका १२ वटा वडामा एक जना पनि ५–१२ उमेर समुहका बालबालिका विद्यालय बाहिर नरहेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख फडिन्द्र कट्वालले बताउनुभयो । नेपाल सरकारले वैशाखमा पहिलो चरण र जेष्ठमा दोस्रो चरणको राष्ट्रिय भर्ना अभियान चलाएको थियो । यो अभियानको दोस्रो चरणमा सिद्धिचरण नगरपालिका भित्र १६ जना विद्यार्थी मात्र भर्ना भएका थिए । अन्य विद्यार्थीहरु पहिलो चरणमै भर्ना भइसकेको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता नगरपालिका घोषणा कार्यक्रमलाई नगरपालिका क्षेत्रभित्रका विभिन्न राजनैतिकदलका प्रमुख तथा प्रतिनीधी, शिक्षक, शिक्षक अविभावक संघका अध्यक्ष, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष, श्रोत व्यक्तिहरुले समेत सम्बोधन गरेका थिए । यही भदौ मसान्त सम्म देशैभर यस उमेर समूहका विद्यार्थी भर्नादर सुन्य भएको घोषणा गर्ने नेपाल सरकारको कार्यक्रम अनुसार ओखलढुङ्गामा पनि भदौ पहिलो हप्तादेखी दोश्रो विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन भएको थियो । तर भदौ मसान्त अर्थात ३१ गते सम्म ओखलढुङ्गामा नगरपालिका सहित दुई स्थानीय तहले मात्रै अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता पालिका घोषणा गरेको सार्बजनिक भएको छ ।