नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

साबधान ! ओखलढुङ्गामा भुस्याहा कुकुरको आतंक, एन्टिरेविज भ्याक्सिन छैन

ओखलढुङ्गान्युज, साउन ९ ओखलढुङ्गा । पछिल्लो समयमा ओखलढुङ्गामा भुस्याहा कुकुरको आतंक बढेको छ । जिल्ला सदरमुकाम स्थित सिद्धिचरण नगरपालिका क्षेत्र र जिल्लाका मुख्य तथा सहायक व्यापारीक केन्द्र आसपासमा भुस्याहा कुकुरको आतंक बढेको हो । भुस्याहा कुकुरको आतंकका कारण स्थानीय नागरिकहरु त्रसित बनेका छन् ।

साझ विहान होस वा दिउसोका समयमा होस, बजार क्षेत्रमा हुलका हुल भुस्याहा कुकुर जम्मा भएर हिड्छन् । एक्लै हिडेको जो कोहीलाई पनि आक्रमण गर्ने प्रयास गर्छन । ओखलढुङ्गाको सदरमुकाम बजार क्षेत्रमा जथाभावी छाडिएका कुकुरले टोक्न थालेपछि बालबालिका जोगाउन समस्या भएको स्थानीय तिलक श्रेष्ठले बताए । भुस्याहा कुकुर नियन्त्रण गर्न प्रशासन र नगरपालिकाले चासो दिनुपर्ने उनको भनाई छ ।

उता सुनकोशी गाउँपालिकाको मुलखर्कमा पनि कुकुरको आतंक मच्चाएको छ । विद्यालय जाने बालबालिकालाई पनि कुकुरले टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन् । सुनकोसी गाउँपालिका वडा नं. ६ का डम्बरबहादुर कार्कीका दुई नाबालक छोरालाई ०७५ असार २७ गते कुकुरले टोकेर घाइते बनायो । गाउँपालिकाभित्र उपचारका लागि एन्टिरेविज भ्याक्सिन नभएपछि गम्भीर घाइते ८ वर्षका बालक हेमन्त कार्की र ११ वर्षका हेम कार्कीलाई उपचारका लागि काठमाण्डौ लगियो ।

कुकुरले धमाधम मान्छे र पशु चौपायलाई टोक्न थालेसँगै कुकुर नियन्त्रणको माग गर्दै लागि स्थानीयहरु वडा कार्यालय आउने गरेको सुनकोशी गाउँपालिका ५ का अध्यक्ष वडा अध्यक्ष गोविन्दराम तामाङले बताउनुभयो । पशुसेवा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयसँग भुस्याहा कुकुर नियन्त्रण र भ्याक्सिनका लागि आग्रह गरेको उहाँको भनाई छ ।

कुकुरको टोकाइले गाउँमा पाँच वटा गाइभैसी समेत घाइते भए । गाउँपालिकाको शाखाका पशुलाई लगाउने भ्याक्सिन पनि भएन । सुनकोसीमा मात्र होइन जिल्लाभर एन्टिरेविज भ्याक्सिन अभाव छ । मान्छेलाई लगाइने भ्याक्सिन भने जिल्ला अस्पताल रुम्जाटारमा रहेको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताउनुभयो । भ्याक्सिन भण्डारणका लागि विशेष प्रकारको फ्रिजको आवश्यकता पर्दछ । भण्डारण कक्षको पनि अभावका कारण जिल्लाका अन्य स्वास्थ्य संस्थामा भने एन्टिरेविज भ्याक्सीन राख्न नसकिएको उहाँको भनाई छ ।