नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गाको झण्डै ६६ करोड बजेट फ्रिज

ओखलढुङ्गान्युज साउन २३ ओखलढुङ्गा ।  विकास निर्माणका लािग ओखलढुङ्गामा आएको बजेट समयमै खर्च हुन नसक्दा अधिकांश विकासे कार्यालयका करीब ६६ करोड बजेट फ्रिज भएको छ । गत आर्थिक वर्ष २०७४/७५ का लागि ओखलढुङ्गामा आएका विभिन्न सरकारी कार्यालयबाट ६५ करोड ९४ लाख ५५ हजार २ सय ३०  रुपैयाँ विकास बजेट फिर्ता भएको छ ।

पुँजीगत तर्फको जम्मा बजेट २ अर्ब १२ करोड ३८ लाख ६७ हजारमध्ये १ अर्ब ४६ करोड ४४ लाख ११ हजार ७ सय ७० मात्र खर्च भएको छ । समयमा बजेट खर्च हुन नसक्दा बजेट फिर्ता भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय ओखलढुङ्गाले जनाएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार ८ स्थानीय तहसहित ५४ वटा विकासे कार्यालय मध्ये अधिकांश विकासे कार्यालयका बजेट फिर्ता भएका हुन् ।

स्थानीय तहको फिर्ता भएको भनिएको बजेट भने स्थानीय सञ्चित कोषमै जम्मा हुने प्रावधान छ । अन्य कार्यालयको हकमा भने संघीय सञ्चित कोषमै बजेट फिर्ता हुने कोष तथा लेखा नियन्त्रक कार्यालय ओखलढुङ्गाका प्रमुख विष्णु दाहालले जानकारी दिनुभयो ।

पुँजीगततर्फ डिभिजन सडक कार्यालयको गत वर्ष ५८ करोड ७८ लाख ५० हजार बजेट रहेकामा ४४ करोड ५६ लाख ५७ हजार ५ सय ६६ मात्र खर्च हुदा करीब १४ करोड फिर्ता भएको छ ।

स्थानीय तहहरूमा सिद्धिचरण नगरपालिकाको पुँजीगततर्फ १ करोड १४ लाख हजार रहेकामा ३४ लाख ६० हजार ३ सय ७५ मात्र खर्च भएको देखिएको छ । त्यसैगरी मोलुङ गाउँपालिकामा ३८ लाख ६० हजारमध्ये १० लाख ७६ हजार ८ सय ७६ मात्र खर्च भएको छ । सुनकोसी गाउँपालिकामा ३ करोड बजेट भए पनि ४० लाख २६ हजार १ सय ३९ मात्र खर्च भएको देखिन्छ । चिशंखुगढी गाउँपालिकाले २६ लाख बजेटमध्ये १४ लाख ३० हजार ४ सय ४८ खर्च गरेको छ ।

त्यस्तै, लिखु गाउँपालिकाले १ करोड ९० लाख २९ हजारमध्ये १८ लाख ७० हजार ७ सय १० रुपैयाँ मात्र खर्च गरेको छ । चम्पादेवी गाउँपालिकाले भने ३ करोड ३ लाख १० हजारमध्ये ८७ लाख १३ हजार खर्च गरेको देखिएको छ । खिजीदेम्बा गाउँपालिकाले भने आफ्नो खातामा आएको सबै रकम खर्च गरेको छ । मानेभञ्ज्याङ गाउँपालिकाले ६५ लाख ५० हजारमध्ये १८ लाख १४ हजार ७ सय ६५ खर्च गरेको छ ।

त्यसैगरि जिल्लामा विकास निर्माणका लागि दातृ निकाय मार्फत प्राप्त बजेट खर्च भए पनि जानकारी नआएसम्म फिर्ता हुने शीर्षकमै राखिने कोलेनिकाले जनाएको छ ।