नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

ओखलढुङ्गामा पनि रोपाई जात्रा भव्य रुपमा

ओखलढुङ्गान्युज, भदौ १३ ओखलढुङ्गा । आज ओखलढुङ्गामा पनि भव्य रुपमा रोपाई जात्रा मनाईएको छ । दिउसो १ बजे देखी वर्षातका कारण कार्यक्रमलाई केही असर गरेपनि टाढाटाढा वाट रोपाई जात्रा हेर्न आएका दर्शकहरुले ओखलढुङ्गा सदरमुकाम बजार भरिएको थियो । जात्रामा सदरमुकामका र विभिन्न पेशा तथा व्यबसाय गरि ओखलढुङ्गामा रहेका मानिसहरुले विभिन्न भेषभूषामा सजिएर आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।

विशेष गरि यो रोपाईं जात्रा असारको महिनाको रोपाइ सकेपछी मनाइन्छ । यो जात्राको परम्परा नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइने गरिन्छ । यो जात्रामा वर्षातको समयमा रोपाईमा धान रोपे झैं गरी नाच्ने, गाउने गरिन्छ । रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ) मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन् ।

रोपाईं जात्रालाई कर्णाली अञ्चलका जिल्लाहरूमा भने चोपाइ भनिन्छ । यहाँको चलन अनुशार चोपाइ एक प्रथा हो । चोपाइ प्रथामा रोपाईं जात्रा जस्तै जात्रा गरिन्छ । खास गरेर जुम्ला जिल्लामा रोपाईं जात्रालाई चोपाइ भनिन्छ । यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ । जस्को घरमा विवाह भएको छ, अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाईंजात्रा गरिन्छ । चोपाइ गराउने व्यक्तीले आफ्नो खेतको रोपाईंको दिन गाउँका सबै मान्छेलाई बोलाउनु पर्छ ।

नेपालको मध्य तथा पश्चिममा रोपाईं गर्दा खेतको वीच गरामा पुल्ती राखिन्छ । पुल्तीलाई कतै कोठा भनिन्छ, कतै भकारी भनिन्छ र कतै पोको भनेको पनि सुनिन्छ । रोपाईं जात्रामा पुल्तीको ठुलो महत्व हुन्छ । खास गरेर पुल्ती रोपाईं गर्नेका चेलीहरूले राख्ने प्रचलन छ ।

जुम्लामा चोपाइ गर्नेको खेतमा पुल्ती राखे पछि नव विवाहीत वर वधु तथा नवजात शिशुलाई पुल्तीको परिक्रमा गराइन्छ । त्यसपछि तिनलाई अक्षेता र दुबो लगाएर बाहिर पठाइन्छ । त्यसपछि पुल्ती राख्ने चेलीले दुबैहातमा बिउ लगेर पुल्ती वरीपरि नगराको तालसँगै नाचेर चोपाइको लागी नव विवाहीत दुलाहाको बुवा अथवा नवजात शिशुको बाबुलाई आमन्त्रण गर्छन् । चोपाइको आमन्त्रण गर्ने बेलामा असारेगित गाउँछन् । यसरी चोपाइको आमन्त्रण पाएपछि गाउँका तन्नेरीहरूले दुलहाको बाबु अथवा नवजात शिशुको बाबुलाई हिलोमा डुबाउछन् ।

प्राय रोपाईं जात्रामा रोपाईंको मालिकलाई हिलोमा डुबाउनु पर्छ भन्ने सबै तिर प्रचलन छ । रोपाईंजात्रा नेपालका विशेष गरेर सबै पश्चिमी जिल्लाहरूमा मनाइन्छ । रोपाई जात्रालाई मनाउने तरिका भने फरक फरक स्थान अनुसार फरक फरक हुने गरेको पाइएको छ । विगतका वर्षहरुमा ओखलढुङ्गामा पनि रोपाई जात्राको भिन्दै खालको माहौल हुने गर्दथ्यो । विगतका वर्षहरुमा झै यस वर्ष भने वर्षातले साथ नदिदा सोचे जस्तो र दर्शकहरुले अपेक्षा गरेजस्तो रौनक भने देखीएन ।

राेपाइ जात्राकाे केही झलकहरु :