नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

असार १५ ओखलढुङ्गाको बर्णालुमा धान रोपाई

विवेश श्रेष्ठ, असार १५, ओखलढुङ्गा ।  आज असार १५, अर्थात् १५ औं राष्ट्रिय धान दिवस । असार १५ गते दही–चिउरा खाने दिनको रूपमा पनि परिचित छ । आज देशभर धान दिवस रोपाइँ गरेर मनाइँदै छ । मानो रोपेर मुरी उब्जाउने महिनाको रूपमा परिचित यो असार महिना हो ।

कृषिप्रधान हाम्रो मुलुकमा धान दिवसको आफ्नै महत्त्व छ । धान दिवसको आफ्नै महत्व भएपनि यसलाई सरकारी तथा विभिन्न गैर सरकारी संघसंस्थाहरुले गलत खर्च गर्ने संस्कारको रुपमा विकास भएकोमा किसानहरुको आक्रोस पनि उत्तिकै छ । धान दिवसको दिन किसानका साथै नेता, कलाकार लगायतले रोपाइँमा सहभागी भएर हिलो खेल्ने चलन छ ।

धान दिवसको अवसरमा धान रोपाईको आयोजना गर्नेहरुले लाखौ खर्च गर्ने गरेको भएपनि उपलब्धि विहीन भएको नागरिकको आक्रोस छ । रुम्जाटारका स्थानीय समाजसेवी ‘पदम बहादुर गुरुङ भन्नुहुन्छ, यो धान दिवसको नाटक मात्रै हो । यसलाई जिल्लाका विभिन्न सरकारी तथा गैससहरुले मोजमस्ती गर्ने रुपमा मात्रै लिएका छन् । लाखौं खर्च गर्छन् तर उपलब्धी बिहिन छ । कम्तीमा यो धान दिवसमा गरिने नाटकको खर्च उपलब्धीहुने क्षेत्रमा लगानी गरे केही नागरिकहरुले मात्रै भएपनि सेवा त पाउथे ।’

आज रुम्जाटामा रुम्जाटार माद्यमिक विद्यालयको आयोजनामा उक्त विद्यालयमा कृषि प्राबिधिक शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई व्यबहारिक ज्ञान समेत दिने उद्धेश्यले धान रोपाईको आयोजना गरिएको थियो । आफुहरुले सिकेको शिक्षा अनुसारको प्राबिधिक ज्ञान भने आफूहरुले धान रोपाईको फिल्डमा नै सिक्न नसकेको प्लान्ट जेटिए प्राबिधिक कक्षामा अध्ययनरत छात्रा सुस्मा बस्नेतले बताईन । आफुहरुले कक्षामा जे सिके पनि फिल्डमा गएर समूहमा काम गर्दा भने समस्या हुने आजको धान रोपाईमा अनुभव भएको पनि उनले बताईन् ।

त्यस्तै कृषि प्राबिधिक शिक्षा पढेको जस्तो ब्यबहारमा नहुने अनुभव भएको अर्की छात्रा तुलसा रिजालले बताईन् । धान रोपाई दिवसमा सहभागी हुदा रमाईलो भएपनि विद्यालयमा पढेको र फिल्डमा जादा अलिक फरक सिकाई भएको पनि उनले बताईन् । कक्षामा रहदा आधुनिक खेतीप्रणाली अन्तर्गत एसआरआई प्रबिधीको बारेमा पनि सिक्ने ईच्छाका साथ फिल्डमा गएपनि उक्त ईच्छा अपुरो नै रहेको उनको गुनासो छ ।

अन्य दिवसहरुलाई झै धान दिवसलाई औपरचारिकता बनाईदै आएको छ । धान रोपाईलाई औपचारिकता मात्रै नभई उपलब्धिमूलक बनाउनु पर्ने आवाज पनि उठिरहेको छ । धान रोपाइ दिवसको कार्यक्रममा पनि लाखौ खर्च हुने गरेपनि हाल सम्म कहाँ कहाँवाट कति कति खर्च गरियो भन्ने हालसम्म कसैले पनि सार्वजनिक गर्ने गरेका छैनन् । यसरी हुने कार्यक्रमको खर्चको पनि सार्वजनिक हुनुपर्ने भन्दै आगामी दिनहरुमा यस्ता कार्यक्रम औपचारिकतामा मात्रै सिमित नभई उपलब्धि मूलक बनाउने गरि खर्च गर्नुपर्नेमा नागरिकहरुको माग रहेको छ ।

धान राेपाइ तस्वीरमा