नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा साढे ४३ लाख राजश्व स‌ङ्कलन

विवेश श्रेष्ठ, साउन १३ ओखलढुङ्गा । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले गत आर्थिक वर्ष २०७४/७५ मा करीब साढे ४३ लाख रुपैया राजश्व रकम संकलन गरेको छ । गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले विभिन्न शीर्षकमा गरि ४३ लाख ४७ हजार ४८ रुपैया राजश्व वापतको रकम संकलन गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा मार्फत उठ्दै आएको राजश्वमा गत वर्षको तुलनामा आर्थिक वर्ष २०७४/७५ मा झण्डै आधाले राजश्व संकलनमा कमी आएको छ । वेरोजगार युवाहरुका लागि भत्ता दिने सरकारी कार्यक्रम, युवलाई स्वदेशमा नै राखी देशविकासमा लगाउने सरकारी योजनाका कारण पनि पासपोर्ट बनाउनेको संख्यामा कमी आउदा ओखलढुङ्गा जिल्ला प्रशासनको विगतका वर्षहरुभन्दा यस गत आ.व. मा राजश्व संकलनमा कमी आएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्त बताउनुहुन्छ ।

प्रमुख जिल्ला अधिकारी पन्तले भन्नुभयो, “सरकारले नै वेरोजगार युवालाई भत्ता दिने कार्यक्रम पनि ल्याई रहेको छ । युवा लक्षित स्वरोजगारका कार्यक्रमहरु पनि चलि रहेका छन् । विगतका वर्षहरुमा भन्दा पछिल्ला वर्षहरुमा बैदेशिक रोजगारका अवसर पनि कम हुने र ज्याला पनि कम हुन थालेकोले युवा विदेश पलायन हुनमा कमी आएको छ । त्यस कारणले पनि राजश्वमा कमी आएको हो ।” प्रजिअ पन्तले भन्नुभयो, “अर्को कुरा राहदानी बनाउनेहरुले पनि द्रुत प्रकृया रोज्छन् । यहाँ सिफारिस लिन्छन्, काठमाण्डौ गएर राहदानी बनाउछन् । राजश्व संकलनमा कमी आउनुको कारण त्यो पनि हो ।”

कार्यालयले राहदानी, संस्था दर्ता, दण्ड जरीवाना लगायतका सबै शीर्षकमा उठाउदै आएको राजश्वमा पछिल्लो बर्षहरुमा कमि आएको हो । कार्यालयले उठाउदै आएको राजश्वमा कमी आउनुको प्रमुख कारण राहदानी अर्थात पासपोर्ट नै रहेको कार्यालयका लेखापाल राजेन्द्र राई बताउनुहुन्छ । पछिल्ला बर्षहरुमा ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिन ढिला र दोहोर्याएर जिल्ला सदरमुकाम आउनु पर्ने झण्झटका कारण काठमाण्डौमा नै दोब्बर दस्तुर तिरेर राहदानी लिनेहरुको संख्या बढेको छ ।

कार्यालयले सबैभन्दा बढी राहदानी बाटै राजश्व संकलन गर्र्दै आएको छ । आर्थीक बर्ष २०७४/७५ को एकवर्षको अवधीमा संकलन भएको ४३ लाख ४७ हजार ४८ रुपैया राजश्वमा पनि सबैभन्दा बढि राहदानी शीर्षकवाट नै जम्मा भएको छ । राहदानी शीर्षकमा ४० लाख ६५ हजार संकलन भएको छ ।

त्यस्तै संस्था दर्ताबाट १ लाख १२ हजार १ सय, दण्ड जरीवानामा शिर्षकमा १ लाख ३५ हजार ५०, हात हतियार नवीकरण शिर्षकमा ६ हजार, परीक्षा दस्तूरमा ५ हजार २ सय संकलन भएको छ । त्यस्तै बेरुजु शिर्षकमा भने २३ हजार ६ सय ९८ रुपैया संकलन भएको तथ्याकंमा उल्लेख छ ।

यस तथ्यांकलाई हेर्दा जिल्ला प्रशासन कार्यलयले सबैभन्दा बढी राहदानी शीर्षकमा जै राजश्व रकम बढी उठाउने गरेको छ । तर पछिल्लो समय यसमा पनि कमी आएको छ । अघिल्लो आर्थीक बर्षमा जिल्ला प्रशासन कार्यालयले ७६ लाख ६८ हजार ५ सय १५ रुपैया राजश्व संकलन गरेको थियो । यसको तुलनामा यस आर्थिक बर्षको राजश्व रकम झन्डै आधाले कमी हो । जिल्लाका नागरिकहरुले बनाउने राहदानीलाई जिल्ला वाट नै द्रुत गतिमा सेवाग्राहीलाई उपलब्ध गराउन सके पुन राजश्व संकलन बढ्ने कुरा सरोकारवालाहरु बताउछन् ।